मिडिया, सूचना र सञ्चार प्रविधि तथा महिलाविरुद्ध हिंसा

Manju-Thapa--aa-(Chamina's-अहिले सूचना र सञ्चारका नविनतम प्रविधिहरू तथा इन्टरनेटले मानिसको जीवनमा ठूलो प्रभाव पारिरहेको छ । सूचना र सञ्चारका नयाँ–नयाँ प्रविधिको विकाससँगै मिडियाको संसार विस्तारिएको छ । सूचना र सञ्चारका नयाँ–नयाँ प्रविधिहरू तथा न्यूमिडिया वा अनलाइन मिडिया वा सामाजिक मिडियाले महिला अधिकार र लैंगिकताका सवालमा के–कस्तो मद्दत पु-याएका छन् वा उल्टै प्रतिकूलता सिर्जना गरेका छन् वा कसरी प्रभाव पारिरहेका छन् भनेर विश्वव्यापी बहस सुरु भइसकेको छ । निश्चय नै मोबाइल फोन, इमेल, इन्टरनेट जस्ता सूचना र सञ्चारका प्रविधिहरू तथा अनलाइन मिडियाले महिलाको सशक्तीकरण एवं लैंगिक समानताका लागि अनगिन्ती सम्भावना एवं अवसर सिर्जना गरेको छ । महिलाको राजनीतिक र आर्थिक सामाजिक सशक्तीकरणमा पनि यी माध्यमले उल्लेखनीय योगदान पु¥याएका छन् । त्यति मात्र होइन, महिलालाई सूचना र सञ्चारको नजिक ल्याएर वा अभियान सञ्चालनमा मद्दत पु¥याएर महिलाविरुद्ध हिंसाको अन्त्य गर्नसमेत सहयोग गरिरहेका छन् । यद्यपि, सूचना तथा सञ्चार प्रविधिहरूको पहुँचमा ठूलो लैंगिक अन्तर छ । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको एक तथ्यांकअनुसार इन्टरनेटको प्रयोग र पहुँचमा ठूलो लैंगिकग्याप छ जसअनुसार विश्वभर केवल ३७ प्रतिशत मात्र महिलाले र ४१ प्रतिशत पुरुषले इन्टरनेट प्रयोग गर्छन् ।
यी प्रविधिहरू र मिडियाको फाइदाको चर्चा सँगसँगै यिनको दुरूपयोेगले महिलामाथि झन् बढी जोखिम र हिंसा थपिरहेको अवस्थालाई पनि कम आँक्ने स्थिति छैन । यस्ता प्रविधिको बढ्दो प्रयोग र पहुँचमार्फत महिलालगायतका सिमान्तकृत समुदाय विशेषमाथि अनलाइन हिंसा, दुव्र्यवहार र गालीगलौज गर्ने तथा उनीहरूलाई निचा देखाउने काम पनि भइरहेको छ । महिलाले भोग्नुपरेको प्रविधिसम्बन्धी हिंसा र दुव्र्यवहारले इन्टरनेटलाई पुरुषप्रधान बनाउँदै लगेको छ र महिलाका लागि आपसी सम्पर्कमा रहने, आफूलाई अभिव्यक्त गर्ने तथा विचारहरूको आदानप्रदान गर्ने स्थान साघुरिँदै गएको छ । इन्टरनेट सेवा र फेसबुक, ट्विटर, ब्लग जस्ता सामाजिक सञ्जालहरूमा महिलालाई कमजोर तथा असक्षम देखाउने अभिव्यक्ति तथा तस्बिरहरू सम्प्रेषण भइरहेका छन् । यस अर्थमा यस्ता मञ्चहरू पनि महिलालाई पराधीन र कमसल सावित गर्ने नयाँ माध्यम बन्दैछन् ।
वास्तवमा प्रविधिको प्रयोग गर्दै महिलामाथि गरिने हिंसा पनि महिलाविरुद्ध हिंसाको एक रूप हो । यसले महिलालाई सूचना र सञ्चारका प्रविधिबाट फाइदा लिन सक्ने अवस्थाबाट पनि वञ्चित गरिरहेको छ । अहिले नजिकका व्यक्तिले गर्ने हिंसा र यौन दुव्र्यवहारमा  थपिँदै गएका छन् । यसबाट महिला र बालिकाहरूको सुरक्षाको स्थिति कमजोर हुँदै गएकोे छ भने मनोवैज्ञानिक र भावनात्मक नोक्सानी, पूर्वाग्रहहरूको निरन्तरता, इज्जतमा धक्का, आर्थिक हानी, सार्वजनिक जीवनमा सहभागितामा अवरोध जस्ता प्रतिकूलताहरू सिर्जना भइरहेका छन् । सारमा भन्नुपर्दा महिलामाथि भर्चुअल हिंसा बढ्दो छ । अनलाइनको माध्यमबाट हुने दुव्र्यवहार, गालीगलौजपूर्ण भाषा र अपमानजनक तस्वीरहरूको ९५ प्रतिशत महिलाविरुद्ध लक्षित छन् ।
