लैंगिक समानता, महिला सशक्तीकरण र मिडिया

Manju-Thapaलैंगिक समानता, महिला सशक्तीकरण र मिडियाको बीचमा निकटतम सम्बन्ध छ । मिडियाको विकास र विस्तार, सूचना तथा सञ्चारका नयाँ प्रविधिहरूको आविष्कार र न्यू मिडियाको उदयले लैंगिकता (जेन्डर) सम्बन्धी सूचना तथा ज्ञानको आदानप्रदान र विचार निर्माणमा ठूलो योगदान गरेको छ । मिडिया सूचना, विचार र जनमतको एउटा मुख्य स्रोत हो भन्नेमा दुईमत छैन । मिडियाले लैंगिक असमानता र भेदभावपूर्ण संरचनागत मूल्य र मान्यताहरूलाई निरन्तरता दिने वा अन्त्य गर्ने दुवै प्रक्रियामा ठूलो भूमिका निर्वाह गर्न सक्छ ।
सामान्यतया लैंगिकता भनेको महिला हो भन्ने अपूर्ण दृष्टिकोणबाट मिडियामा सामग्रीहरू सम्प्रेषण भइरहेको पाइन्छ । यसले लैंगिकताको कुरा उठ्नेबित्तिकै मिडियामा पनि महिलालाई एउटा बेग्लै सामाजिक प्राणीका रूपमा हेर्ने र प्रस्तुत गर्ने गरिन्छ । समाजमा महिलाको हीन र अधिनस्थ अवस्था हुँदा उनीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने सवाललाई विशेष रूपमा सम्बोधन गर्नुपर्छ भन्ने ठीक हो । तर, यसको अर्थ यस्ता सवाललाई अन्य सामाजिक राजनीतिक सवालभन्दा विल्कुल अलग राख्नु वा अन्य सवालमा महिलाको दृष्टिकोणलाई स्थान नदिनु भन्ने होइन ।
मिडिया र लैंगिकताको सम्बन्ध प्रत्यक्षतः तीन अर्थमा जोडिएको छ । पहिलो– मिडिया सामग्री उत्पादन गर्ने कार्यमा महिला र पुरुषको सहभागिताको विषय हो जसलाई मिडिया हाउसहरूमा महिलामैत्री वातावरण तथा पत्रकार महिलाको सुरक्षाको सवालले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । दोस्रो– मिडिया सामग्रीका अन्तर्वस्तुमा महिला र पुरुषको चित्रण तथा प्रस्तुतीको विषय हो जसले व्यक्तिगत वा सामूहिक रूपमा महिला वा पुरुषको छवि निर्माण गर्नमा योगदान गरिरहेको हुन्छ । र तेस्रो– मिडियाका अन्तर्वस्तुले महिला र पुरुष उपभोक्तामा पार्ने प्रभाव हेर्नैपर्ने विषय हुन् ।
मिडियाले लैंगिक समानताको पक्षमा गर्न सक्ने सबैभन्दा प्रमुख योगदान भनेको लैंगिक समानता आधारभूत मानव अधिकार हो भनेर स्थापित गर्नु नै हो । मिडियाले महिला र पुरुषप्रति समान व्यवहार जस्तो समान कामका लागि समान ज्याला, नीति निर्णायक तहमा समान पहुँच, रोजगारी, राज्यले दिने सुविधा, स्वास्थ्य सेवा आदिमा समान सहभागिता आदि विषयलाई उजागर गर्दै यिनका पक्षमा जनमत तयार गरी पैरवी गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । महिलाको सूचना तथा अभिव्यक्तिसम्बन्धी स्वतन्त्रताको अधिकारलाई पनि विभिन्न संरचनागत, आर्थिक, सामाजिक सांस्कृतिक, राजनीतिक अवरोध आदिले सीमित तुल्याइदिएका छन् । यी अवरोधलाई अन्त्य गर्नका लागि पनि मिडियाको अहम् भूमिका हुन्छ ।
मिडियाभित्रको लैंगिक समानता भनेको मिडियाको निर्णय प्रक्रियामा र जनशक्तिमा महिला–पुरुष सहभागिता, समाचार तथा अन्य मिडिया सामग्रीमा स्वच्छ लैंगिक चित्रण, तटस्थ र लिंग केन्द्रीत नभएको भाषाको प्रयोग, महिला पत्रकारलाई फेसन वा महिला विट जस्ता सफ्ट समाचारमा मात्र सीमित राख्ने अभ्यासको अन्त्य जस्ता काम पर्दछन् । मिडियाले आप्mना संरचना र आफूले उत्पादन गर्ने सञ्चार सामग्रीमा लैंगिक समानता अपनाएर तथा लैंगिक रूपमा संवेदनशील भएर र साथै लैंगिक समानता तथा महिला सशक्तीकरणका सवाललाई टेवा पुग्ने गरी मिडियामा स्थान तथा प्रस्तुती दिएर लैंगिक समानताको प्रवद्र्धनमा सघाउ पु¥याउन सक्छ । यस्तो अवस्था सिर्जना गर्न मिडियाका मालिक, निर्णय प्रक्रियामा संलग्न व्यक्ति, आम पत्रकार र मिडियासँग सम्बन्धित अन्य निकाय वा संघसंगठन लैंगिक रूपमा संवेदनशील हुन जरुरी छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी तथा नैतिक दायित्वहरू
नेपालले अनुमोदन गरेका र कानुनसरह पालना गर्न प्रतिबद्धता जनाएका विभिन्न अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, घोषणापत्रहरू र मुलुकको संविधान तथा कानुनले पनि मिडिया क्षेत्रमा पुरुषसरह महिलाले बराबर काम गर्ने अवसर तथा वातावरण पाउनुपर्ने, मिडियामा लैंगिक रूपमा अपहेलित वा पूर्वाग्रही चित्रण दिन नहुने र महिला अधिकार तथा लैंगिकसमानताको सवाललाई प्रवद्र्धन गर्नुपर्ने अवस्थालाई नीतिगत रूपमा सुनिश्चित गर्दछन् । व्यवहारमा यसलाई सुनिश्चित गर्ने दायित्व सरकारी र गैरसरकारी क्षेत्रका मिडियासम्बन्धी संघसंस्था एवं पत्रकारहरूकै हो ।
मिडिया र सञ्चारकर्मीलाई लैंगिक रूपमा संवेदनशील हुन र लैंगिक समानताका लागि क्रियाशील रहन प्रतिबद्ध बनाउने केही प्रमुख अनुबन्ध छन् । जस्तो– मानवअधिकारको विश्वव्यापी घोषणापत्र, २०४८ को धारा १९ ले सबैसँग आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्र अधिकार रहेको उल्लेख गरेको छ । यसअन्तर्गत ‘बिनाकुनै हस्तक्षेप, कुनै सीमा र रोकटोकबिना सञ्चारमाध्यममार्फत आप्mनो विचार र सूचना स्वतन्त्र ढंगले प्रवाह गर्न पाइन्छ’ भनेको छ । त्यसैगरी संयुक्त राष्ट्र संघकै १९६९ को नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतापत्रले सबैसँग बिनाकुनै हस्तक्षेप आप्mना भनाइ राख्ने अधिकार भएको, सबैसँग स्वतन्त्र अभिव्यक्तिको अधिकार रहेको र आप्mनो छनोटअनुसारका सञ्चारमाध्यममार्फत सबै प्रकारका सूचना र विचार खोज्न, दिन र प्राप्त गर्न सकिन्छ भनी सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड कन्भेन्सन, १९७९) का सबै भाग र धाराले महिला तथा पुरुषको बीचमा पूर्ण समानता प्राप्तिका लागि र महिलाविरुद्ध भेदभाव उन्मूलनका लागि विभिन्न व्यवस्था गरेका छन् । यो सिंगो महासन्धि नै महिला सशक्तीकरण र लैंगिक समानताका लागि कोसेढुंगासरह रहेको छ । मिडियासम्बन्धी संघसंस्था र पत्रकारहरूले यस महासन्धिका आधारमा पनि लैंगिक समानतालाई प्रवद्र्धन गर्न भूमिका निर्वाह गर्नु जरुरी छ ।
