कन्सलटेन्सीले धावा बोलेको जिन्दगी…

Anurag-Adhikari-2काठमाडौं, १२ असार । अक्करका अत्यासलाग्दा भीरमै राताम्मे लालीगुराँस फुल्छन् । हिलोको दलदलमै सुन्दर कमल मुस्काउँछ । अनि, कोइला खानिका अप्ठ्यारा कुनामै झल्झलाकार हीरा भेटिन्छ । प्रकृतिका यिनै सुन्दर संयोगले अविश्वासिला मानिएका मामुली ठाउँमै विश्वास जन्मिन्छ भनेर सिकाउँछ ।

सधैँ पीडा र दर्दले भरिएका आलाघाउ लिएर बाँच्ने सुकुम्बासी बस्तीमा जन्मिएको सम्भावनाको नाउँ थियो– अनुराग अधिकारी । प्रत्येकपल्ट कक्षा चढ्दा निधारमा रातो अबिर लगाई प्रथम भएर छोरो फर्किएको देखेर अनुरागका बुबा उसको काँधमा थप्थप्याएर भन्थे रे, ‘तँ हीरा होस् ।’

अनुराग जन्मँदै सुकुम्बासी बस्तीमा जन्मिएका थिए । कपिलवस्तु जिल्लाको बुद्धवाटिका नगरपालिकास्थित गोरुसिंगे भन्ने ठाउँको सुकुम्बासी बस्ती उनको जन्म गाउँ हो । ऊ आफैँ एउटा सुकुम्बासी । जन्मँदै आफूले अभाव देखेको बताउने अनुरागले चोटैचोटको छटपटीमा एकदिन इन्जिनियर बन्छु भनेर सपना देखे । ‘मेरोअघि अरू के नै थियो र ?,’ ती दिन सम्झँदै उनी भन्छन्, ‘आफैँमाथि विश्वास गर्नु र आफ्नो सपना पछ्याइरहनु नै मेरो एक मात्र विकल्प थियो ।’

आफ्नो छोराको काँध थप्थप्याएर अनुरागका बाबुले, ‘तँ हीरा होस्’ भनेर आफ्नो काँध थप्थप्याएको हिजोझैँ लाग्छ उनलाई । कहिल्यै खुसीले साथ नदिएको ठान्ने २६ वर्षीय अनुरागको थोरबहुत बचेको विश्वास पनि त्यो दिन क्षतविक्षत भयो जब अल्सरको उपचार गराउन इन्डिया गएका उनका बुबा फर्केर आएनन् । ‘बुबा इन्डियामै बित्नुभयो, अन्तिमपटक उहाँको मुख हेर्नसमेत पाइन,’ निक्कैबेर भावुक हुँदै उनले भने ।

बुबा बित्दा उनी दश कक्षा पढ्दै थिए । घरमा खुसी लुटिएकी विधवा आमा र नाबालक भाइलाई उनैले सम्हाल्नुपर्ने अवस्था आयो । आफ्नै उमेर कलिलो, भाग्यले ठूलो बज्रपात गरेको व्यथा सहेरफेरि उनले आफ्नो दुःखी परिवारमा खुसी फर्काउने अठोट गरे ।

विदेश गएर पढ्ने र पैसा कमाउने सोचेर उनी काठमाडौं आउँछन् । फेरि समस्या खर्चकै थियो । परिवारको नाममा जमिनको एक चोक्टो पनि थिएन ।

चण्डोलको ‘फुल ब्राइट एजुकेसनल इन्टरनेसनल विङ प्रालि’ नामक कन्सलटेन्सीमार्फत अस्ट्रेलियाको मेलबर्नस्थित ‘आइन्स्टाइन’ कलेज पढ्ने निर्णय गरे उनले । पढ्नका लागि ५ लाख ९० हजार लाग्ने बताए कन्सलटेन्सीका प्रोपाइटर धादिङ घर बताउने कुश्माप्रसाद घिमिरे (केपी घिमिरे) ले ।

