प्राध्यापनसँगै अर्गानिक खेती

arg‘अहो, भाइ नमस्ते ! लौन यो दुई मुठ्ठी प्याज किनिदिनुप-यो !’ बजारमा भेटिएका दिक्तेल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामप्रसाद राई भन्दै थिए । आफैंले बारीमा उत्पादन गरेको तरकारी झोलामा बिक्री गर्दै आएका राई आप्ना विद्यार्थीलाई यस्तो आग्रह गरिरहेका हुन्छन्, अक्सर । बिहान कलेजमा प्राध्यापन गर्ने, दिउँसो स्थानीय दिक्तेल आवासीय अंग्रेजी उच्चमाविमा पढाउने राई त्यसबाट बचेको समयमा आपूले उत्पादन गरेको अर्गानिक तरकारी बजारमा बिक्री गर्न हिच्किचाउँदैनन् ।
राईसहित कलेजका पाँचजना प्राध्यापक मिलेर कृषि फर्म सञ्चालन गरिरहेका छन् । विभिन्न विषयमा प्राध्यापन गर्ने उनीहरूले कृषि विषय पढेका छैनन् । मावि तहमा कृषि विषय पढेका प्राध्यापक कृष्णकुमार राईबाहेक अरूका लागि यो नौलो विषय हो । तर, उनीहरूमा जोस छ, जाँगर छ अनि आशा र विश्वास पनि छ– एक दिन सबै शिक्षित युवाहरूले कृषि पेसालाई हेयको दृष्टिले हेर्न छाड्नेछन् । ‘पढे–लेखेकाले हलो कोदालो गर्नु हुन्न’ भन्ने युवा पिँढीमा व्याप्त अनावश्यक फत्तुर झर्नेछ र कृषि व्यवसाय सम्मानित र व्यवस्थित हुनेछ– यही विश्वासका साथ हलो कोदालो गरिरहेछन्, पाँच प्राध्यापक ।
प्राध्यापकहरूको टोलीले खोटाङ जिल्लाको बाम्राङमा ‘नमुना’ नामक कृषि फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गरेका हुन् । ‘परीश्रम गर्नु हाम्रो दायित्व पनि होे,’ प्राध्यापक राईले भने, ‘यो माटोप्रति सम्मान गर्ने हाम्रो कोसिस हो ।’
स्थानीय चूडाबहादुर कार्कीको ६ रोपनी जमिन वार्षिक ३० हजार रुपैयाँ भाडामा लिएर सुरु गरेको फर्ममा उनीहरूले गोलभेँडा, काउली, बन्दा लगाउने र माछा, बंगुर तथा कुखुरापालन व्यवसाय गर्न लागेका छन् । पाँच वर्षका लागि जग्गा भाडामा लिएका उनीहरूले हाल २५ वटा बंगुर, ६ सय बोट गोलभेँडा, दुईवटा माछा पोखरी, कुखुरा खोरलगायत निर्माण गरी उत्पादन सुरु गरेका छन् ।
फुर्सदको समयमा गफ गरेर बिताउनुभन्दा उत्पादनमुखी काममा लाग्दा आनन्द हुने भएकाले यस्तो अभियान सुरु गरिएको अभियानका सदस्य तथा कलेजका व्यवस्थापन विषयका प्राध्यापक हर्कवीर राई बताउँछन् । उनीहरूलाई सुरुमा काम गर्न अलि समस्या भयो । पहिले काम गरेको भए पनि बानी छुटेकाले जीउ सधाउन मुस्किल भएको उनको अनुभव छ । तर, पछि सबै मिलेर काम गर्नुमा छुट्टै आनन्द भएको उनले सुनाए । ‘गरे के हुन्न ? आखिर पढाउने कामबाहेक बाँकी समयलाई हामीले सदुपयोग गरेका छौँ,’ उनले भने ।
उनीजस्तै काममा व्यस्त रहेका कलेजकै व्यवस्थापन विषयका अर्का प्राध्यापक राजमणि राईले खेतीलाई सिकाइको रूपमा लिएको बताए । सानो उमेरमा खेती किसानमा त्यति ध्यान नदिई पढ्ने कुरामा लागेको बताउने राजमणिले कृषक बन्नुको मजा नै बेग्लै रहेको बताए । हरेक मानिसले पसिनासँग साटेको उत्पादन उपभोग गर्न सिके सामाजिक विकृतिमै कमी आउने उनको तर्क छ ।
आधुनिक जमानामा गरिने मर्निङवाकको साटो हातमा ठेला उठाउँदै निधारमा पसिना काडेर काम गरेपछि शारीरिक व्यायमको आवश्यकता नपर्ने अर्का प्राध्यापक रविन सुनुवार बताउँछन् । उनले भने, ‘हामी शिक्षक तथा प्राध्यापकहरू सामाजिक रूपमा सबैले हेर्दा ‘पढेलेखेको राम्रो मान्छे जसले सबैलाई नयाँ कुरा सिकाउँछ’ भन्ने मान्यता रहेको छ । तर, हामी भने किसानजस्तो गरी परीश्रम गर्न लजाउने हो भने समाजले हामीबाट के सिक्ने ?’ पढेलेखेको मान्छेले खन्न, जोत्न हुन्न भनेर बेरोजगार भएर बसेका युवालाई पढेलेखेकाले पनि काम गर्दा हुन्छ भन्ने सिकाउन यो कृषि फर्म सञ्चालन गरेको उनको भनाइ छ । दिक्तेलस्थित दिक्तेल आवासीय अंग्रेजी उच्चमाविका प्रिन्सिपलसमेत रहेका अंग्रेजी विषयका प्राध्यापक कृष्णकुमार राई भने व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न यो व्यवसाय सुरु गरेको बताउँछन् । उनले अन्य पेसाजस्तै कृषिलाई पनि व्यवस्थित बनाउन सकिने बताए । उनले भने, ‘गाउँ–गाउँमा माटो सुहाँउदो उत्पादन गर्नसके जिल्लाको समृद्धि यसैमा जोडिन सक्ने थियो ।’
अहिले उत्पादनमा खास समस्या नभए पनि बजारको व्यवस्थापनमा भने समस्या आउन सक्ने उनको बुझाइ छ । यसका लागि सडक यातायात निरन्तर सञ्चालन हुनुपर्ने उनलाई लागेको छ । जिल्ला कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघलगायतका संघसंस्थाले पनि कृषिलाई व्यावसायिक बनाउन ध्यान दिनैपर्ने उनको सुझाव छ ।
व्यावसायिक खेतीमा लागेका पाँचजना प्राध्यापक बिहान कलेजमा प्राध्यापन गर्छन् । यीमध्येका रविन सुनुवार स्थानीय श्रीमावि बाँसबोटेका शिक्षक हुन् भने अरू सबैजना दिक्तेलस्थित दिक्तेल आवासीय अंग्रेजी उच्चमाविमा प्राध्यापन गर्छन् ।

– भीम राई

प्रतिक्रिया