वैद्यबा भन्छन्, ‘मान्छे बचाउन घाट चलाउँछु’

g-baidhaजीवनको अन्तिम पल बिताउन आर्यघाट आइपुगेका सिन्धुपाल्चोकका ८७ वर्षीय रामप्रसाद आचार्य आर्यघाटबाट फेरि नया जीवन पाएर घर फर्केका छन् । उपचार गर्दा गर्दै काठमाडौंको घर सिद्धिए पनि आचार्य ठीक भने भएनन् । शिक्षण अस्पतालमा उपचार गर्दा–गर्दा थकित आचार्यलाई अस्पतालले अब घर लैजाउ भनेपछि उनलाई आर्यघाट ल्याइएको थियो । तर, आर्यघाट उनका लागि जीवन दिने नयाँ माध्यम भयो । आर्यघाटमा त्यहीँका ‘घाटे वैद्य’ ले उपचार गरिदिएपछि उनी फेरि सकुशल भए र नया जीवन उमंगका साथ घर फर्किएका छन् ।
पहिले–पहिले जीवनका अन्तिम पल विताउन आर्यघाट आउनेहरू हिजोआज बरु महिनाको १९/२० जना स्वस्थ भएर फर्कने गरेका छन् । आर्यघाटमा अस्पतालमा दिने सबै सुविधा दिन थालिएपछि यसरी जीवनको अन्तिम घडी बिताउन आएकाहरू फेरि नया जीवन पाएर फर्कने गरेका हुन् । यसरी नया“ जीवन पाउनेमध्ये आचार्य पनि एक हुन् । उनले अस्पतालमा उपचार गराएर अब बाँच्न सम्भव छैन भनेपछि उनलाई आर्यघाट ल्याइएको थियो ।
आर्यघाट सेवा समितिका व्यवस्थापक तथा पशुपतिनाथ स्वास्थ सेवा पुनस्र्थापना केन्द्रका अध्यक्ष सुवर्ण वैद्य भन्छन्, ‘पहिले एक सयमा एक वा दुईजना फर्कन्थे भने अहिले महिनामा २० जनाभन्दा बढी फर्कन थालेका छन् । यो मेरो जीवनको उपलब्धि हो ।’ पहिलेको जमानामा आर्यघाट पुगेपछि मान्छे फर्कन्न भन्ने धारणा यसरी मान्छे फर्केपछि गलत सावित भएको छ । यसरी आर्यघाटको धारणालाई गलत सावित पार्नेमा सिन्धुपाल्चोकका आचार्य पनि एक हुन् ।
गत चैतमा ३२ जना बिरामी आर्यघाटमा जीवनका अन्तिम पल बिताउन आएका थिए । यसमध्ये २१ जनालाई फिर्ता पठाइएको थियो । आर्यघाटमा प्रायः टिचिङ र काठमाडां मेडिकल कलेजबाट बिरामी आउने गरेका छन् ।
घाटे वैद्यको रूपमा आफ्नो कार्यभार चलाइरहेका वैद्यबालाई २०५२ सालमा शव जलेको हेरिरहँदा मनमा एउटा प्रश्नले जन्म लिएको थियो । उनले सोचेछन्, ‘हे भगवान् ! के हामीले ब्रम्हनालमा पुगेको मान्छे मात्र हेर्ने ? किन ब्रम्हनालमा पुग्यो ? के त्यसको जीवनको अन्तिम पल यही हो ?’
वैद्य भन्छन्, ‘झाडा लागेको मान्छेलाई पनि आर्यघाट ल्याउने परम्परा थियो ।’ तर, त्यस्ता बिरामीलाई उपचार मूलो गरी घर फर्काउन थाले उनले । आफ्नो पुर्खादेखि चल्दै आएको पेसालाई उनले परिवर्तन गरी मर्न आएकालाई नयाँ जीवनका साथ घर फर्काउन थाले । उनी भन्छन्, ‘अरू जीवन चलाउँछन्, म मान्छे बचाउन घाट चलाउँछु ।’ वैद्य भए पनि डाक्टरसँग मिलेर जानुपर्छ भन्ने सोच उनमा छ । कतिपय रोग यस्ता हुन्छन् जसलाई डाक्टरको पनि आवश्यकता हुन्छ । आर्यघाटमा आउने बिरामीहरूलाई पनि डाक्टरको आवश्यकता पर्छ । उनीहरूलाई उपचार गर्न सके उनीहरू यस भूमिमा अझ केही समय बिताउन सक्छन् ।
यसरी आर्यघाटबाट बिरामी घर फर्कन थालेपछि अध्यक्ष वैद्यको मनमा उनीहरूलाई स्वास्थ्य सेवा दिन सके उनीहरूको जीवन थप केही समय यो संसारमा बस्न पाउला भन्ने सोच पलायो । अनि उनले यस्ता बिरामीका लागि एउटा पुनस्र्थापना केन्द्र खोल्ने लक्ष्य राखे । अध्यक्ष वैद्य भन्छन्, ‘राम्रो सोचे राम्रै हुन्छ । पशुपतिनाथको आशीर्वाद छ, अरूको पनि आशीर्वादले केन्द्र खोल्न सफल भएँ ।’
