मेरो गाउँ पनि नगरपालिकामा !

Martadi-Bajura-BWहेर्दाहेर्दै, नगरवासी भएको पत्तै भएन, ‘अँ क्यारे !’ त्यो, नगरपालिका भनेको के रै’छ, यो भए के हुन्छ ? ए हजुर भन्नहोस् न ।’

पिठ्यूँमा दौराको भारीसँगै मुन्टो बटारेर एक दाउरेले भन्यो । ‘हिजोअस्ति रेडियोबाट सुनेको, मेरो गाउँ पनि नगरपालिकामा पर्‍यो । अब वडा नं. पनि बदलियो रे हो ?’ ‘फेरि गाविसको नाम पनि अर्कै भयो भन्यो नि ।’
‘ठीकै सुन्नुभयो । हो, हो । बदलिएर ‘बडिमालिका’ राखियो,’ अर्केले हिँड्दाहिँड्दै भन्यो । सोच्या होला, नगरपालिका हुनेबित्तिकै के–के न हुन्छ भनेर । ‘हामीलाई पंगु बनाउनुबाहेक अरू के नै हो र ? ‘नगरपालिका’ ।’ बर्बराउँदै ओरालो लाग्यो; यो त उसको कुरा रह्यो ।नगर भनेको त सहर हो, जहाँ स्थायी पूर्वाधार जस्तै– ठूला बजार, सडक यातायात र अन्य भौतिक सुविधा सम्पन्न भएको घनाबस्ती, विकसित बसोबास भएको ठाउँ आदि इत्यादि हुनुपर्ने पो हो । ‘त्यो यहाँ छ र ? ती दाउरेलाई के थाहा ।’
अर्को कुरा, नगरको बसोबास, सरसफाइ, सुविधा, सार्वजनिकस्थल, संस्कृतिसम्पदा आदिको उचित व्यवस्थापन, सुधार, विकास योजनाजस्ता जनसरोकारका काम गर्ने , जनप्रतिनिधिहरू मिलेर बनेको स्वायत्त संस्था हो । यस्तै छ त हाम्रो घोषित नगरपालिका ? ‘वाहियात ।’
‘नामै बदल्ने हो भने किन कन्जुस्याइँ गरेका हुन् कुन्नि ? महानगरपालिका राख्या भा पनि त हुन्थ्यो । फेरि, महा भन्नेबित्तिकै ठूलै त हुन्थ्यो । जनतालाई पंगु बनाउने पनि हद हुन्छ,’ रिसाउँदै उसले भन्यो ।
हामीकहाँ हिजोदेखि आजसम्म हरेक नाम दिने यी राजनीतिक हर्कत, हेरन । कसैले यो देशलाई स्वीट्जरल्यान्ड बनाउने रे, कसैले नयाँ नेपाल बनाउने, भएको नेपालको त यो हाल पार्दैछन्; डाँकाहरू । अर्काले भन्यो । ‘किन रिसाउनु भयो दाइ ?’ उसले भन्यो । एकछिन्, सुनन । चलचित्रमा अभिनय गर्न विभिन्नथरिका कपडा बदलेझैँ राजधानीको देखावटी व्यवस्था बनाइन्छ, त्यो पनि सार्क सम्मेलनका निम्ति । गरिबले मीठो खान र लाउन तिहार पर्खेसरि राजधानीका गल्ली सरसफाइका लागि पर्खेका हुन्छन् भने फेरि अरू ठाउँ त, हा हा…
सरकारले हामीलाई नगरपालिकामा राख्ने मापदण्ड के भन्या ? हेर न, यस क्षेत्रमा राम्रो एउटा पनि अस्पताल छैन । बाटोघाटोको राम्रो सुविधा छैन । एउटा बस्तीदेखि अर्को बस्तीसम्म पुग्ने सडक पुल छैन । हरेक बस्तीमा ढलनिकास छैन । टेलिफोन र इमेल इन्टरनेटको सुविधा छैन । पर्याप्त मात्रामा स्वच्छ खानेपानी छैन । बिजुलीबत्ती छैन् । बजार धुँवा, धुलो, फोहोरबाट मुक्त छैन ।
