काठमाडौं, १८ असार । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत गरेकोमा यसको स्वागत गरेको छ ।
अब मुलुकमा राजनीतिक स्थायित्व आउने र आर्थिक विकासको ढोेका खुल्ने भन्दै महासंघले आर्थिक समृद्धिमा लाग्न सरकार तथा राजनीतिक दलहरुसँग आह्वान गरेको हो ।
महासंघको रिक्त अध्यक्ष पदको निर्वाचन गर्ने प्रयोजनले आज काठमाडौंमा आयोजित विशेष साधारणसभामा महासंघले भूकम्पले क्षतविक्षत भएको भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सार्वजनिक—निजी साझेदारी नीतिले काम गर्न सरकारसँग माग गरेको छ ।
महासंघले पुनःनिर्माण तथा पुनःस्थापना कार्यमा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर अध्ययन गरिराखेको उल्लेख गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने प्राधिकरणमा निजी क्षेत्रको अनिवार्य प्रतिनिधित्व गराउन पनि आग्रह गरेको छ ।
विशेष साधारणसभाले कार्यवाहक अध्यक्ष पशुपति मुरारकालाई कार्यकारी अध्यक्षमा आजै सर्वसम्मत निर्वाचित गरेको छ । अध्यक्षका लागि प्रत्यासी भास्करराज राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिएपछि मुरारका सर्वसम्मत अध्यक्ष भएका हुन् ।
स्थापनाको ५०औं वर्षगाँठमा प्रवेश गर्न लाग्दा महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएपछि महासंघको अध्यक्ष पद खाली रहेको थियो ।
महासंघमा ९३ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ छन् । ९६ वस्तुगत संघ छन् ।
त्यस्तै, ६ सय ३५ एसोसिएट र २० अन्तर्राष्ट्रिय संघ छन् । अब मुरारकाले २१ महिना महासंघको अध्यक्षको हैसियतले नेतृत्व दिनेछन् ।
महासंघले आफ्नो सञ्जालमार्फत भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा करिब १० करोड बराबरको राहत सामग्री वितरण गरेको र आगामी दिनमा ती जिल्लाका बासिन्दाका घर तथा आवास निर्माण, भौतिक पूर्वाधार, सडक, पर्यटन, कृषि, बिमा, उद्योग व्यवसाय एवम् उपत्यकामा क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत प्राचीन सम्पदाको पुनःनिर्माणमा सहयोग पुराउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया