एक्काईसौँ शताब्दीमा राजनीतिलाई अस्वीकार गर्ने जमातको विकास तीव्र गतिमा भइरहेको छ । कुनै कलेजमा जाने विद्यार्थीलाई सोधौँ । उसले भन्नेछ, ‘आई हेट पोलटिक्स ।’ अर्का कुनै सामान्य व्यापारीलाई सोध्दा जवाफ पाइन्छ, ‘अहँ मलाई राजनीति मन पर्दैन ।’ कर्मचारीको गुनासो उस्तै । पुलिस प्रशासन सबैलाई राजनीतिका बारेमा सामान्य कुरा गर्न परे उसै गरेर मुख बिगार्ने मात्र पाइन्छ ।
सर्वसाधारण त के ? उच्च तहमा समेत एकाथरिले राजनीति फोहोरी खेल हो भन्ने गरेका छन् । राजनीति शास्त्रका विद्वान्हरूले समेत राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएपछि नेपाली सामान्य नागरिकले बुझ्ने तरिका नै त्यस्तो हुने भयो । तर, मुलुक सपार्ने कि बिगार्ने भन्ने कुराको निक्र्यौल राजनीतिले नै गर्छ भन्ने कुरा जगजाहेरै छ ।
नीतिहरूको पनि महानीति राजनीति सप्रेमा देशमा स्थायी शान्ति कायम हुने रहेछ । तर, देशको राजनीति बिग्रेमा देश विस्तारै बिगँदो रहेछ भन्ने कुरा हामीले प्रत्यक्ष भोगेको विषय हो । मुलकमा चलेको २०४ वर्षे राणाकालीन समयमा राजनीति खुला नहुँदा हाम्रा बाबुबाजेले पढ्न पाएनन् । बजुआमाहरूको त कुरै छाडौँ । जातीय हिसाबमा समेत त्यो बेलाको पुस्तक पढ्न र सुन्न बर्जित गरिएको त्यो समय थियो । ब्राह्मणले वेद पढ्न पाउने, क्षत्रीले त्यो सुनेर त्यहाँ उल्लेख गरिएको कुरा गर्ने, वैश्यले सुन्नसम्म हुने तर शूद्रले सुनेमा कानमा तातो तेल लगाउनुपर्ने जस्तो त्यो बेलाको संस्कारमा कसले राजनीति बुझ्ने ?
यस्तो विषम परिवेशमा राजनीति बुझ्न त के यसको छेउसम्म थाहा नपाउने समय भएकाले विश्व एक्काईसौँ शताब्दीमा पुग्दा १८ औँ शताब्दीको अभ्यासमा छ । राजनीतिलाई नजिकबाट बुझ्न् नसक्दा विकासमा अवरोध भयो । जसरी राजनीतिलाई केही कुलिन परिवारको वरिपरि घुमाइयो, त्यसको परिणति हाल मुलुकले विश्वका अन्य मुलुकसँग कमजोर महसुस गर्नुपर्ने बाध्यता सिर्जना भयो । नजिकका छिमेकी राष्ट्रसँग पनि राजनीतिमा निरंकुश शासनको अनुभव नभएका त होइनन् । तर, उनीहरूले राजनीतिलाई त्यसरी बुझेनन् । अर्थात्, निरंकुशताभित्र पनि त्यहाँ राजनीतिक शिक्षा सकारात्मक रहेको थियो । नेपालमा राणाविरोधी आन्दोलन चल्दैगर्दा छिमेकी देशमा स्वतन्त्रताको लडाइँ भइरहेको थियो भन्ने कुरा इतिहासले देखाएकै छ ।
राणाविरोधी आन्दोलन मुलुकका लागि स्वतन्त्रताको पहिलो लडाइँ थियो । राजखानदानका लागि अधिकार स्थापित हुनु थियो । जनताका लागि स्वतन्त्रताको लडाइँ रह्यो जसका लागि तत्कालीन राजा र प्रजा मिलेर राणाशासनको जहानिया नियम तोडिदिए । त्यसपछि पनि नेपालको राजनीति सप्रिएको पाइएन । २००७ सालमा राणाविरोधी आन्दोलनले सफलता पाए पनि राजनीतिलाई खुकुलो गरी अघि बढाउन सकिएन । फलस्वरूप त्यस बेला पाएका उपलब्धिसमेत २०१७ सालमा गुमाउनुप¥यो । त्यो बेला स्वतन्त्रताका लागि उठेका आवाजको सही विश्लेषण गर्न नसक्दा फेरि अर्को लडाइँ नेपाली जनताका लागि अपरिहार्य भयो । स्वतन्त्रताको लडाइँलाई निरन्तरता दिन राजनीति लगाव केहीमा राम्ररी लाग्यो जसले अहिलेको मुलुक हाँक्ने शीर्ष नेताहरूको जन्म गरायो ।