नेपालमा पनि सहरी क्षेत्र मात्र होइन, गाउँ–गाउँमा समेत यस्ता प्रविधिको पहुँच हुनु पक्कै पनि खुसीको कुरा हो । गाउँ–गाउँमा मोबाइल फोनको प्रयोग बढ्दो छ र यसका प्रयोेगकर्तामा महिला पनि धेरै छन् । भौतिक विकासको क्रममा सूचना र सञ्चारका प्रविधिहरूले जसरी फड्को मारेका छन् त्सैगरी अनेकौँ प्रतिकूलताका बाबजुद पनि नेपाली महिलाले तिनलाई प्रयोग गर्न थालेका छन् । करिब १७ प्रतिशत मात्र जनसंख्या बस्ने सहरी क्षेत्रमा सूचना र सञ्चारका प्रविधिको बढी उपलब्धता छ भने ग्रामीण क्षेत्रमा अत्यन्त कम छ । नेपालभित्र इन्टरनेट २३ प्रतिशत नेपालीको मात्र पहुँचमा छ । तर पनि गाउँ–गाउँमा मोबाइल फोन र त्यससँगै इन्टरनेटको प्रयोग बढेर गएको छ । इन्टरनेटको सुविधाले इमेल, फेसबुक, युटुब, ट्वीटर, ब्लग चलाउनेहरूको संख्या बढ्दो छ । छापा, रेडियो र टेलिभिजन छाडेर अनलाइन पत्रकारिता गर्नेहरू बढेका छन् । केही अनलाइन पत्रिका वा म्यागजिनहरूले क्रमशः विश्वसनियता प्राप्त गर्दै गएका छन् भने धेरै अनलाइन सोखका कारण सञ्चालित छन् । सूचना र समाचारको स्रोतका रूपमा अनलाइनलाई लिने चलन पनि बढिरहेको छ ।
यद्यपि गरिबी, अशिक्षा, कम्प्युटरसम्बन्धी ज्ञान र पहँुचको अभाव, भाषिक कठिनाइ आदिले सूचना र सञ्चारका नयाँ–नयाँ प्रविधिहरूमा महिलालगायतका समूहको पहुँचलाई साँघु-याइदिएको छ । नेपालमा औसत साक्षरता दर (पाँच वर्षभन्दा माथिको उमेर समूहमा) ६५ दशमलव ९ प्रतिशत छ भने महिलाको साक्षरता दर केवल ५७ दशमलव ४ प्रतिशत र पुरुषको ७५ दशमलव १ प्रतिशत छ (केन्द्रीय तथ्यांक विभाग, २०६९) ।
बढ्दो साइबर स्पेस प्रयोगसँगै नेपालमा पनि सूचना र सञ्चार प्रविधिको दुरूपयोग झनै चुनौतीपूर्ण हुँदै गएको छ । एक सर्वेअनुसार अब नेपालका विद्यालयमा पनि साइबर बुलिङ गम्भीर चासोको विषय बन्न थालिसकेको छ । यसबाट किशोर किशोरीहरूको अध्ययनमा बाधा, आत्महत्याका लागि दबाब जस्ता गम्भीर असरहरू परिरहेको अवस्था छ ।
यी सबैका बाबजुद पनि नेपाली सन्दर्भमा सूचना र सञ्चार प्रविधिको प्रयोग गर्दै महिलाविरुद्ध हिंसाको अन्त्यका लागि सामाजिक मिडियाले खेलेको सकारात्मक भूमिकाको प्रसंग सम्झिँदा ‘अकुपाई बालुवाटार’ अभियान एउटा उल्लेखनीय उदाहरण हो । सन् २०१२ मा अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र विदेशबाट फर्केकी एक महिला कामदारमाथि सरकारी कर्मचारीबाट भएको लुटपाट र बलात्कारको घटनाका सम्बन्धमा सञ्चारमाध्यममा समाचार आएपछि त्यसका विरुद्ध बिनायोजना र असंगठित रूपमा विद्रोह सुरु भएको थियो । त्यस घटनाको विरोधमा त्यतिबेला इमेल र फेसबुकमा गरिएको आह्वानका आधारमा सयौँ मानिस प्रधानमन्त्री निवासबाहिर प्रदर्शन र धर्नाका लागि महिनौँ दिनसम्म सहभागी भएका थिए । साथै उनीहरूले त्यस विरोध प्रदर्शनका समाचार, सूचना र तस्बिरहरू फेसबुकलगायतका सामाजिक मिडियामार्फत प्रचारप्रसार गरेका थिए । अन्ततः विरोध सुरु भएको एक सय ६ दिनपछि सरकार आरोपीहरूलाई गिरफ्तार गर्न, निलम्बन गर्न र पीडितलाई क्षतिपूर्ति दिन बाध्य भएको थियो । यसरी नेपालमा पनि अब सामाजिक मिडिया सामान्य सूचनाहरूको आदानप्रदान र मनोरञ्जनको साधन मात्रै नभएर विभिन्न नागरिक अभियानहरू सञ्चालन गर्ने माध्यम पनि बन्न पुगेको छ । त्यसैगरी दिलशोभा श्रेष्ठका सन्दर्भमा सत्यतथ्यताको बहस चलाउनमा पनि अनलाइन मिडियाको व्यापक प्रयोग भएको थियो ।
यस्ता सकारात्मक प्रभावहरू हुँदाहुँदै पनि सूचना र सञ्चार प्रविधि तथा सामाजिक मिडियाबाट गलत कुरा सिक्ने र दुरूपयोग गर्ने चलन पनि अत्यधिक बढिरहेको छ । पत्रकार महिलासमेत सबै महिलामाथि हुने अनलाइन दुव्र्यवहार अहिले बढ्दो विश्वव्यापी प्रवृत्ति भइरहेको छ । मोबाइल फोनबाट धम्की दिने, सताउने र असुरक्षा सिर्जना गर्ने गरेका घटना महिलाविरुद्ध हिंसासँगै अरू पनि लगभग सबैजसो अपराधका घटनासँग जोडिएका छन् । यस्ता केही घटना हेरौँ ।

घटना एक
हालै मात्र काठमाडौंमा संगीता पुलामीलगायतका छात्राहरूमाथि एसिड छ्याप्ने घटनाका अभियुक्त जीवन विकले भारतीय टेलिसिरियलमा एसिड छ्यापेको देखेर सिकेको हुँ भनेर स्वीकार गरेका छन् ।
महिलाहरूलाई बद्नाम गर्न र धम्क्याउन उनीहरूको नग्न तस्बिर लुकेर खिच्ने, फेसबुक र इन्टरनेटमा राख्ने अपराध बढ्दै गएको छ । सामाजिक मिडियाको कुरा गर्दा विशेषगरी महिलाहरूको फेसबुक ह्याक गर्ने र उनका साथीहरूसँग अश्लील कुराकानी गर्न खोज्ने घटना पनि बढेका छन् ।

घटना दुई
अविवाहित युवती सुनिता (नाम परिवर्तन) को नाममा कसैले फेसबुकमा नक्कली एकाउन्ट खोलेर उनको अनुहारको तस्बिरमा नग्न शरीरको फोटो जोडेर बद्नाम गर्ने प्रयास गरिँदा उनले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेको, साथीहरूलाई आफ्नो फेसबुक नभएको जानकारी गराउनुपरेको र आफ्ना नाममा कुनै फेसबुक एकाउन्ट छ भने त्यो अरू कसैले जालसाजीपूर्वक बनाएको हो भनेर आफ्ना परिचितहरूबीच जानकारी गराउनुपर्ने अवस्था सिर्जना भएको थियो । यही कारणले गर्दा उनी फेसबुकबाट लिन सक्ने लाभ लिनबाट समेत वञ्चित भएकी थिइन् ।

घटना तीन