त्यही कन्सलटेन्सी र घिमिरेको विश्वासमा परेर पटकपटक गरेर ५ लाख ४८ हजार बुझाए । र, अस्ट्रेलिया गएर आफ्नो सपना साकार हुने सोच्दै रमाउन थाले । जीवनम बज्रपात सहेका अनुराग त्यतिखेर स्तब्ध बने जब उनले सोँच्दै नसोँचेको अर्काे बज्रपात आइलाग्यो ।

उनलाई मीठामीठा सपना बाँडेर अस्ट्रेलिया पु¥याउने जिम्मा लिएको कन्सलटेन्सीको प्रोपाईटर घिमिरे श्रीमती र एक वर्षीया छोरी लिएर बेपत्ता भए ।

सँगसँगै उनका अध्ययनका सक्कली प्रमाणपत्रहरू पनि घिमिरेसँगै बेपत्ता भए ।

अब उनीसँग थियो नै के— परिवारको नाममा लालपुर्जासमेत नभएको सुकुम्बासी बस्तीको एउटा टिनले छाएको माटोको झुप्रो सिबाय ? कसलाई भन्ने ? के गर्ने उने केही सोच्नै सकेनन् ।

‘त्यसै दिन जीवनका सबै सम्भावना सकिएको ठानेँ,’ उनले भने । कन्सलटेन्सीको प्रोपाइटरले ठाउँ अपुग भएकाले कुमारीपाटी सर्नेसम्म जानकारी दिएको थियो ।

Bil-nepaliत्यसपछि फरार घिमिरेलाई खोज्न उनी अनेक ठाउँ चहारे । उनले कुमारीपाटीको प्रहरी कार्यालयलाई आफ्नो समस्या सुनाए । गहनापोखरी प्रहरीले कुमारीपाटीतर्फ औँला तेर्सायो । अब सबैथोक रित्तिएको अनुरागलाई राज्य पनि आफ्नो होइन जस्तै लाग्यो रे ।

फेरि पनि जिन्दगी त जिउनु नै थियो । त्यसै बेला उनको अनुनय विनयपश्चात् एक जना साथीका बुबा जमानी बसेर फाइनान्सबाट एक लाख ३० हजार झिकिदिए ।

उनले त्यो पैसाले आफ्नो केही ऋण तिरे । अरू ऋण अझै बाँकी छ । जम्माजम्मी ५ हजार तलब बुझ्ने अनुरागको फाइनान्सको मासिक ब्याज मात्रै ४७ सय हुन्थ्यो ।

बाबुले मर्नुअघि ‘अरूको कहिल्यै कुभलो नगरेस्’ भनेर छोडेको हस्तलिखित पत्रले कुबाटो लाग्नबाट रोकेको भन्छन् उनी । ‘रातभरि ऋणले सताउँछ, खण्डहर बनेको भविष्यले पोल्छ’, उनी भन्छन्, ‘त्यही पीडा बिर्सन म दैनिक रक्सि खान्छु ।’

स्कुलबाट उनी आजकाल सिधै भट्टीपसलमा जान्छन् । र, राति आठ बजे मात्र कोठा पुग्छन् । जीवनका सबै विकल्प सकिएको ठानेर एउटा नवजवान दैनिक भट्टी धाउँदै आफ्नो पीडा भुल्ने कोसिस गरिरहेको छ ।

‘सपनामा बुबा हँसिलो मुहार लिएर म छेउ आउनुहुन्छ’, मलिन अनुहार लगाएर उनी भन्छन्, ‘उसैगरी मेरो काँधमा थप्थप्याउँदै तँ हीरा होस् भन्नुहुन्छ ।’

ब्युझँदा न उनका बुबा त्यहाँ हुन्छन् न उनको हँसिलो अनुहार नै । बरु छेउको टेबलमा कन्सलटेन्सीले दिएको ५ लाख ४८ हजारको बिल हुन्छ । त्यही बिल देख्दा उनको छाती खपिनसक्नुभएर पोलिरहन्छ रे ।

प्रतिक्रिया