लामो समयदेखि मिडियाको क्षेत्रमा सक्रीय व्यक्तित्व हुन्, मञ्जु थापा । बितेका दुई दशकभन्दा लामो समय (वि.सं. २०४७ देखि यता) पत्रकारिता, लेखन, सम्पादन, अनुसन्धान, प्रशिक्षण र सञ्चार–विश्लेषणको क्षेत्रमा निरन्तर सक्रीय रहँदै आएकी उनी पछिल्ला दिनमा प्रभावशाली मिडिया विश्लेषकको रूपमा परिचित हुँदै आएकी छन् । लैंगिक समानताको पक्षमा लेखिएका उनका लेख बेला–बेलामा पढ्न पाइन्छ । नेपाली मिडियामा भएका र उनले देखेको अवस्था लंैंगिक दृष्टिकोणबाट अहिले पनि सन्तोष गर्ने अवस्थामा छैन । नेपाली समाजमा महिला मिडियाकर्मी र उनीहरूले काम गर्ने संस्थाको अवस्थाका बारेमा उनको बुझाइबारे सौर्य दैनिकसँग भएको संवाद :
मिडिया विश्लेषक मञ्जु थापाको नजरमा सञ्चारमाध्यममा काम गर्ने महिलाको संख्या केही वर्ष अघिसम्म अत्यन्तै न्यून थियो । नेपालमा आएको सामाजिक र राजनीतिक परिवर्तनसँगै जसरी मिडियाको संख्यामा वृद्धि भयो, नेपाली मिडियामा महिलाको संख्या पनि बढ्को उनको बुझाइ छ । तर, सञ्चारमाध्यममा भएको विकासको तुलनामा महिला सञ्चारकर्मीको संख्यामा वृद्धि हुन नसकेकोमा भने उनी सन्तुष्ट छैनन् । ०४६ को परिवर्तनसँगै नेपालमा सञ्चार गृह निकै बढेको थापाको भनाइ छ । सबैले चिन्ने र सम्मान गर्ने पेसा भन्दै मिडियामा काम गर्ने महिलाको संख्या बढे पनि बढ्नुपर्ने जति नबढेको उनको ठहर छ ।
मिडियामा काम गर्नुभन्दा त्यसको विश्लेषण गर्नु गहन कुरा हो । थापाले गरेको विश्लेषणअनुसार सन् १९९५ मा भएको बेइजिङ सम्मेलनपछि महिलाका क्षेत्रमा धेरै विकास र उपलब्धि भएका छन् । यो बीस वर्षमा नेपाली महिलाको विकासको गतिले पनि धेरै फड्को मारेको छ । बेइजिङ सम्मेलनपछिका दिनमा नेपाली महिलाको विकासको क्षेत्रमध्ये मिडिया पनि एक हो । उनी भन्छिन्, ‘बेइजिङ सम्मेलनले बीस वर्ष पार ग-यो । त्यसयता विश्वमा आएको परिवर्तनसँगै नेपालमा भएका परिवर्तनहरूले नेपाली महिलाको जीवनमा पनि धेरै परिवर्तन ल्याएका छन् । यो अवधिमा लैंगिक दृष्टिकोणबाट सञ्चारमाध्यमलाई हेर्ने हो भने संख्यात्मक रूपमा धेरै परिवर्तन भयो । तर, गुणको आधारमा हेर्ने हो भने अपेक्षा गरेअनुसार परिवर्तन भएको छैन । अझ धेरै परिवर्तन हुन बाँकी छ ।’
नेपालको सन्दर्भमा मिडिया विश्लेषण गर्ने महिला निकै कम देखिन्छन् । थापाले लामो समयदेखि आफूलाई लेखन कार्यमा सक्रिय बनाएकी छन् । उनले अनेक समस्याको सामना गरेर पनि चलिरहेका सञ्चार गृहहरूको अवस्था र त्यसमा महिला पत्रकारको स्थानका बारेमा गहन विश्लेषण गर्दै आएकी छन् ।