सन् २०१३ को जुनमा नेपाली हेडलाइन्स अनलाइनमा डिल्लीबजार कन्या क्याम्पसको शौचालयमा भेन्टा भेटियो भनेर समाचार लेख्ने पत्रकार सुशील पन्त र अनलाइनका सञ्चालक सन्तोष भट्टराईलाई क्याम्पसको उजुरीमा साइबर क्राइमको अभियोगमा प्रहरीले हिरासतमा लिएको थियो । छात्राहरू मात्र पढ्ने क्याम्पसको शौचालयमा भेन्टा भेटियो भनेर समाचार लेख्दा कलेज र महिलाको इज्जतमा आँच आउने काम गरेकाले उजुरी गरेको क्याम्पसका भोला आचार्यले बताएका थिए । उता नेपाल पत्रकार महासंघ, प्रेस काउन्सील नेपाल र पत्रकारहरूले यस्ता विषयमा प्रेस काउन्सीलमा उजुरी गरी छानबिन गर्नुपर्नेमा समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्नु गलत भएको भन्दै विरोध गरेका थिए ।

घटना चार

मा मीनराज वसन्तले इजरायललाई निशाना बनाउने हमास शीर्षकमा लेख्नुभएको छ, भर्खर मात्र विभिन्न अनलाइन पत्रिका र छापामा इजरायलका नेपाली महिलासम्बन्धी लेख प्रकाशित भई आएपछि कोकोहोलो मच्चियो । धेरैबेर फेसबुकको तापक्रम बढिरह्यो । विशेषगरी इजरायलमा श्रम बेचिरहेका दिदीबहिनीहरूले खरो प्रतिकार गरे । आपत्ति जनाएलगत्तै लेखकलाई चुनौती दिँदै जवाफ र प्रतिप्रश्नका आलेख छापिए । इजरायलबाट सञ्चालित एउटा अनलाइन पत्रिकाले प्रकाशित गरेको इजरायलमा रहेका महिलाहरूलाई मलेसियामा कार्यरत युवकले गरेको दुव्र्यवहारको नालीबेली शीर्षकमा थियो सम्बन्धित समाचार । मलेसियामा कार्यरत एक नेपाली युवकले इजरायलका श्रमजीवि महिलाहरूलाई फेसबुकमार्फत अश्लील गालीगलौज, धाकधम्की लगाएका कुरा छन्, समाचारमा । इजरायलका नेपाली दिदीबहिनीहरूलाई आघात पु¥याउने गरी जुन काम भयो त्यो भत्र्सनायोग्य छ । एउटी महिला प्रवासमा छ भन्दैमा र अलिक राम्रो अर्थोपार्जन गर्छे भन्दैमा त्यसको अर्थ गलत कदापि हुन सक्दैन, किनभने पुरुषहरूले राम्रो आयआर्जन गरेमा ऊ गलत हुँदैन ? उसको काम गलत हुन सक्दैन ? यही नारीमाथिको चरम शोषण हो । यदि नेपालमा कानुन छ र पीडितले न्याय पाउँछ भने यी पनि पक्कै साइबर क्राइमअन्तर्गत खोरमा दाखिला हुनुपर्नेछ । (यो पूर्ण नभई लेखांश मात्रै हो, पूरा सम्बन्धित साइटमा उपलब्ध छ) ।
यी केही प्रतिनिधि घटनाहरूले के प्रस्ट गर्दछन् भने सूचना र सञ्चार प्रविधिको दुरूपयोग गर्दै अनलाइनमार्फत महिलामाथि दुव्र्यवहार, हिंसा र गालीगलौज गर्ने कुप्रवृत्ति नेपालमा पनि भित्रिइसकेको छ । केवल संख्यात्मक रूपमा यसको अवस्था के छ भनेर अध्ययन हुन सकेको छैन ।
यस्ता खाले अनलाइन दुव्र्यवहार, धम्की र गालीगलौजपूर्ण भाषा तथा शब्दावलीको प्रयोगले महिला समुदायमाथि दुईखाले हिंसा भइरहेको छ । पहिलो, यस कारणबाट महिलाहरू यस्ता नवीनतम प्रविधि र मिडियालाई प्रयोग गर्ने कुरामा निरुत्साहित हुँदै जान थालेका छन् जसबाट उनीहरूको सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रतासमेत खोसिएको छ । दोस्रो, यसले यथार्थमै महिलाविरुद्ध हिंसालाई बढाउने काम गरिरहेको छ । अनलाइनमा धम्की दिइएका, आरोपित वा चरित्रहत्या गरिएका वा दुव्र्यवहारमा परेका महिला कतिपयले आत्महत्या गर्न पुग्छन् त कति समाजमा अनुहार लुकाएर हिँड्न बाध्य छन् ।
