स्वेच्छाले मर्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरिएको छ । असमर्थ जीवन बाँच्नुभन्दा स्वेच्छाले मृत्युवरण गर्न कानुनी रूपमै पाउनुपर्ने माग गर्दै सर्वोच्चमा बिहीबार रिट दर्ता गरिएको हो ।
अधिवक्ताद्वय उत्तमप्रसाद रिजाल र टंकहरि दाहालले संयुक्त रूपमा संविधानसभा, व्यवस्थापिका संसद्लगायतलाई विपक्षी बनाएर दायर गरिएको निवेदनमा संविधानले मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेकाले स्वेच्छाले कानुनी रूपमै मर्न पाउने अधिकार पाउनुपर्ने उल्लेख गर्दै यस्तो निवेदन दर्ता गरिएको हो ।
नफर्कने मूर्छामा जीवन बिताउन र वर्षौं पीडादायक जीवन बाँच्नुभन्दा मर्न पाउने अधिकार पनि मानवअधिकारभित्र पर्ने भएकाले पीडाहीन वा स्वेच्छाले जीवनको अन्त्य गर्ने उपायलाई वैधता दिनुपर्ने माग गरिएको छ, निवेदनमा ।
निवेदनमा भनिएको छ, ‘कसैले इच्छापूर्वक मृत्युवरण गर्न चाहेमा वा उसको संरक्षक, नातेदार, पारिवारिक चाहनाबाट स्वेच्छाले जीवनलाई अन्त्य गर्ने उपाय रोजेमा पीडाहीन मरणलाई कानूनी तथा संवैधानिक हक प्रदान गर्न माग गर्दछौँ ।’
नेपाली समाज जहाँ मर्नभन्दा बाँच्न निकै कठीन छ । यस्तो समाजमा स्वैच्छिक मृत्यु कति उपयुक्त होला ? नेपालमा कति प्रतिशत व्यक्ति खुसी र सुखी जीवन व्यतित गरेको होला ? यो कसैलाई थाहा छैन । न आजसम्म नेपालीको जीवनस्तर र दैनिकीका बारेमा अनुसन्धान नै गरिएको छ ।
विश्वस्तरमा हेर्ने हो भने अझ विकसित मुलुकलाई हेर्ने हो भने उनीहरूले जीवनलाई असर नगर्ने सानो सानो कुरामा पनि अनुसन्धान गरी निष्कर्ष निकालेका छन् । जसको कारण उनीहरूको दैनिकीमा अझ धेरै सुधार आएको हुन्छ भने हाम्रो जस्तो अति कम विकसित मुलुकमा यस्ता विषयलाई गौण मानिन्छ र यसबारे अनुसन्धान गर्ने कुनै पारिपाटी नै छैन ।
गाँस, बास र कपासका लागि संघर्षरत जीवनमा यस्ता विषय गौण हुन गएका हुन्छन् । त्यसैले यस्ता विषय हाम्रो चासोको विषय नै हुँदैन । हाम्रो चासोको विषय भनेको कसरी जीवन चलाउने र कसरी आफ्नो साँझबिहान हातमुख जोर्ने जस्ता विषयमा हाम्रो जीन्दगी रुमल्लिएको हुन्छ । यसरी हाम्रो जीवन अगाडि बढेको हुन्छ । नेपालजस्तो मुलुकमा स्वेच्छाले मर्न पाउने कानुन लागु भयो भने हामी कति नेपाली दिनमा स्वेच्छाले मर्न रुचाउँछौँ होला ? कुनै अनुसन्धान गरिएको छैन । छैन भने हतारमा यस्ता कानून पारित गरियो भने यसको परिणाम कस्तो आउला ?
असमर्थ जीवन बाँच्नुभन्दा स्वेच्छाले मृत्युवरण गर्न कानूनी रूपमा माग गरिएको छ । असमर्थ जीवनको परिभाषा कसरी गर्ने ? हामीमध्ये कतिजना समर्थ जीवन जिउन सकेका छौँ ? यसको कुनै रेकर्ड होला त ? त्यसैले असमर्थ जीवनको परिभाषा केलाई आधार मानेर मान्ने ?
