चिकित्सक नआउँदा सेवा प्रभावित

birganjपर्सा, २० असार । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका चिकित्सक डा. फारुक अहमद मिकरानी लामो समयदेखि अस्पताल नआउँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । गत वर्ष ६ जेठमा वीर अस्पतालबाट सरुवा भई वीरगञ्ज आएका डर्माटोलोजिस्ट डा.मिकरानी लामो समयदेखि बिदा लिएर बसेका हाजिरी रेकर्डले देखाएको छ ।

हाजिर हुनासाथ बिदामा बसेकाले अस्पतालका अधिकांश कर्मचारीले उनलाई चिन्दैनन् । अस्पतालका यौन तथा चर्म रोग विभाग प्रमुख डा. मिकरानीनै भए पनि यो विभाग स्वयंसेवी चिकित्सकको भरमा चलिरहेको छ । डा. अतुलेश चौरसिया, डा. अनु अग्रवाल र रामाकान्त जैसवालले यो विभागलाई निःशुल्क रूपले धानी रहेको बताउँछन् । तीनै जना बेतलबी चिकित्सक हुन् । पछिल्लो दिनको तथ्यांक हेर्दा यो विभागमा दैनिक कम्तीमा सय बढी छाला तथा यौनरोगका बिरामी उपचारका लागि आउने गरेका छन् ।
अस्पतालको ओपिडी कक्षमा चर्म तथा यौनरोग विभागमा सरकारी दरबन्दीका एक मात्र चिकित्सक तथा विभाग प्रमुख डा. मिकरानीको नाम अंकित बोर्ड समेत छैन । त्यहाँ पनि डा. चौरसिया र अग्रवालको नाम अंकित बोर्ड मात्र छन् । ‘खै हामीले त उनलाई चिनेका पनि छैनौँ’, अस्पतालका एक अधिकृतले भने ‘हाजिर गर्न कहिले आउनुहुन्छ, कहिले जानु हुन्छ, हामीले चाल पाउँदैनाँ ।’
सरकारी अस्पतालको आधिकार प्राप्त चिकित्सक सधँ बिदाको बहानामा अनुपस्थित हुँदा जबर्जस्ती करणी तथा अन्य संवेदनशील घटनामा चिकित्सकको राय, प्रतिवेदन आदि पनि स्वयंसेवक चिकित्सकको भरमा चलेको छ । यस्तो राय, प्रतिवेदन गैरकानुनी हो । तर, यस विभागको प्रमुख अनुपस्थित भएको कारण काम चलाउनुपरेको अस्पताल प्रशासनले बताएको छ ।
श्रोतका अनुसार, रौतहट निवासी डा. मिकरानी लामो समयदेखि राजधानीमा सपरिवार बस्दै आएका छन् । वीरलगायत नाम चलेका अस्पतालमा लामो अवधि सेवा गरी सकेका उनी वीरगञ्जमा नआए पनि बिदाको बहानामा राजधानीका विभिन्न क्लिनिक तथा फार्मेसीहरूमा भने दैनिक बिरामी जा“च्न भ्याउने गरेका छन् । अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा रामाशंकर ठाकुरको छिमेकी भएकै कारण अस्पताल प्रशासनले डा. मिकरानीलाई यो सहुलियत दिँदै आएको श्रोतको दाबी छ ।
स्रोतका अनुसार, डा. मिकरानीले हाल राजधानीको बागबजारस्थित रुनो फार्मेसी, अनामनगरस्थित मेडिकेयर अस्पताल, मैतीदेवीस्थित विवेक फार्मेसी, कालिमाटीस्थित विटिट फार्मेसी र इन्द्रचोकस्थित कोमल फार्मेसीमा नियमित रूपमा बिरामीको परीक्षण गर्दै आएका छन् ।
डा. मिकरानीलाई चिन्ने केही कर्मचारीले भने उनी प्रायः राजधानी बस्ने र एकदुई दिनका लागि वीरगञ्ज आएर महिनाभरिको हाजिरी गरेर फर्कने गरेको गरेका छन् । हाजिरी किताब हेर्दा उनले ०७१ वैशाख ६ देखि माघ ५ सम्म एक दिन पनि बिदा लिएका छैनन् । माघ ६ देखि चैत १५ सम्म बिदा लिएर चैत १६ मा एक दिन हाजिर भएका उनले त्यसको भोलि पल्टदेखि चैत मसान्तसम्म पुनः बिदा लिएको देखिन्छ ।
०७२ वैशाख १२ देखि १७ सम्म घर बिदा, १८ देखि २७ सम्म हाजिर र २८ देखि ३१ सम्म पुनः घर बिदा लिएका छन् । जेठ १ देखि १० सम्म हाजिर भएका उनले ११ देखि ३० सम्म पुनः घर बिदा लिएका छन् । जेठ ३१ र ३२ मा हाजिर भएका उनले असारभरि मात्र नभई साउन १५ गतेसम्मको घर बिदा लिएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. एनामुल हकले डा. मिकरानीले व्यक्तिगत/पारिवारिक कारणले बिदा लिइरहेको दाबी गरे । कर्मचारीले जागिर अवधिमा प्रत्येक वर्ष ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा, ६ दिन भैपरी आउने र ६ दिन पर्व बिदा पाउने सुविधा रहेको उनले बताए । जागिर अवधिमा १ सय ८० दिन संचित बिदाको उपयोग पनि गर्न पाउने उनले जिकिर गरे । ‘सरकारी दरबन्दीका चिकित्सक नहुँदा स्वयंसेवक चिकित्कसले काम गर्नुपरेको कुरा मैले पनि बुझेको छु“’, उनले भने, ‘म पनि निमित्त मेसु हु, मलाई पनि यो विषयमा धेरै जानकारी छैन ।’
हाल चर्म तथा यौनरोग विभाग सम्हाल्दै आएका चिकित्सकहरू डा. चौरसिया र डा. अग्रवाल बिरामीको चाप अत्यधिक भएकाले आफूहरूलाई भ्याइनभ्याई भएको बताउँछन् । ‘स्वयंसेवी भए पनि बिरामीको परीक्षण त गर्नै प-यो’, डा. अग्रवालले भनिन्, ‘गर्मी बढेकाले बिरामीको चाप झनै बढेको छ, सक्दो प्रयास गरिरहेका छौँ ।’
अस्पताल विकास समितिका सदस्य सुदीप लामाले आफूलाई २० दिनअघि मात्र यस विषयमा जानकारी भएको बताए । ‘हामीले यस विषयमा मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादवसँग पनि गम्भीर छलफल गरेका छौँ’, लामाले भने, ‘स्थायी कर्मचारी भन्दैमा जोसुकैले पनि मनोमानी गरेर बस्न पाउँदैन, यति लामो अवधि कसरी बिदाको सुविधा दिइँदै आएको छ, यो पनि छानबिनको विषय भएको छ ।’ डा. मिकरानीको विषयमा समितिले तुरुन्तै स्वास्थ्य मन्त्रालयलाई परिपत्र गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया