कांग्रेस सभासदहरूले आरक्षणको बिरोध सुरू गरे

nepali-Congressकाठमाडौं, १८ असार । राजनीतिक दल र अन्य विभिन्न स्थानमा दिइएका ‘आरक्षण’को विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा बिरोधका स्वरहरू उठेका छन् ।

हालै विकसित राजनीतिक घटनाहरूको समीक्षा गर्न आज बालुवाटारमा बसेको संसदीय दलको बैठकमा आरक्षणका नाममा भएका विकृतिहरूको सभासदहरूले बिरोध गरेका हुन् । आरक्षणको नाममा अघिल्लो दिन पार्टीमा भित्रिएकाहरू रातारात माथि आउने क्रम बढेको भन्दै सभासदहरूले असन्तुष्टि जनाएका थिए ।

‘आरक्षणले कतिपय संघर्षशील नेता कार्यकर्ताहरू पछाडि परेका छन्’, कांग्रेस सभासद रामहरि खतिवडाले भने, ‘आरक्षणलाई व्यवस्थित बनाइनुपर्ने साथीहरूको धारणा छ ।’

बैठकमा धारणा राख्ने कतिपय सभासदहरूले धर्म निरपेक्षताको समेत बिरोध गरेका छन् । ‘सबै धर्मलाई राज्यले समान व्यवहार गर्नुपर्छ तर यो शब्द विवादित भयो भन्दै केही सभासदहरूले ‘धार्मिक स्वतन्त्रता’ भन्ने शब्द राख्नुपर्ने माग गर्नुभएको छ’, खतिवडाले भने ।

सभासदहरूले जिबिसको संयन्त्र कायम राखिनुपर्ने, संविधानमा बहुलवाद उल्लेख गरिनुपर्ने, संविधान खास वर्ग, क्षेत्र, सम्प्रदायको मात्र नभई हिमाल, पहाड, तराईमा बस्ने सम्पूर्ण नेपालीहरूको हुनुपर्नेलगायतका धारणा बैठकमा राखेका थिए ।

बैठकमा सरकारले यथेष्ट मात्रामा भूकम्पपीडितहरूलाई राहत पुराउन नसकेको भन्दै सभासदहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका थिए ।

संसदीय दलको बैठकमा अझैसम्म कुनै पनि शीर्ष नेताहरूले धारणा राखेका छैनन् । बैठक पुनः शनिबारका लागि बोलाइएको कांग्रेसले जानकारी दिएको छन् ।

प्रतिक्रिया