वेबसाइटमा ‘डेड एन्ड’ मा नफस्नका लागि…

Sagar-Prasaiसुशील अधिकारी कम्प्युटरका धुरन्धर हुन् । उनी कम्प्युटरका साधारण प्रोग्राम चलाउन मात्र होइन, कम्प्युटरका केही प्रोग्रामहरू तयार गर्ने सामान्य कोडिङसमेत गर्न सक्छन् । उनको धेरैजसो काम पनि कम्प्युटरमा विभिन्न वेबसाइट डुलेर जानकारी बटुल्ने र तिनको विश्लेषण गर्ने खालको नै छ । तर, कम्प्युटरका यस्ता माहिर व्यक्ति पनि धेरैजसो वेबसाइटहरू चलाउँदा चलाउँदै रोकिन बाध्य हुन्छन् । कतिपय यस्ता वेबसाइटहरूको बीचतिर पुगेपछि उनी फस्छन््– न अगाडि जान सक्छन् न त पछाडि फर्कन नै । त्यस्तो ‘डेड एन्ड’ ले सुशीलका धेरैजसो काम अधुरै बनाइदिन्छन् ।
किनभने सुशील दृष्टिविहीन व्यक्ति हुन् । उनी आँखा देख्दैनन् । कम्प्युटर पनि उनी हेरेर नभई सुनेर चलाउँछन् । तर, नेपालका प्रायः वेबसाइट सुशील जस्ता प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएका छैनन् । त्यसकारण सुशीलले चलाउने कम्प्युटरको स्क्रिन पढेर सुनाइदिने सफ्टवेयरले समेत ती वेबसाइटहरूलाई बुझ्न र पढ्न सक्दैन ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा सुशील जस्तै झन्डै एक लाख व्यक्तिमा दृष्टिसम्बन्धी अपांगता छ । उनीहरू सबैको सूचनाहरूमा सहज पहुँच पाउनुपर्ने अधिकार हुँदाहँुदै पनि पहुँचयुक्त नबनाइएका वेबसाइटहरूका कारणले उनीहरू सूचनाबाट वञ्चित हुने गरेका छन् । यस्ता वेबसाइटहरूमा सबैभन्दा अगाडि सरकारी कार्यालयका वेबसाइट छन् ।
केही दिनपहिले हामीले यही समस्यालाई ध्यानमा राखेर वेबसाइट बनाउने डिजाइनर र डेभलपरहरूका लागि कसरी वेबसाइटहरूलाई राम्रो र स्टाइलिस हुँदाहँुदै पनि दृष्टिविहीन व्यक्तिहरूका लागि सहज र पहुँचयुक्त बनाउन सकिन्छ भनेर प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यौँ । काठमाडौंस्थित अमेरिकी दुतावासको आर्थिक सहयोगमा यो कार्यक्रमको आयोजना सुशील र म दुवैजना संलग्न रहेको ‘सँगै हामी’ भन्ने संस्थाले गरेको थियो । यस कार्यक्रमका लागि प्राविधिक सहयोग चाहिँ एन्लोकेटले गरेको थियो ।
हामीलाई आशा छ, हाम्रो कार्यक्रममा सहभागी भएर, केही नयाँ कुरा सिकेर, सबैका लागि पहुँचयुक्त वेबसाइट बनाउने प्रतिबद्धता जनाउनुभएका साथीहरूले यथार्थमा पनि त्यसै गर्नुहुनेछ ।
र, अलि दिनपछि सुशील र उनीजस्ता अन्य हजारौँ दृष्टिविहीन साथीहरू वेबसाइट चलाउँदा चलाउँदै निस्कनै नसक्ने गरी ‘डेड एन्ड’ मा फस्ने छैनन् ।

प्रतिक्रिया