समर्थ र असमर्थ जीवन हाम्रो जीवनको एउटा पाटो हो । हामीमध्ये धेरै जसो शारीरिक रूपले समर्थ हुँदाहुँदै पनि असमर्थ जीवन जिउन बाध्य छौँ । हाम्रो समाज, गरिबी, रीतिरिवाज आदि जीवनका यावत् कारणले हामीले हाम्रो जीवनलाई समर्थ जीवनमा परिणत गर्न निकै धौ–धौ परिरहेको छ ।
हामीले समर्थ जीवनका लागि चाहेअनुसारको केही गर्न पाएका छैनौँ भने असमर्थ जीवन नै हाम्रो जीवनको एउटा पाटो भएको छ । यही यस्तो जीवनलाई नष्ट गर्ने अधिकार प्रदान गर्यो भने हामीमध्ये कतिलाई दैनिक स्वेच्छाले मृत्युवरण गर्ने इच्छा होला ?
एकपटक पाएको जीवनलाई संघर्षमा बिताउने हामीमध्ये कसैले आफ्नो इच्छाले मृत्युवरण ग¥यो भने समाज र परिवार कस्तो होला ? समर्थ जीवनको परिभाषा कसलाई मानेर असमर्थ जीवनमा स्वेच्छाले मृत्युवरण गर्ने ? यस्तो मृत्युवरणलाई कानूनी मान्यता दियो भने हामीमध्ये कतिलाई यस्तो कानूनले प्रभावित बनाउला भन्ने हुन्छ ।
नफर्कने मूर्छामा जीवन बिताइरहेका र वर्षौंपीडादायक जीवन बाँच्नुभन्दा मर्न पाउने अधिकारका लागि दर्ता गरिएको छ । नफर्कने मूर्छामा स्वेच्छा लागु हुँदैन यहाँ अरूको भनौं कोही आफन्त या नजिकको स्वेच्छामा भर पर्दछ ।
जो मूर्छामा छ ऊ केही गर्न सक्ने अवस्थामा हुँदैन । कतिपय मान्छे मूर्छामा सुन्ने र महसुस गर्न सक्ने हुन्छन् तर, आफ्नो भावना व्यक्त गर्न नसक्ने खालका हुन्छन् । यस्तालाई मार्न स्वेच्छा हो वा अरूको इच्छा भन्ने हुन सक्छ । मूर्छामा पनि मान्छेलाई बाँच्ने आशा पलाएको हुन सक्छ । यस्तो बेला अर्काले गरेको निर्णयले आफ्नो जिन्दगी सिध्याउँदाको पीडा कस्तो होला ?
त्यस्तै पीडादायक जीवन बाँच्नुभन्दा मर्न पाउने अधिकारको माग । पीडाको मापन कति गर्ने, कस्तो पीडामा मान्छेलाई स्वेच्छाले मृत्युवरण गर्ने अधिकार दिने ? कोही मान्छे सानोतिनो पीडामा पनि आत्महत्या जस्तो हत्या गर्न अग्रसर हुन्छन् भने कतिपय व्यक्ति ठूला–ठूला पीडामा पनि जिउने सपना बुन्ने गर्छन् ।
त्यसैले पीडाको मापन पनि गाह्रो छ । कहिले निको नहुने रोग लागेको छ र उसको बाँच्ने सम्भावना छैन भने त्यस्ता व्यक्तिका लागि इच्छामृत्युको अधिकार कति उपयुक्त होला । अब बाँच्न सम्भव छैन, त्यसैले आजै मर्छुभन्दा केही आशाका किरण लिएर बाँच्नका लागि संघर्ष गर्ने कि ? हो, मृत्यु अवश्यंभावी छ । हामीले चाहेर मृत्युलाई न रोक्न सक्छौँ न त केही पर नै धकेल्न सक्छौँ ।
हामी सक्छौँ त केवल मृत्युलाई पर्खन । तर, कहिले काहीँ त्यही पर्खाइमा जीवन भेटिन पनि सक्छ । त्यसैले एकपटक पाएको जीवनलाई सिध्याउनुभन्दा पनि त्यसबाट जिउन सिक्नुपर्छ । तर, यस्तो जिन्दगी जिउनुमा पनि राज्यले आफ्नो कर्तव्यलाई पालना गरी जनतालाई जिउनतिर अग्रसर गराउनुपर्छ ।
त्यस्तै दीर्घरोगीलाई उपचार, असक्षमलाई सक्षम, पुनस्र्थापना जस्ता नियम बनाउन सकेमा मानिसलाई स्वेच्छाले मृत्युवरणको कानून आवश्यक पर्दैन । हाम्रो परिवेश भनेको अहिले जिउनका लागि संघर्ष गर्ने हो । जिउनुको अर्थ नै पत्ता नपाई मृत्युवरणको इच्छालाई अधिकारको मान्यता दिन थालियो भने यसले हाम्रो जिउने चाहनालाई नै कमजोर बनाइदिन्छ ।
प्रतिक्रिया