काठमाडौं, ९ असार । भूकम्पले तहसनहस बनाएका हनुमानढोका, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर र हनुमानढोका सग्रहालयको जीर्णोद्धार र पुनर्निर्माण कार्य कहिले सुरु हुने भन्ने अनिश्चित भएको छ । धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण हनुमानढोका, पाटन, भक्तपुर दरबार स्क्वायर र हनुमान ढोका दरबार सग्राहलय आर्थिक हिसाबले पनि निकै महत्वपूर्ण छन् । देशको केन्द्रमा रहेका यी सम्पदामा पर्यटक गाइड, होटल व्यवसाय र क्युरीयोका सामान मात्रै बेचेर गुजारा गर्नेको संख्या हजारौँ थियो । अहिले त्यो संख्या एकदुई जनामा सीमित भएको व्यावसायी बताउँछन् ।
नेपालको एकीकरणपश्चात् तात्कालीन राजा पृथ्वीनारायण शाहदेखि राजा महेन्द्रसम्मले हनुमानढोका परिसरबाट देशको शासन सञ्चालन गरेका थिए । त्यसभन्दा अगाडि पनि मल्ल राजाहरूले यहीँबाट शासन सञ्चालन गरे । यसरी विभिन्न समयका शासक वर्गले प्रयोग गरेका बहुमूल्य सामग्री रहनुका साथै विभिन्न कालखण्डमा बनाइएका सांस्कृतिक तथा ऐतिहासिक धरोहरले यी क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समाहित गरेको हो ।
भूकम्पका कारणले उक्त धरोहरसँगै भक्तपुर र पाटन दरबार स्क्वायरका भत्किएका सम्पदा पुनर्निर्माणको योजना नबन्दा हजारौँ मानिसको रोजगारी अनिश्चित भएको छ भने पर्यटकीय केन्द्रका रूपमा रहेका यी क्षेत्रले सिंगो पर्यटन व्यवसायमा पनि क्षति पुर्याएको छ । भूकम्प जानुभन्दा अगाडि हनुमानढोका दरबार स्क्वायर संग्रहालयभित्र मात्रै दैनिक ८ सय विदेशी र एक हजार स्वदेशीले भ्रमण गर्न आउने यस संग्रहालयमा हाल ८/१० जना मात्रै आउने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । अहिले चीन र थाइल्यान्डका पर्यटक मात्र फाटफुट आएको हनुमान ढोका दरबार स्क्वायर संग्रहालय विकास समितिकी अधिकृत मायादेवी अर्यालले जानकारी दिइन् । यसरी आँउदा विदेशीले हनुमानढोका परिसरमा मात्रै प्रवेश शुल्कबापत ७ सय ५० तिर्ने गथ्र्ये ।
दरबार स्क्वायर परिसर अहिले भग्नावशेषमा परिणत भएको छ । यी क्षेत्रमा पुनर्निर्माण गर्दा पुरातत्व विभाग, भवन निर्माणसम्बन्धी इन्जिनियर र विदेशी युनेस्कोको पनि प्रतिनिधि बसेर विस्तृत अध्ययन गरी योजना तय भएपछि मात्रै निर्माण कार्य अगाडि बढ्ने हुँदा कार्य सुरु हुन नसकेको विभागले जनाएको छ ।
यसरी पुनर्निर्माण अथवा जीर्णोद्धार जे गर्नुपर्ने हो गर्दा मौलिक स्वरूपलाई नबिगारी गर्नुपर्ने त्यस क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । हनुमानढोका परिसरमा क्युरियो पसल सञ्चालन गर्दै आएका उज्जवल बज्राचार्यले क्राफ्टका सामान बिक्री नभएर पानी बेचेर गुजारा चलाउनुपरेको बताए । दैनिक १० देखि १५ हजारको सामान बिक्री हुने ठाउँमा अहिले मात्र पाँच सयको बिक्री हुने गरेको बज्राचार्यले दुखेसो पोखे । तत्कालै यहाँको भग्नावशेष भत्काउन सम्भव नभए पनि पार्किङको अन्यत्र व्यवस्था मिलाउन सकेमा पनि केही सहज हुने बज्राचार्यले सुझाव दिए । टेन्ट र पालले खुचुमुचु भएको वसन्तपुर डबलीमा सुरक्षा व्यवस्था राम्रो नहँदा आमादिदीहरूको अस्मिता पनि जोखिममा रहेको उनले गुनासो गरे ।
प्रतिक्रिया