हृदयेन्द्र र कृतिकापछि हिमानी

Himani-Sexyकाठमाडौं, २५ असार । हिलो छिचोल्दै पूर्वयुवराज्ञी हिमानी शाह छोरी कृतिका र छोरा हृदयेन्द्र शाहका साथ बिहीबार तारकेश्वर–१० को अर्यालटोल पुगिन् । उनका साथमा अरू थिए, हिमानी ट्रस्टका पदाधिकारीहरू र केही सुरक्षाकर्मी ।

ससुरा तथा हिमानी ट्रस्टका संरक्षक पूर्वराजाको ६९औँ जन्मोत्सव उनले हिलो छिचोल्दै त्यहाँका भूकम्पीडित परिवारलाई राहत वितरण गरेर मनाइन् । ‘देश नै समस्यामा परेको छ, हामी सबै मिलेर बनाउनु छ’, हिमानीको छोटो प्रतिक्रिया थियो, बाँकी उनले राहत सामग्री वितरण गर्ने काम गरिन् ।

छोराछोरी नै लिएर गएकी उनले त्यहाँका पीडितलाई पहिले राहत वितरण गरिनन् । उनको पालो छोरी कृतिका र छोरा हृदयेन्द्रभन्दा पछि आयो ।

गत १२ वैशाखको भूकम्पमा परी तीन जनाले ज्यान गुमाएको अर्यालटारमा राहत वितरणसँगै पीडितको घर पनि पुगेकी थिइन्, हिमानी । कार्यक्रमस्थलबाट झन्डै एक सय मिटर पर रहेको घरमा पैदल पुगेकी उनले पीडितको गुनासो सुनिन् ।

उनलाई स्थानीय महिला समूहले समस्या राखेकै कारण उनी राहत बोकेर अर्यालटार पुगेकी थिइन् । भत्किएको घरमा रोदनमा रहेकी सावित्री अर्यालले हिमानीलाई देख्नासाथ भनिन्, ‘सरकार हाम्रो परिवारको तीनजनाले यही घरमा ज्यान गुमाए, हामीले केही गर्न सकेनौँ ।’

राहत वितरण कार्यक्रममा हिमानी (दाया), छोरी कृतिका र छोरा हृदयेन्द्रका साथमा

राहत वितरण कार्यक्रममा छोरी कृतिका र छोरा हृदयेन्द्रका साथमा

सावित्रीको घरमा ५ मिनेट पुगेर उनको भावुकतालाई नियालेकी हिमानी पनि थोरै मलिन भइन् र पुनः राहत वितरणमा नै सक्रिय भइन् । उनले प्रत्येक परिवारलाई एकएक बन्डल जस्तापाता, दुई–दुईवटा कम्बल र एकएक थान सोलार बत्ती वितरण गरेकी थिइन् ।

अर्यालटार महिला समूहको अनुरोधमा हिमानी त्यहाँ पुगेकी थिइन् । उनले आफ्नो सामाजिक सेवाको सुरुआत छोरी कृतिका र छोरा हृदयन्द्रबाटै गराइन् । हिमानीले सामान्य प्रतिक्रियाका क्रममा भनिन्, ‘यहाँको महिला समूहले राख्नुभएको खानेपानी र किरिया घरको समस्याबारे छलफल गरेका छौं, सकेको पूरा गर्छौं ।’

आफ्नो गाउँमा पूर्वराजपरिवारका सदस्य आएर राहत वितरण गरेकोमा खुसी हुँदै स्थानीय महिला, बालबालिका एवं वृद्धहरू उत्साहित देखिएका थिए । एक वृद्धाले हिमानीको हात समाइन् र भनिन्, ‘हजुरलाई धन्यवाद राजपरिवारको मान्छे भएर पनि हाम्रो गाउँमा आउनुभयो ।’ त्यसवेला हिमानीले वृद्धाको मुखमा हेरेर मुस्कुराइन् । गाडीमा बसेपछि उनले सबैलाई दुई हात जोडेर बिदा भएकी थिइन् ।

उनी कार्यक्रममा ट्रस्टकी सदस्य तथा नन्द प्रेरणालाई पनि लिएर पुगेकी थिइन् । त्यस क्रममा स्थानीयले सरकारको आशा नगरेको बताएका थिए ।

लोकतन्त्रको सरकारभन्दा पनि पूर्वयुवराज्ञी हिमानीप्रति गाउँलेलाई विश्वास छ, त्यसकारण उनीहरू सामूहिक रूपमै ट्रस्टसँग खानेपानी र किरिया घरको माग गरिरहेका थिए ।

प्रतिक्रिया