धनगढी, १८ असार । कैलालीका खोला तथा नदीबाट ढुंगा, गिट्टी र बालुवा संकलन एवं उत्खननमा रोक लगाइएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयअनुसार असार १६ बाट असोज १ सम्मका लागि रोक लगाइएको जिल्ला विकास समितिका अधिकृत योगेन्द्रबहादुर चन्दले बताए । सरोकारवालालाई जानकारी दिई ढुंगा, गिट्टी र बालुवा नदी तथा खोलाबाट उठाउन नपाउने गरी रोक लगाइएको हो । वि.सं. २०७० साल असारमा सरकारले गरेको निर्णयबमोजिम बर्खायाममा देशभरका नदीनालाबाट यी वस्तुको संकलनमा रोक लगाउने गरिएकामा कैलालीमा भने गत वर्षदेखि मात्रै यो निर्णय कार्यान्वयनमा आएको थियो ।
चुरे क्षेत्रको संरक्षण संवद्र्धन गर्न र नदीजन्य वस्तुको जथाभावी संकलनबाट उत्पन्न हुनसक्ने नदीकटान डुबानलगायत समस्या सिर्जना हुन नदिन सरकारले नदी र खोलाबाट गिट्टी र बालुवाको संकलन एवं उत्खनन गर्न नपाइने नीति लिएको छ । यी वस्तु संकलन तथा उत्खनन गर्न दिएबापत जिविसलाई वार्षिक तीन करोड रुपैया भन्दा बढी आम्दानी हुने गरेको छ ।
मन्त्रालयको आदेशबमोजिम हरेक वर्ष जेठ मसान्तसम्म विकासका योजना कार्यान्वयन गर्न सम्झौता गर्नुपर्ने भए पनि असार महिना सुरु हुनासाथ गिट्टी, बालुवालगायत निर्माण सामग्री संकलनमा रोक लगाइने नीतिले विकासका काम अघि बढ्न नसकी समस्या सिर्जना भएकाले मन्त्रालयको स्वीकृतिमा यस वर्ष असारको १६ सम्म यी वस्तु संकलन गर्न दिइएको चन्दले बताए ।
विकासका काम प्रभावित हुने देखिएपछि यस वर्ष जिविसले असारमा पनि गिट्टी, बालुवालगायत निर्माण सामग्रीको संकलनको स्वीकृतिका लागि मन्त्रालयमा पत्राचार गरेको थियो । आगामी वर्षदेखि असारभरि यी वस्तुको संकलन गर्ने व्यवस्थाका लागि मन्त्रालयसँग अनुरोध गरिने अधिकृत चन्दले बताए ।
प्रतिक्रिया