त्यसैगरी अर्को महत्वपूर्ण दस्तावेज समानता, विकास र शान्तिका लागि बेइजिङ कार्ययोजना, १९९५ ले मिडियाका सम्बन्धमा दुई प्रमुख रणनीति सिफारिस गरेको छ । पहिलो– सञ्चारमाध्यम तथा सञ्चारका नयाँ प्रविधिहरूमा र तीमार्फत हुने अभिव्यक्तिहरूमा तथा निर्णय प्रक्रियामा महिलाको सहभागिता र पहुँच अभिवृद्धि गर्ने । दोस्रो– सञ्चारमाध्यममा महिलाको सन्तुलित र गैरपरम्परागत चित्रणलाई प्रोत्साहित गर्ने । तर, अहिले बीस वर्षपछि केही सुधारका बाबजुद पनि यी अवरोध यथावतै छन् । जस्तो अहिले पनि सूचनामा महिलाको असन्तुलित पहुँच छ, मिडिया उद्योगहरूमा महिलाको अल्प प्रतिनिधित्व छ र लैंगिकसवाल तथा पत्रकार महिला र आममहिलामाथि भएका हिंसाका विषयहरूको अपर्याप्त मिडिया कभरेज छ ।
नेपालको सन्दर्भमा चर्चा गर्दा नेपालको अन्तरिम संविधानले मौलिक हकअन्तर्गत समानताको हक, महिलाको हक, सामाजिक न्याय, जातीय भेदभावविरुद्धको हक जस्ता धेरै अधिकार सुनिश्चित गरेको छ । साथै यसले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई पनि सुनिश्चित गरेको छ । त्यस्तै पत्रकार आचारसंहिता २०६० (संशोधित तथा परिमार्जित २०६४) ले पनि वैयक्तिक एवं व्यावसायिक गोपनीयताको सम्मान, पछाडि पारिएका विभिन्न समुदायको विकासमा सूचना र विचार प्रवाहद्वारा विशेष सहयोग, समाचार तथा विचार प्रकाशन प्रसारणमा पीडितप्रति संवेदनशीलता जस्ता विषयलाई महत्वका साथ उठाएको छ । यी सबै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रावधानहरूले मिडियासम्बन्धी संघसंगठन, मिडिया हाउस र सञ्चारकर्मीलाई लैंगिक रूपमा संवेदनशील हुनुपर्ने तथा लैंगिक समानताका लागि क्रियाशील रहनुपर्ने कानुनी र नैतिक दायित्व सुम्पेका छन् ।
लैंगिक संवेदनशील मिडिया र मिडिया संस्थाहरूमा लैंगिक समानता
लैंगिक संवेदनशील मिडिया बनाउनका लागि मिडिया सम्बन्धित संघसंस्थाहरूमा सदस्य, कर्मचारी वा निर्णय प्रक्रियामा महिला–पुरुष प्रतिनिधित्व, मिडिया संस्थाभित्र महिला र पुरुषलाई समान तथा तिनका विशेष आवश्यकतालाई सम्बोधन गर्ने किसिमको काम गर्ने वातावरण, मिडियासम्बन्धी अध्ययन अध्यापन गराइने संस्थामा महिला र पुरुषको सहभागिता, पाठ्यक्रमहरूमा लैंगिक संवेदनशीलता र मिडियाका अन्तर्वस्तुमा महिला र पुरुषको समान सम्मानपूर्ण चित्रण जस्ता पक्षको सम्बोधन हुनुपर्दछ । नीजि रूपमा पत्रकारहरूले मिडिया सामग्री वा अन्तर्वस्तुद्वारा फैलने सन्देशहरूको दृष्टिकोण, पूर्वाग्रह र सामाजिकीकरणका सम्बन्धमा सचेत हुन जरुरी छ । साथै उनीहरूसँग सवालहरू र तथ्यांकहरूलाई लैंगिक दृष्टिकोणबाट विश्लेषण र समाहित गर्ने सीप हुनुपर्दछ ।