आर्यघाटबाट फर्केका बिरामीका लागि उनले यो केन्द्र खोलेका हुन् । त्यसैले उनले यो संस्थालाई ‘पुनस्र्थापना केन्द्र’ भनेर नामाकरण गरे । यस केन्द्रमा आउने हरेक बिरामीलाई उनले सित्तैमा सेवा दिने गरेका छन् । घरको जस्तो वातावरण होस् भनेर उनले केन्द्रलाई घरकै रूप दिने कोसिस पनि गरेका छन् । घरकै जस्तो माहोल बनाउन उनले त्यहाँ सबै घरकै जस्तो सामानसम्म राखेका छन् । वैद्य भन्छन्, ‘डाक्टर वा वैद्य ठूलो होइन, बिरामी ठूलो हो ।’ त्यसैले उनले आफ्नो उद्देश्य नै ‘जसरी हुन्छ, बिरामीलाई निको बनाएर घर पठाउने’ राखेका छन् ।
आर्यघाटमा आउने प्रायः बिरामी अस्पतालबाट आउने गरेका छन् । डाक्टरले अब उपचार हुँदैन, अब घर लानु भनेपछि बिरामी ल्याउने गरिन्छ । त्यस्तै कतिपयले आर्थिक कठिनाइका कारण पनि बिरामीलाई आर्यघाट ल्याउने गरेका छन् । उपचार गर्ने अवस्था नभएपछि आर्यघाटमा बिरामी ल्याउने गरेको वैद्य बताउँछन् । तर, आर्यघाटमा आएका बिरामीको पीडा बुझेका वैद्यलाई बिरामी बचाउने इच्छा जाग्यो र क्रमशः उनले पुनस्र्थापना केन्द्र खोले । आर्यघाटमा बस्दा बिरामी मानसिक रूपमै विक्षिप्त हुने हुनाले अलि संवेदनशील अवस्थाका बिरामीलाई यस केन्द्रमा राख्ने गरेको उनी बताउँछन् ।
४२ वर्षीया गायत्री योगी विगत एक महिनादेखि केन्द्रमा छिन् । पाठेघरमा ट्युमर पलाएपछि उनलाई बाँच्ने आशासम्म मरिसकेको थियो । थापाथलीमा ‘बेड खाली छैन, घर जानु’ भनेपछि उनी बिचल्लीमा परेकी थिइन् । उनले जसोतसो ट्युमरको अपरेसन त गरिन् तर अस्पतालले डिस्चार्ज गरेपछि कहाँ जाने भन्ने अन्यौल भयो । ‘यस्तो अवस्थामा मेरा लागि यो पुनस्र्थापना केन्द्र वरदान सावित भएको छ,’ उनी बताउँछिन् । एक महिनादेखि घरकै जस्तो वातावरणमा केन्द्रमा बसेको उनी बताउँछिन् ।
सबैलाई निःशुल्क सेवा दिने यस केन्द्रमा आर्थिक अभावका कारण डाक्टरलाई नियुक्ति गर्न नसकेको वैद्य बताउँछन् । केन्द्रमा एक्सरे, इको, इसिजी जस्ता कुनै पनि सुविधा दिन नसकेकोमा उनलाई दुःख छ । रगत जचाउने सुविधा मात्र छ अहिले केन्द्रमा । विशेषगरी अस्पतालमा खर्च गर्न नसक्नेका लागि यस केन्द्रमा उपचार सम्भव होस् भन्ने उनको विचार हो । आर्थिक अभावका कारण उपचार गर्न नसकेका कतिपय बिरामीका लागि पनि यो केन्द्र उपयुक्त हुने उनले अपेक्षा राखेका छन् । उनी भन्छन्, ‘तर सबै उपचार सित्तैमा भनेपछि अलि धेरै हेलचेक्र्याइँ हुने रहेछ । त्यसैले एकदम कम शुल्क लिने विचार गरेको छु ।’
उनले केन्द्रलाई एउटा अस्पतालकै रूपमा परिणत गर्ने सोच बनाएका छन् । त्यसका लागि एम्बुलेन्सको अति आवश्यकता भएको उनी बताउँछन् । वैद्यको अहिले एउटै सपना छ– आर्यघाटलाई नारायण शब्दको रूप दिने । आर्यघाटमा मान्छे मर्न होइन, नयाँ जीवन पाउन पनि आओस् भन्ने हेत्ले नै उनले पुनस्र्थापना केन्द्र खोलेका हुन् । आर्यघाट (जहाँ मानिस जीवनको अन्तिम समय बिताउन आउँछन्ल्या/इन्छन्) मा आइसकेपछि नयाँ आशा र नयाँ जीवन पाएर उमंगका साथ घर फर्कने वातावरण बनोस् ! त्यही वातावरण तयार पार्ने कोसिस गर्दैछन्, वैद्यबा ।

– सरला बैजु

प्रतिक्रिया