आइटी र सामाजिक मिडियाको यस्तो दुरूपयोगबाट महिलाको अभिव्यक्ति स्वतन्त्रता हनन् भएको र महिलामाथि पर्न गएको नकारात्मक प्रभावतिर अब विश्वको ध्यान तानिइसकेको छ । विश्व महिला आन्दोलन र मानवअधिकार आन्दोलनले प्रविधि आधारित महिलाविरुद्ध हिंसालाई एउटा प्रमुख सरोकारको क्षेत्रको रूपमा स्वीकार गर्न थालेको छ । सन् २०१३ मा भएको संयुक्त राष्ट्र संघको महिलाको मर्यादास्तरसम्बन्धी आयोगको ५७ औँ बैठकले भनेको छ– सूचना र सञ्चार प्रविधि तथा सोसल मिडियाको विकास तथा प्रयोग महिला र बालिकाहरूको सशक्तीकरणका लागि एउटा राम्रो माध्यम हो । त्यस्तै महिला र बालिकाविरुद्धको हिंसा सम्बोधन गर्न र रोकथामका लागि पनि सूचनामा पहुँच उत्तिकै महत्वपूर्ण छ । साथै महिलाविरुद्ध हिंसा फैलाउनका लागि सूचना र सञ्चार प्रविधि तथा सोसल मिडियाको प्रयोग, यौन दुव्र्यवहार, यौन शोषण, बाल पोर्नोग्राफी, महिला र बालिकाको बेचविखन तथा महिला एवं बालिकाहरूको सुरक्षामा आँच पु¥याउने अथदभच कतबपिष्लन, अथदभच दगििथष्लन तथा गोपनियताको हनन् जस्ता हिंसाका उदीयमान स्वरूपहरूको अन्त्य गर्न प्रभावकारी संयन्त्रहरूको विकास गर्ने कुरामा सहयोग आवश्यक रहेको बताएको छ । यसरी यो विषय लैंगिक समानतासम्बन्धी बहसमा संयुक्त राष्ट्र संघको प्राथमिकतामा पर्न सुरु भइसकेको छ । सोही आयोगको ५८ औँ र ५९ औँ बैठकमा पनि यस विषयमा गम्भीरपूर्वक बहसले निरन्तरता पाएको छ ।
हालै मात्र (सन् २०१५ मार्च ९–२०) सम्म न्यूयोर्कमा सम्पन्न आयोगको ५९ औँ बैठकले बेइजिङ घोषणापत्र र कार्ययोजनाको कार्यान्वयनको बीस वर्षको समीक्षा गरेको थियो । त्यस बैठकबाट पारित महत्वपूर्ण दस्तावेज राजनीतिक घोषणामा पनि लैंगिक समानताका लागि महिला र सञ्चारलाई निरन्तर सरोकारको क्षेत्र मान्दै सूचना तथा सञ्चार प्रविधिमा महिलाको पहुँच र उपयोगलाई सुनिश्चित गर्न थप पहल गर्नुपर्नेमा जोड दिएको छ (महिलाको मर्यादास्तरसम्बन्धी आयोगको ५९ औँ बैठकद्वारा पारित राजनीतिक घोषणा) ।
अर्कातिर अनलाइन वा सामाजिक मिडियालाई उत्तरदायी बनाउने महिला अधिकारकर्मीहरूको जमर्कोको अर्र्कोे एउटा उदाहरण फेसबुकसँग सम्बन्धित छ । सन् २०१३ को मे महिनामा महिलावादी र महिला अधिकारकर्मीहरूले फेसबुकमा महिलाविरुद्ध हिंसाको अन्त्यका लागि एउटा अभियान नै चलाएका थिए । उनीहरूले फेसबुकलाई बलात्कार र घरेलु हिंसा जस्ता विषयलाई उठाउने यसको तरिकालाई तुरुन्त सम्बोधन गर्न आह्वान गर्नुका साथै फेसबुकका विज्ञापनदाताहरूलाई लैंगिक आधारमा हुने गालीगलौजलाई आप्mनो साइटमा बन्द नगरेसम्म विज्ञापन रोकिदिन आग्रह गरे । यो अभियान यति सफल भयो कि एक हप्ताभित्रै फेसबुकले अभियानकर्ताहरूसँग भेट ग¥यो र आफ्नो मञ्चबाट लैंगिक आधारमा हुने हिंसाका विषयवस्तु हटाउने उनीहरूको मागलाई सम्बोधन गर्ने बतायो । तर, अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले कसैको पनि अभिव्यक्तिलाई, चाहे त्यो गालीगलौज नै किन नहोस्, सेन्सर लगाउने काम फेसबुकको होइन भनेर तर्क अघि सारे । यस्तो विवाद बढ्दैै गएपछि अन्ततः फेसबुकले आफ्ना भइरहेका नियमलाई नै राम्रोसँग कार्यान्वयन गर्ने कुरा स्वीकार ग¥यो ।