वर्तमान नेताहरूको इतिहास त्यस बेला निर्माण भयो जुनबेला पञ्चायती व्यवस्थाले प्रजातान्त्रिक बाटोलाई बन्द गरेको थियो । राणाकालको जहानिया शासनको अर्को स्वरूप जस्तै लाग्ने गरी स्वतन्त्रताविहीन नेपाली जनताका ‘प्यारा राजा’ बाहेक अरू कोही हुनै नसक्ने समयको सुरुवात गरियो । विकासको सन्दर्भमा केही काम अगाडि बढाए । त्यहाँ राजनीति आवश्यक देखियो । जनताको हक अधिकार हुन्छ भन्ने कुरालाई आत्मसात गरेकैले नेपाली राजनीतिमा फेरि केही आशलाग्दा किरण देखा परे । नेपाली जनतामा दृढ विश्वास सिर्जना भयो । समयक्रममा परिवर्तनका निम्ति चुनौतिपूर्ण लडाइँहरू भए । वैधानिक तथा अवैधानिक हिसाबले राजनीतिको राम्रो सन्देश त्यही बेला सञ्चारित भयो । जुन कुराले आजका राजनेताको जन्म गरायो ।
आज राजनीतिक परिदृश्यमा देखिएका यी नेताले जन्मिएको पृष्ठभूमिमा त्यो बेलाको चरम असन्तुष्टिका धेरै कारण रहेका थिए । तर, हालसम्म आइपुग्दा पनि राजनीतिमा सुधार आएको पाइँदैन । २०४६ सालमा प्रजातन्त्र आयो, पञ्चायत ढल्यो । नेपालको हकमा विश्वका उत्कृष्ट संविधान जारी गरियो भनियो । तर, सही राजनीतिक कार्यदिशा समात्न नसकेको राजनीतिक सहमतिको दस्तावेजका रूपमा त्यस्ले शासन सत्ता टिकाउन सकेन । २०५२ सालबाट असन्तुष्टिको अर्को फोहोरा फुट्यो । नेपालमा अर्को हिंसात्मक द्वन्द्वको सुरुवात भयो । राजनीति नमिल्दो भएको यो आन्दोलनले नेपाली जनतालाई राम्ररी फेरि सोच्न बाध्य बनायो । आखिर अधिकार भनेको के हो भन्ने विषयमा बहस गर्न सक्ने बनायो । कांग्रेसका नेता नरहरि आचार्यदेखि गगन थापासम्म गणतन्त्रको पक्षमा बोल्ने बनायो । फलस्वरूप आफ्नो पार्टीको विधानको प्रस्तावनामा अकाट्य रहेको संवैधानिक राजतन्त्रको व्यवस्था कांग्रेस–एमाले जस्ता पार्टीले हटाउन मात्र होइन, ०६२/६३ को आन्दोलन नै गर्नुपर्ने बाध्यात्क स्थितिमा दलहरूलाई पु¥यायो ।
तत्कालीन राजसंस्थाको अन्त्यका लागि सबै दलले राजनीतिलाई सही ढंगले बुझिदिँदा नेपाली जनताले राजनीतिमा सघाउँदा त्यो आन्दोलन सफल भयो । मुलुकमा राजतन्त्र अन्त्य भयो र गणतन्त्र स्थापना भयो । यो चानचुने विषय रहेन । जसका लागि नेपाली जनताले चाहेको गणतन्त्र नेपाली नेताले पछ्याएका थिए । सडकमा नागरिकहरूको लर्को लाग्दा दलहरूले आँट गरेका थिएनन् । तर, नेुपाली जनताले नेता अगाडि बढेर नत्र ‘जनताले नेता बनाउनेछ, तिमीहरू विस्थापित हुनेछौ’ भन्ने चेतावनी दिएकैले नेताहरूले आन्दोलनमा हात हाले । जसको कारण गणतन्त्र स्थापना भयो । नेपाली जनताले तिनै नेतालाई ‘अनुमोदित हौ’ भने । ‘स्तन्त्रताका लागि हामी आफ्नो कानुन आफँ निर्माण गर्छौं नेताहरूले त्यही बाटो समात’ भने । त्यस मेसोमा २०४७ सालको उत्कृष्ट भनिएको संविधान खोस्टा सावित भयो । नेपालमा राजनीतिक सहमतिका आधारमा अन्तरिम संविधान २०६३ को जन्म भयो । नेपाली जनताको अधिकारलाई शक्तिशाली बनाउन संविधान सभामार्फत नयाँ नेपालको संविधान निर्माण गर्ने अभियानमा जुटे । नेताहरू फेरि अुनुमोदित हुन चुनावमा लागे । परिणामतः संविधानसभाको निर्वाचन भयो । जसले आफ्नो कार्यकाल तोकेर संविधान निर्माण गर्ने प्रमुख जिम्मेवारीको रूपमा राखेर काम सुरु गर्यो ।