लैंगिक समानताको क्षेत्रमा लेखिएका थापाका लेख बेला–बेला पढ्न पाइन्छ । नेपालको परिवर्तनका आन्दोलनहरूमा सधैँ सहभागी हुने उनी पछिल्लो समय अधिकारकर्मी एवं सञ्चार विश्लेषकका रूपमा चिनिन्छिन् । ‘मैले सन् १९९५ को बेइजिङ सम्मेलन सम्पन्न हुनुभन्दा अघिदेखि नेपाली मिडियाका कन्टेन्ट अर्थात् विषय वस्तुलाई अनुगमन गर्न सुरु गरेकी हुँ । म आबद्ध संस्था ‘अस्मिता’ को प्रकाशन अस्मिता मासिकमा म हरेक अंकमा ‘सञ्चार निगरानी’ स्तम्भ लेख्ने गर्दथेँ जुन पछि अलग्गै ‘सञ्चारमा नियाल्दा महिला’ शीर्षकको पुस्तकका रूपमा पनि प्रकाशन भयो ।’ थापासँग सन्मा २००५, २०१० र २०१५ मा ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट (जिएमएमपी) का लागि नेपालको तर्फबाट संयोजक भएर काम गरेको अनुभव छ । केही समयअगाडि उनको संयोजनमा ‘नेपाली मिडियामा राजनीतिक समाचारमा लैंगिकता’ विषयक अनुसन्धान पनि सम्पन्न भएको थियो जसमा लगातार २१ दिन प्रकाशित, प्रसारित छापा–श्रव्य–दृश्य सञ्चारमाध्यमका सामग्रीबारे अध्ययन गरिएको थियो । नेपाली मिडियाको अनुगमन र अध्ययनहरूमा उनले देखिन्– मिडियाहरूमा जसरी लैंगिक समानता र महिला सशक्तीकरणलाई टेवा पु-याउने विषयवस्तु सम्प्रेषण हुनुपर्ने थियो, त्यसो भएको छैन । अध्ययनका आधारमा भन्न सकिन्छ, मिडियाको दृष्टि महिलामैत्री छैन । मिडियाका विषयवस्तु उत्पादन गर्ने पत्रकारको भूमिकामा महिलाको उपस्थिति पनि अत्यन्त कम छ भन्ने प्रस्ट भएको छ ।
बीस वर्षपहिला बेइजिङ सम्मेलन हुँदा विश्वभरका मिडियामा मात्र नभई नेपाली मिडियाका महिला र लैंगिकतासँग जोडिएका केही विशेष मुद्दाहरू उठेका थिए जुन अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छन्, थापालाई । त्यतिबेला मिडिया–सामग्री उत्पादन गर्ने काममा महिला र पुरुषको सहभागिता कस्तो छ ? महिला र पुरुष पत्रकारले के–कस्ता समाचार उत्पादन एवं सम्पादन गर्छन् ? मिडिया हाउसहरूमा महिला पत्रकारलाई काम गर्न महिलामैत्री वातावरण छ वा छैन ? जस्ता विषय उठेको थापाको भनाइ छ । मिडियाले महिला अधिकारका विषय र महिलाका सम्बन्धमा के–कस्तो चित्रण वा प्रस्तुती दिने गरेको छ ? जस्ता मुद्दा चर्को रूपमा उठ्थ्यो । उनी भन्छिन्, ‘यी मुद्दा आज पनि समाप्त भएका छैनन् ।’ उनको अध्ययनअनुसार अहिले पनि सञ्चार गृहहरू महिला सञ्चारकर्मी र उनीहरूको काम एवं सुरक्षाप्रति कति गम्भीर छन् वा महिला सहभागिता अभिवृद्धि गर्नका लागि कतिको जागरुक छन् भन्ने विषयमा बेला–बेलामा प्रश्न उठ्ने गरेको छ ।