अझ भन्दा, विगतमा घोषित नगरपालिकाहरूमा कहीँ फराकिला सडकबाटा छन् कि ? केही क्षेत्रमा व्यवस्थित अस्पताल छन् कि ? स्थायी सरकारी संरचना छन् कि ? कुन ठाउँ छ त्यस्तो ? जहाँ व्यवस्थित विद्यालय, स्वास्थ्य चौकीहरू, जलविद्युत्, स्वच्छ खानेपानी, सार्वजनिक धारा, शौचालयहरू छैनन् । किन हिमायत गर्नुपरेको होला नगरपालिका भनेर ?
हामै्र नवघोषित बडिमालिकाको कुरा गरौँ न । मार्तडी गाविसको पूर्व १ नम्बरमा हालसम्म पनि बिजुली बल्न सकेको छैन । घामपानीमा ओत लाग्ने विद्यालयका छाना छैनन्, भएकामा डेस्क बेन्च अथवा शैक्षिक संस्थामा हुनुपर्ने गुण नै भेटिँदैनन् । लक्ष्मी मावि जिल्लीको पनि त्यही हालत छ ।
बजार सानै छ, तैपनि अव्यवस्थित छ । बजारका गल्लीहरू दिउँसै हिँड्न पनि डर लाग्ने खालका छन् । कहीँ गड्डा, कही खानेपानी तथा ढलका पाइप छरपस्ट छन् । साँघुरा गल्लीका बाटा, कठै ! भन्न पनि कति घत लाग्ने ? चार डोका स्याउ एकै ठाउँमा राखेर बिक्री गर्न कसैका दोकानका दैला ब्लक गरेर बेच्नुपर्ने । केही भारी जुगाडा गाविसको तरकारी बिक्री गर्न आउने बाटो छैन, आइहाले सजिलै खपत हुने बजार छ, न व्यावसायिक होटल पसल नै । बुढीगंगाका मना, कोर्दतिर न आजका मितिमा राम्रोसँग टेलिफोन सुविधा छ न त बिजुली बत्ती । न गाउँघरमा सामान्य बिरामी पर्दा छिटो उपचारार्थ सेवा लिनदिन सकिने त्यस्तो खालको वातावरण छ ।
मेरै गाउँको कुरा गर्दा पनि अव्यवस्थित छाकबास छन् । यी घरहरूको हालत हेर्ने हो भने मुटुमा भक्कानो फुटेर आउँछ । नगरपालिका घोषणाका लागि केही मापदण्ड त हेरिनुपथ्र्यो । के यहाँको जीवनशैली बदलिएको छ त ? शैक्षिकस्तर कतिको माथि उठ्यो ? सामाजिक विकासका लागि कतिको जनशक्ति उत्पादन भयो ? केही हदसम्म बजारीकरण भयो या भएन ? विकासका आधारभूत पूर्वाधार तयार भए, भएनन् ? कुनै एउटा सामाजिक अभियान सफल छ कि छैन ? सामाजिक चेतनाकै कुरा गरौँ न, बालविवाह न्युनीकरण भयो त ? छाउपडी प्रथाको स्थिति के, कहाँ, कस्तो छ ? हलिया खलिया प्रथा के कसो छ या छैन ? सरसफाइ, स्वच्छ खानेपानी तथा सार्वजनिक शौचालय छन् कि ? एकपटक नियालेर हेरेको भए हुन्थ्यो नि, सरकार !
जिल्लामा बल्लतल्ल एउटा अस्पताल छ, त्यो पनि सामान्य बिरामीका लागि मात्र । हरे राम ! जिल्लाका अधिकांश सरकारी कार्यालयका आफ्ना स्थायी भवन त छैनन्, अरूको के कुरा । सदरमुकाममा एउटा क्याम्पस छ त्यो पनि सरकारी भएको छैन । बजारमा सार्वजनिक शौचालय छैन । खेलमैदान छैन ।
यस्तै–यस्तै परिधिमा घोषित भएको छ मेरो गाउँ पनि नगरपालिकामा । ल त है ! दाउराको भारी बेची खानेसँग अब यसको पनि कर तिर्नुपर्छ भन्दै एकोहोरो बोलेर छुट्टियो ।

प्रतिक्रिया