यी सबै तथ्यले के प्रस्ट गर्छ भने अन्य समुदायसँगै महिलामाथि हुने हिंसामा अनलाइन दुव्र्यवहार, धम्की र गालीगलौजको प्रवृत्ति विश्वव्यापी रूपमा बढिरहेको छ । यस्ता अनलाइन दुव्र्यवहार र अनलाइन हिंसाहरू रोक्नमा राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरू जति महत्वपूर्ण हुन्छन्, इन्टरनेट सञ्चालक वा मध्यस्थकर्ता (क्ष्लतभचलभत ष्लतभचmभमष्बचष्भक० हरू पनि त्यतिकै निर्णायक हुन सक्छन् । तर, उनीहरूमा विद्यमान लैंगिक विभेदपूर्ण सोच र अनलाइन हिंसा तथा अभिव्यक्ति स्वतन्त्रताबीचको द्वन्द्वले उनीहरू यस्तो भूमिका निर्वाह गर्ने मामिलामा सचेत छैनन् । इन्टरनेट मध्यस्थकर्ताहरू अनलाइन हिंसाले वास्तवमै व्यक्तिको जीवनमा प्रभाव पारिरहेका हुन्छ भन्ने तथ्य स्वीकार गर्न र यसलाई सच्याउन तयार छैनन् । प्रविधि आधारित महिलाविरुद्ध हिंसालाई सम्बोधन गर्ने कुरा गरिरहँदा धेरै अप्ठ्यारा विद्यमान छन् । जस्तो इन्टरनेटको सञ्चालन सम्बन्धमा रहेको अस्पष्टता, जवाफदेहिता र जिम्मेवारी जस्ता पक्ष सुल्झाउन सजिलो छैन ।
पहिलो कुरा, प्रविधि आधारित महिलाविरुद्ध हिंसालाई प्रवर्धन गर्ने अभिव्यक्तिहरू गालीगलौजका स्तरका होइनन् भन्ने इन्टरनेट मध्यस्थकर्ताहरूको मान्यता छ । दोस्रो, अनलाइन दुव्र्यवहार भनेको वास्तविक हिंसाको स्तरको हुँदैन भनेर त्यसको प्रभाव तथा परिणामलाई कम आँक्ने पनि गरिएको छ । महिलालाई हेपेर प्रयोग गरिने भाषा शब्दहरू हिंसाका वास्तविक धम्की होइनन् भन्ने ठानिन्छ । तर, यो उनीहरूको बुझाइमा रहेको कमजोरी हो, किनकि अनलाइनको बढ्दो प्रयोग र प्रभावले यसमा अभिव्यक्त हुने कुनै व्यक्ति वा समुदायसँग सम्बन्धित सामग्रीहरूले उक्त व्यक्तिको सामाजिक प्रतिष्ठा र मनोविज्ञानमा ठूलो असर पार्दछ भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरेका छन् । सामान्यतया इन्टरनेट मध्यस्थकर्ताहरूले यस्तो सोच राखेका भए पनि अनलाइनमार्फत गरिने हिंसा र अपराधलाई रोक्न राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा विभिन्न कानुनी संयन्त्र बनाइएका छन् ।
(विश्व प्रेस स्वतन्त्रता दिवस २०१५ को सन्दर्भमा युनेस्को, काठमाडौं अफिस र सेन्टर फर मिडिया फ्रिडमको आयोजनामा सन् २०१५ जुन २९ मा काठमाडौंमा आयोजित ‘इन्डिपेन्डेन्ट जर्नालिजम, जेन्डर इक्वालिटी एन्ड मिडिया सेफ्टी इन द डिजिटल एज’ विषयक राष्ट्रिय सेमिनारमा मञ्जु थापाद्वारा प्रस्तुत ‘लैंगिक समानता र पत्रकार महिलाको सुरक्षा’ शीर्षकको कार्यपत्रबाट सम्पादित अंश ।)

प्रतिक्रिया