मञ्जु थापाको विश्लेषणमा अहिले पनि कुनै घटना वा प्रक्रियाको आधारमा बनाइने समाचारमा महिलालाई कति प्राथमिकता दिने भन्ने प्रस्ट सोच र नीति छैन । आम सञ्चारमाध्यमले प्रस्तुत गर्ने विषयवस्तुमा एउटै घटनामा महिला वा पुरुषलाई कसरी चित्रण गर्ने भनेर प्रस्ट हुनुपर्ने उनको धारणा छ । महिलासँग जोडिएका संवेदनशील विषयवस्तुहरू जस्तै गर्भपतनको अधिकार, महिलाको सम्पत्तिमाथिको अधिकार, महिलाको राजनीतिक सहभागिताको अधिकार जस्ता कुरा महिलासँग प्रत्यक्ष सरोकारका विषय हुन्, जसलाई पहिलेको तुलनामा नेपाली मिडियाले अहिले बढी नैै स्थान दिने गरेको उनको तर्क छ । तर, आम विषय वा कुनै पनि सामाजिक र राष्ट्रिय महत्वको विषयमा महिलाहरूको विचार तथा दृष्टिकोणलाई कहाँ र कसरी समावेश गर्ने गरिन्छ, त्यसको आधारमा मिडिया लैंगिक रूपमा संवेदनशील छ कि छैन भनेर बुभ्न सकिने उनको अनुभव छ । अझै पनि महिलाको प्रत्यक्ष सरोकारका विषयबाहेक अन्य विषयमा महिलाको अनुभव, दृष्टिकोण र विचारलाई महत्वका साथ समाहित गर्ने परिपाटी विकास हुन सकेको छैन जुन मिडियाको लैंगिक मूलप्रवाहीकरणका लागि अत्यन्त आवश्यक छ भन्ने उनको विश्लेषण छ ।
मिडियाले आप्mना सामग्रीहरूद्वारा महिला वा पुरुषलाई के–कस्तो प्रभाव पा¥यो भन्ने विषयमा हुनुपर्ने जति बहस र चर्चा हुन नसकेको उनको विश्लेषण छ । पत्रकारले कुनै पनि विषय सम्प्रेषण गर्दा ती सामग्रीले दर्शक, श्रोता वा पाठक महिला पुरुषको निजी जीवन र सामाजिक पहिचानमा के–कस्तो प्रभाव पार्छ एकपटक गहन रूपमा सोच्नपर्ने उनको धारणा छ । हरेक विषयमा गम्भीर भएर मात्र आफ्ना सामग्री सम्प्रेषण गर्नुपर्ने उनको सुझाव छ । ‘यदि पत्रकारले विषय बाहिर लानुअगाडि गम्भीर भएर आफू अध्यन गर्ने र त्यसैको आधारमा विषय प्रस्तुत गर्नसके सञ्चारकर्मीको सामाजिक दायित्व पूरा गरेको ठहरिन्छ,’ पत्रकारिता पेसा वा व्यवसाय भनेको अन्य उद्योगधन्दा जस्तो होइन, प्रभावका हिसाबले यसको शक्ति अथाह छ भन्ने पत्रकार र मिडियाका मालिकहरूले बिर्सन नहुने उनको तर्क छ ।
थापाको विश्लेषणअनुसार मिडियामा महिलाको अकर्षण बढेको छ र त्यसैको अनुपातमा वृद्धि पनि भएको छ । नेपाली भाषाका मिडियाको तुलनामा अंग्रेजी भाषाका मिडियामा महिला सहभागिता बढी रहेको उनको अध्ययन छ । एफएम रेडियो र टेलिभिजनमा नेपाली भाषामा पनि महिलाको सहभागिता राम्रै छ । केही वर्षयता निजी क्षेत्रमा सञ्चार संस्था धेरै खुले । छापा, रेडियो एफएम, टेलिभिजनको संख्या ह्वात्तै बढ्यो । अझ पछिल्लो समय अनलाइनको संख्या भनिसाध्यै छैन । संख्याको हिसाबले सञ्चार गृह बढेको तुलनामा अपेक्षा गरेअनुसार महिलाको संख्या बढेको छैन । अहिले जति पनि महिला यो क्षेत्रमा छन् त्यो सन्तोष गर्न सकिने संख्या होइन । यसको कारण खोजिनुपर्ने उनको धारणा छ ।
सामाजिक जागरणसँगै नेपाली मिडियाले महिला अधिकार प्रवद्र्धन हुने विषयलाई बढी प्रथमिकता दिँदै आएको उनले गरेको पछिल्लो विश्लेषणको ठहर छ । उनको ठम्याइ छ, ‘महिलाको मुद्दा मिडियामा उठ्न थालेकोमा खुसी लाग्छ, सामाजिक रूपमा हुने कैयौँ महिला हिंसा र विभेद्का विरुद्ध मिडियाको रोल सकारात्मक रूपमा अगाडि बढ्दै छ । यो सकारात्मक कुरा हो ।’
‘केही वर्षपहिला महिलाका समाचार फाट्टफुट्ट मात्र आउँथे, अहिले बाक्लै आउँछन् । लेख, रचना जस्ता कुरामा पनि महिलाको संख्या बढेको छ । पछिल्ला वर्षहरूमा महिलाले महिलाको मात्र होइन सामाजिक र राजनीतिक मुद्दामा लेख्न र बहस गर्न थालेका छन् । तर, यसैलाई सन्तुष्टि मान्ने अवस्था छैन । हुँदैन पनि,’ उनी भन्छिन् ।
अहिले पनि महिलाका मुद्दा, विचार र दृष्टिकोण सहजै प्रमुख समाचार बन्ने नगरेको उनको धारणा छ, ‘मिडियाको मूलधारमा महिलाको कुरा आउँछ, तर धोरै मात्र । राजनीतिक वा सामाजिक कुरा आए भने त्यहाँ पुरुषको भनाइ वा दृष्टिकोण ‘कोट’ हुन्छ । महिलाको विचार दृष्टिकोण कम आउँछ । पहिलो कुरा महिलाको समाचार प्रमुख बन्दैन । दोस्रो कुरा महिलाको दृष्टिकोण आउँदैन । नेपाली समाजका प्रमुख समाचार राजनीतिक समाचार बन्छन् । नेताहरू धेरै पुरुष छन् । महिलाको भनाइ वा उनीहरूको दृटिकोणलाई आत्मसात् गर्न सक्ने अवस्था अहिले पनि छैन । महिलालाई ठाउँ दिने कुरामा सहजता छैन अहिले पनि ।’
मिडियामा महिलाका समस्या धेरै छन् । पहिलो कुरा सञ्चार संस्थाहरू कतिको महिलामैत्री छन्, त्यसको आधारमा त्यहाँ महिलाको भूमिका सहज अनुमान गर्न सकिने उनको ठहर छ । सामाजिक बनोटका कारण महिलाले काम गर्ने स्थानदेखि उसको बासस्थानसम्म महिला सुरक्षित पु-याउने काम सम्बन्धित संस्थाले गर्नुपर्ने उनको भनाइ छ । काममा विश्वास र क्षमतामा अभिवृद्धि गर्ने हो भने महिला आफैँ पनि प्रमुख (मेन) विषयमा काम गर्न तयार हुन सक्ने उनको अध्ययन र विश्लेषण छ ।
आफूले अनुभव गर्नु नपरे पनि थापाले सुनेकी छन्, ‘कैयौँ सञ्चार संस्थामा महिला र पुरुषलाई दिने सेवा सुविधामा एकरूपता छैन । अहिलेका सञ्चारकर्मी महिला चुनौतीपूर्ण काम गर्न चाहन्छन् । त्यसका लागि काम गर्ने संस्थाले वातावरण बनाइदिनुपर्छ ।
– चमिना भट्टराई
प्रतिक्रिया