विवाद अन्त्य पहिलो प्राथमिकता

Keshav-Bistaकाठमाडौं, १६ असार । राष्ट्रिय खेलकुद परिषद्(राखेपका)का नवनियुक्त सदस् सचिव केशवकुमार विष्टले पहिलोपटक औपचारिक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कार्यकाललाई स्वर्ण बनाउने दाबी गरे ।

सदस्यसचिव विष्टले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक निर्वाचन क्षेत्रमा एक जना स्वयंसेवक प्रशिक्षकको व्यवस्था गर्ने र सबै खेलको राष्ट्रिय खेलाडीको जीवन बिमा गराउने बताए । उनले राजनीतिक आस्थाका आधारमा खेलाडी, कर्मचारी, खेलकर्मी र पदाधिकारीलाई कुनै किसिमको विभेद नगर्ने धारणा व्यक्त गरे । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राखेपको नीति पुरानै ढाँचाको भएकाले परिमार्जन गरी नयाँ ढंगले खेलकुद क्षेत्रको विकास गर्ने बताए । विष्टले आफ्नो चार वर्षीय कार्यकालमा विभिन्न खेलकुद संघभित्र रहेको विवादलाई टुंग्याउन पहिलो प्रथामिकताका साथ काम गर्ने बताए । उनले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने योजना रहेको विचार व्यक्त गरे ।
विष्टले सदस्यसचिवका रूपमा आफू नियुक्त हुँदा खेलकुदमा केही नराम्रो स्थिति सिर्जना भए पनि अबको समय यस्तो नहुने बताए । ‘यसबीच केही अन्योल देखिएको छ । तर, त्यो अन्योलता सधैँ रहँदैन, खेलकुद आफ्नो गतिमा अघि बढ्नेमा म सबैलाई विश्वास दिलाउन चाहन्छु’, विष्टले भने, । ‘आउँदो चार वर्षका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजनासहित स्वेतपत्र केही दिनमा जारी गर्ने मैले यसअघि नै सार्वजनिक गरिसकेको छु । तर, सँगसँगै सबैले आपूmले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्छु । कामका आधारमा मूल्यांकन र मूल्यांकनका आधारमा दण्ड र पुरस्कारको व्यवस्थाको पक्षमा म सधैँ उभिनेछु ।’
उनले दुई वर्षअघि नै पूर्वाञ्चलनमा हुनुपर्ने सातौँ राष्ट्रिय खेलकुद अहिलेसम्म हुन नसके पनि यही वर्षभित्र आयोजनाको प्रयास गरिने बताए । त्यस्तै, दुई वर्षअघि रोकिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी माघ या फागुन महिनामा सञ्चालन गर्ने सदस्यसचिव विष्टले पत्रकार सम्मेलनमा बताए । प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयले बजेट विनियोजन नगरेकाले सञ्चालन हुन सकेको थिएन । सो अवसरमा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले आफूहरूबीच केही समय द्वन्द्व चले तापनि हाल त्यस्तो अवस्था नरहेको बताए । उनले राखेपमा एक जुट भएर काम गर्नेसमेत ठोकुवा गरे ।

प्रतिक्रिया