वर्तमान स्थितिमा मिडियाको नीतिनिर्माण प्रक्रिया र जनशक्तिमा महिला–पुरुष अनुपात अत्यन्त असमान र भेदभावपूर्ण छ । विश्वभर सञ्चार गृहहरूको नीतिनिर्माण तहमा महिला अत्यन्त कम संख्यामा छन् । ग्लोबल रिपोर्ट अन दि स्ट्याटस अफ विमेन इन न्युज मिडिया, २०११ अनुसार मिडिया संस्थाहरूका सन्दर्भमा कुरा गर्दा सात महादेशका कार्यकारी बोर्ड र प्रमुख व्यवस्थापकीय पदहरूमा क्रमशः ७४ दशमलव १ प्रतिशत र ७२ दशमलव ७ प्रतिशत पुरुषको वर्चश्व रहेको छ (आइडब्लयुएमएफ, सन् २०११) ।
त्यसैगरी नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल पत्रकार महासंघका कुल १० हजार ७७ सदस्यमध्ये महिला एक हजार ६ सय १३ (१६ प्रतिशत) र पुरुष ८ हजार २ सय १४ (८४ प्रतिशत) छन् । नेपालका केही मिडियासम्बन्धी संस्थाहरूको केन्द्रीय समिति वा सञ्चालक समितिमा महिला–पुरुष सहभागिता निम्नअनुसार छ–
यसरी नेपालका मिडियासम्बन्धी प्रमुख नियमनकारी निकाय र सरकारी मिडियाहरूमा हाल एकछत्र पुरुष साम्राज्य र महिलाको संख्या शून्य रहेको अवस्था छ । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको कुल सदस्यता र केन्द्रीय समिति दुवैमा केवल १६ प्रतिशत मात्र महिला छन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) द्वारा नेपाल पत्रकार महासंघसमेतको सहभागितामा गरिएको एक अध्ययनले महिलामैत्री नीति र व्यवस्थाको अभावमा नेपालका पत्रकार महिलाहरूले लैंगिक समानताको अनुभूति गर्न नपाएको निष्कर्ष निकालेको छ । सबैखाले मिडियामा कार्यरत एक सयभन्दा बढी नेपाली पत्रकारको सहभागितामा गरिएको अध्ययनले नेपाली मिडियाको निर्णायक स्थानमा महिलाको उपस्थिति न्यून रहेको, व्यावसायिक सुरक्षाको स्थिति कमजोर रहेको र क्षमता वृद्धि एवं निर्णायक स्थानमा पुग्न महिलामैत्री नीति र अभ्यास नरहेको, महिला पत्रकारहरूले पुरुषसरह पारिश्रमिक र मूलधारको विषय (बिट) मा काम गर्न नपाएको महसुस गरेको, करिब २२ प्रतिशत पत्रकारले कार्यक्षेत्रमा यौन दुव्र्यवहार भोगेको र देखेको तथा झन्डै एक तिहाइ पत्रकार महिलाले अन्य दुव्र्यवहार भोगेको अवस्था देखिएको छ ।
मिडियामा लैंगिकता, अन्तर्वस्तुमा लैंगिक संवेदनशीलता र समानता