हो, यो बेलासम्म नेपालको राजनीतिप्रति नेपाली नागरिकको मनमा राजनीतिप्रति चासो थियो । सबैले आफ्नो मत अभिव्यक्तिका लागि राजनीतिमा सक्रिय सहभागिताको खोजी गरिरहेका थिए । जब पहिलो संविधानसभाले आफ्नो कार्यक्षमता र नेताहरूले गरेको आफ्नो प्रतिबद्वताअुनसारको संविधान निर्माण गर्नेभन्दा बढी सत्ताका लागि खेल सुरु गरे । अनि फेरि राजनीतिप्रति वितृष्णा जाग्न थालेको छ । नेपाली जनताको मर्म र भावनाअनुरूप नेताहरूले काम गर्दा विस्तारै राजनीतिप्रति मानिस उदासीन हुने गरेका छन् । नेपाली उखान ‘जुन जोगी आए पनि…’ भनेझैँ नेपाली जनताको मानसिकतामा आजकल राजनीति फोहोरी खेल भएको छ । पहिलो संविधानसभाको निर्वाचनमा जति उत्साह थियो, दोस्रो निर्वाचनमा त्यो देखिएन । यो नेपाली जनताले राजनीतिप्रति गरेको तिरस्कार थियो ।
यसलाई राजनीतिक दलका नेताहरूले स्वीकार गर्न सकेनन् । फेरि निर्वाचनपछि पनि बेवास्ता गर्दै लैजानु, समयमा संविधान दिन नसक्नु उनीहरूको कमजोरी भएकै कारण जुन चिनो चौतारी, चिया पसलदेखि पान पसलमा समेत राजनीतिप्रति नागरिकको गुनासो छ ।
चुनावमा जित्नु मात्र राजनीति देख्ने नेपाली समाजमा यसपछि छाएको विभिन्न तह र तप्काका नागरिक आफ्नो दायित्वबाट सुरक्षित रूपमा भाग्न खोजिरहेका छन् । उनीहरूले राजनीतिलाई नेताहरूको कमाइ खाने भाँडोका रूपमा हेरेका छन् । नेताहरूले राजनीतिलाई सही ढंगले प्रयोग नगरिदिँदा आम मान्छेको विचार त्यसविरुद्ध मोडिन थालेको छ ।
हिजोका दिनमा कुलिन तथा अभिजात वर्गले राजनीतिको बागडोर आफ्नो हातमा लिएकाले जनताको पक्षमा आन्दोलित हुने नेताहरूमा पछिल्लो समयमा देखिएको राजनीतिक विकृति तथा विसंगत क्रियाकलापका कारण आज सबैमा राजनीतिप्रति भ्रम र वितृष्णा सिर्जना भएको छ । सबैभन्दा राजनीति बुझ्नुपर्ने जनताको तहबाट राजनीतिलाई गलत ढंगले बुझिँदा सबैतिर यसतर्फ मोह भंग भएको छ । नेता हुनलाई गरिएको राजनीतिले नेता त बनाउला तर पटक–पटक जनताको नजरमा गिरिरहनुपर्ने नेताको रूपमा उभिन बाध्य हुने नेताको जन्म हुनेछ । स्वार्थका कारण नेता भइरहनकै लागि भएका राजनीतिक शक्तिहरूलाई विभाजनै गरेर भए पनि नेता भइराख्ने प्रवृत्ति आउने पक्का भएको छ । मुलुकमा जनताभन्दा धेरै राजनीतिक दलको जन्म त होला तर जनताले राजनीतिलाई बुझ्ने तरिका उही किसिमको रहिरहनेछ । जसले देश विकासका कुनै काममा पनि कायापलट हुने देखिन्न ।
आम मानिसको बुझाइमा राजनीति पेसा हो कि समाज सेवा भन्ने प्रश्न त्यो बेला पनि चर्को बहसको विषय बन्छ । आजका युवा विद्यार्थी तथा आम सर्वसाधारण नागरिकबाटै भविष्यका राजनीतिज्ञको खोजी हुने हो तर नेताहरूले राजनीतिका बारेमा सही बुझाइ स्थापित नगर्ने र यसलाई सत्ता, पद र प्रतिष्ठाको विषय मात्रै बनाउने हो भने हाम्रो विकासका ढोका क्रमशः बन्द हुँदै अझ मागिखाने देशका असल नागरिक बन्नुबाहेक अर्को विकल्प हाम्रोसामु हुने देखिन्न ।
प्रतिक्रिया