चटपटे पसलमा किशोरकिशोरीको प्रेम

pani-puriiखानाका परिकार ठाउँअनुसार प्रख्यात छन् । कुनै ठाउँको नाम लिँदा परिकारहरू पनि त्यसको परिचयका रूपमा आउने गर्छन् । जस्तै : इलामको चिया, गुल्मीको कफी, वनारसको पान, कलकत्ताको पानीपुरी आदि । कलकत्तामा प्रख्यात रहेको पानीपुरी हिजोआज काठमाडौंमा पनि उत्तिकै प्रख्यात छ । जाडो होस या गर्मी, महिला हुन या पुरुष, बच्चा हुन या किशोरकिशोरी सबै जना पानीपुरी पसलमा झुन्ड भएर देखिने गर्छन् ।

सहरका चोकचोक, गल्लीगल्लीदेखि ठूलाठूला डिपाटमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँहरूमा राखिएका ठेलागाँडामा पानीपुरी, चटपटे बेच्दै हिंड्ने मानिसको आम्दानी भने एउटा अधिकृतसरहको सरकारी जागिरे बराबर हुने गरेको छ ।

हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने चटपटे र पानीपुरी बेच्ने व्यापारी बताउँछन् । बिहार घर भई हाल बाघबजारमा बस्ने उमेश शाह करिब तीन वर्षदेखि काठमाडौंको भृकुटी मण्डपमा पानीपुरी र चटपटे बेच्दै आएका छन् । उनले आफ्ने पसलाको नाम भने ‘अजय पानीपुरी’ राखेका छन् ।

‘छोराको नामबाट यस पसलको नाम राखेको हो’ उनी भन्छन् । उनले ठेलामा सरस्वती र गणेशको फोटोसहित अजय पानीपुरी लेखी फोन नं. र विवाह र पार्टीका लागि पनि अर्डर लिइन्छ भन्ने ब्यानर टाँसेका छन् । ‘विवाहका पार्टीमा पनि हामी पानीपुरी, भेलपुरी, दहीपुरी लान्छौं, महिनामा दुईतीन पार्टी प-यो भने ८०/९० हजार कमाइ हुन्छ’, उनी भन्छन् ।
अलिअलि हिन्दी मिसाएर नेपाली पनि रमाइलो गरी बोल्छन्, उनी । उनी पसलमा बस्दा मोबाइलमा भोजपुरी गीत घन्काउँदै चटपटे र पानीपुरी बेचिरहेका हुन्छन् । बिहान सात बजेदेखि बेलुका सात बजेसम्म पसल खोल्ने गर्छन् । नेपाल सरकारलाई महिनाको तीन हजार भाडा तिर्छन् । सुरक्षाको राम्रो व्यवस्था भएको उनी बताउँछन् ।

सिजन परेको बेला ८०/९० हजार कमाइ हुने र अरू बेला महिनाको ३०/४० हजारसम्म कामाइ हुने गरेको छ । उनको यसै कमाइबाट घरमा रहेका बुबाआमा, श्रीमती र एक छोरा, दुई छोरी गरी ६ जनाको परिवारलाई पालिरहेका छन् । तपाईं घर कहिले कहिले जानुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘घरमा दुःख, बिराम पर्दा गइहाल्छु नत्र भने चाडपर्वमा मात्र जान्छु, दुईतीन महिना बसेर फर्किहाल्छु ।’

आफ्ना गाहकसँग खुलेर कुरा गर्छन् उनी । हातमा ग्लोब लगाएर मात्र पानीपुरी बेच्ने गर्छन् । सरसफाइमा पनि ध्यान दिनुपर्छ भन्ने उनको मान्यता छ ।

भृकुटी मण्डपभित्र दिनभरि घुम्ने प्रेमिप्रेमीकाका जोडी साँझ चार बजेतिर त्यहीँ पसल वरिपरि आई पानीपुरी र चटपटे खाने गर्छन् । उनी तिनीहरूसँग कुरा गर्न रुचि राख्दैनन् रे । भन्छन्, ‘गर्लफ्रेन्ड ब्याइफ्रेन्ड आउँदा म उनीहरूलाई दुःख दिन्न, किन डिस्टर्व गर्नु होइन ?,’ उनी उल्टै प्रतिप्रश्न गर्छन् । चटपटे र पानीपुरी खान मात्र नभएर आफ्ना मायापिरतिका गफगाफ गर्न पनि किशोरकिशोरी उक्त पसल वरपर जम्मा हुने गर्छन् ।

हिजोआज आएर मायापिरतिका गफ गर्ने चौतारी भएका छन्, यस्तै पसलहरू । यिनै पसलहरूमा झांगिँदै छन् किशोरकिशोरीका प्रेम । हाम्रो देशमा हजारौं युवा बेरोजगार छन् । लाखौँ खर्चेर खाडी मुलुक जाँदा पनि राम्रो कमाइ नभएको अवस्थामा एक प्रेरणाको स्रोत भएका छन्, उमेश शाह ।

प्रतिक्रिया