मिडियामा लैंगिक समानताको प्रवद्र्धन गर्ने एउटा मुख्य पक्ष मिडियाको अन्तर्वस्तु हो । मिडियाले प्रकाशन प्रसारण गर्ने समाचार र अन्य सूचना तथा विचारमूलक सामग्रीहरूमा लैंगिक चित्रण र लैंगिक समानतालाई प्रवद्र्धन गर्ने सामग्रीहरूको कभरेज र प्रस्तुतीले नै मिडिया लैंगिक समानताको पक्षधर भए नभएको पुष्टि हुन्छ ।
ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट २०१० को रिपोर्टअनुसार विश्वभर समाचारमा पढिने वा सुनिने समाचारका विषयवस्तु (जसका बारेमा चर्चा गरिन्छ वा जोसँग अन्तर्वार्ता गरिन्छ) मध्ये ७६ प्रतिशत मानिस पुरुष छन् भने केवल २४ प्रतिशत मात्र महिला । तर, समाचारमा पीडितका रूपमा प्रस्तुत हुने ८ प्रतिशत मात्र पुरुष छन् भने १८ प्रतिशत महिला छन् । त्यस्तै ४६ प्रतिशत समाचारले परम्परागत लैंगिक ढाँचालाई बढावा दिने काम गरेका छन् (जिएमएमपी रिपोर्ट, सन् २०१०) । यस सन्दर्भमा नेपाली मिडिया पनि ग्लोबल मिडियाभन्दा त्यति धेरै संवेदनशील छैन । सन् २०१० कै जिएमएमपी रिपोर्टअनुसार नेपाली मिडियामा समाचारभित्रका विषयवस्तु बनाइने वा अन्तर्वार्ता गरिने व्यक्तिमा पुरुष ८४ प्रतिशत र महिला १६ प्रतिशत छन् । हालै मात्र सम्पन्न अर्को एक अध्ययनले नेपाली मिडियाका राजनीतिक समाचारमा पनि समाचारभित्रका विषयवस्तुका रूपमा उल्लिखित व्यक्तिमध्ये ७ दशमलव ७ प्रतिशत महिला र ९० दशमलव ४ प्रतिशत पुरुष भएको तथ्य उजागर गरेको छ ।
मिडियाको अन्तर्वस्तु संकलन र प्रस्तुत गर्ने यस्तो विभेदपूर्ण प्रवृत्तिले लैंगिक समानतालाई सहयोग गर्नुको सट्टा महिला–पुरुषका परम्परागत बनिबनाउ भूमिका र चित्रणहरूलाई नै बल पु¥याउँछन् । तसर्थ, पत्रकारहरूले मिडियाका सामग्री छनोटदेखि लेखन, सम्पादन र वितरण गर्दा विशेष रूपमा सचेत हुनुपर्दछ । पत्रकारहरूले मिडिया सामग्रीमा तथ्य, तथ्यांक, भनाइ, सूचना, भाषा आदि प्रयोग गर्दा सधैँ कुनै न कुनै सन्देश प्रवाहित गरिरहेका हुन्छन् । लैंगिकताका विषयमा रिपोर्टिङ वा कभरेज गर्न र सबै विषयमा लैंगिक मूलप्रवाहीकरण गर्न पत्रकारहरूले केही खास शब्दावली र तिनले समेटेका धारणाका सम्बन्धमा प्रस्ट हुन तथा केही सीपहरू विकास गर्न जरुरी छ । यो किसिमको सचेतना एवं सीप सूचना र सञ्चार प्रविधिका अन्य प्रयोगकर्ताहरू तथा अनलाइन मिडियाका सञ्चालकमा पनि हुन अत्यावश्यक देखिन्छ ।
(विश्व प्रेस स्वतन्त्रता दिवस २०१५ को सन्दर्भमा युनेस्को, काठमाडौं अफिस र सेन्टर फर मिडिया फ्रिडमको आयोजनामा सन् २०१५ जुन २९ मा काठमाडौंमा आयोजित ‘इन्डिपेन्डेन्ट जर्नालिजम, जेन्डर इक्वालिटी एन्ड मिडिया सेफ्टी इन द डिजिटल एज’ विषयक राष्ट्रिय सेमिनारमा मञ्जु थापाद्वारा प्रस्तुत ‘लैंगिक समानता र पत्रकार महिलाको सुरक्षा’ शीर्षकको कार्यपत्रबाट सम्पादित अंश)

प्रतिक्रिया