वैशाख १२ गते १२ बजेपछि पहिलोपटक बल्ल–बल्ल लागेको फोनमा बुबाबाट मैले सुनेको दुःखद् वाक्य धरहरा ढल्यो रे । पर्यटकीय नगरी पोखराबाट फर्किंदै गर्दा बाटोमा महाभूकम्पको अत्यासलाग्दो झड्काले मेरो मानसपटलमा धरहराको भाँचिएको स्वरूप चित्रण गर्न समय लागेको थिएन ।
भोलिपल्ट चार/पाँचजना मिली अत्यास लाग्दो काठमाडौं र ललितपुरका क्षतिग्रस्त स्थलमा पुग्यौँ । यसै क्रममा प्रकृतिले भत्काइदिएर ठुटो बनाइदिएको धरहरानजिक पनि पुग्यौँ । १९९१ जुद्ध शमशेर जबरा लेखेको धुलो झार्दै इँटा टिपँ, सोचेँँ यो पुरातात्विक महत्वका सामग्री सरकारले संरक्षण गर्न सक्ला कि नसक्ला ? केही दिनपछि समाचार माध्यममा नेपालकै सरकारी अधिकारीले धमाधम त्यहाँ भएका इँटा चोर्न थालेको खबर सुन्न र पढ्न पाइयो । ती इँटाको मूल्य अन्तर्राष्टिय बजारमा पाँच सय डलरसम्ममा बिक्री हुनसक्ने पनि सुनियो । यसमा सत्यता छ वा केवल यो हल्ला मात्रै हो भन्ने विषयमा छानबिन जरुरी छ ।
अहिले धरहरालगायत उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा परेका स्थानलगायत पुरातात्विक, धार्मिक र ऐतिहासिकस्थलको पुनर्निर्माण, शैली र प्रविधि कस्तो हुने भन्ने व्यापक बहसको विषय बनेको छ । सबैभन्दा बढी धरहरा पुनर्निर्माणको बहस सुरु भएको छ । धरहरा विभिन्न दातृ संस्था, गैसस, अन्तर्राष्ट्रिय गैसस, कम्पनी, फ्याक्ट्री, व्यक्तिहरूले बनाइदिने प्रस्ताव राखेका छन् ।
धरहराको इतिहास
पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा महारानी ललित त्रिपुरा सुन्दरी देविको सम्झनास्वरूप भिमसेन थापाले प्रधानमन्त्री भएको बेलामा निर्माण गरेका थिए ।
१९९० को भूकम्पले भत्काएर १२ तलाबाट धरहरा ९ तल्लामा सीमित गर्यो । जुद्ध शमशेरले १८८ मिटर (२०३ फिट) को धरहराको निर्माण गरे । दोस्रोपटक निर्माण भएको धरहरा अहिलेको जस्तो आधुनिकस्तरको निर्माण सामग्रीले नबने पनि त्यो बेलाको प्राचिन निर्माण सामग्री सुर्की, चुन, मास र चाकुको मिश्रणबाट बनाइएको थियो ।
धरहराको निर्माण मुगल शैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल युरोपेली शैलीमा निर्माण गरिएको थियो र टुप्पोमा गजुर रहेको धरहरा धार्मिक विविधता र सहिष्णुताको प्रतिकको रूपमा ठडिएको थियो ।
दोस्रोपटक निर्माण हुँदा खेरी राखिएको सातौँ तलामा डन्डीबाट निर्मित बार्दलीबाट देशमा सामाजिक तथा प्रशासनिक सूचना तथा जानकारी, भेला गराउनका लागि राणाकालीन समयमा यहाँबाट बिगुल बजाइन्थ्यो । बिगुल बजेको सुनेपछि जंगी निजामती कर्मचारीहरू टुँडिखेलमा जम्मा हुन अनिवार्य थियो ।
संसारका प्रख्यात पर्यटकीय गन्तव्यहरू फ्रान्सको आइफिल टावर, अमेरिकाको स्ट्याचु अफ लिबर्टी आदिको निर्माणसमेत धराहराभन्दा निकै पछि भएको थियो । धरहरा वैशाख १२ गतेको महाभूकम्पमा नढल्दासम्म आधुनिक आर्किटेकका लागि चुनौतीको विषय थियो ।
धरहरा पर्यटकीय गन्तव्यको रूपमा थियो कि थिएन र हुन्छ कि हुदैन ?
आज हामी आइफिल टावर, अमेरिकाको स्ट्याचु अफ लिबर्टी, लन्डनको बिग बेन ती स्थानमा घुम्न गएको खण्डमा पहिलो रोजाइमा पर्दछन् । तर, नेपालको धरहरा बाह्य पर्यटकका लागि कति महत्व र आकर्षको विषय हुन सक्थ्यो, त्यो आज आएर प्रमाणित भएको छ ।
नेपालका पर्यटन व्यवसायीले पर्यटक नेपाल आउँदा वा छोड्दा एक दिन उपत्यकामा अवस्थित सम्पदाहरूको भ्रमण गराउने गर्दथे । तर, मेरो २० वर्षको पर्यटन क्षेत्रको बुझाइ र अनुभवले यो देख्यो कि धरहरा कहिल्यै पनि बाह्य पर्यटकको प्राथमिकतामा पारिएन, प्याकेजमा म स्वयंले पारिनँ ।
पाटन दरबार स्क्वायरबाट फर्केर काठमाडौं दरबार स्क्वायर फर्कंदा होस् या जाँदा, हामीले धरहरालाई प्राथमिकता दिएनौँ । भन्ने गरिन्छ, नजिकको तीर्थ हेला, हो हामीले धरहरालाई विदेशीलाई देखाउन आवश्यक ठानेनौँ तर धरहराकै शैलीमा र करिब उस्तै उद्देश्यबाट निर्माण गरिएका विदेशी प्रचलित स्तम्भहरू (आइफिल टावर, स्ट्याचु अफ लिबर्टी, बिग बेन) त्यहाँ जाँदा हाम्रो पहिलो रोजाइमा पर्दछन् ।
जबकि भिमसेन थापाले अठारौँ शताब्दीको सुरुवातमा धरहरा निर्माण गरेको करिब दुई सय वर्षपछि विश्वमा चर्चित अन्य स्तम्भहरू निर्माण गरिए र पर्यटकिय गन्तब्यस्थल बन्न पुगे । तर, हाम्रो धरहरा नेपालका पर्यटन व्यवसायीहरूको छनोट र प्याकेजमा कहिल्यै पारिएन । धरहराको महत्व इतिहास, नेपालीहरूको फुर्सद, गाउँबाट काठमाडौं झरेकाहरूको गन्तव्यमा सीमित हुन पुग्यो । त्यसैगरी नेपाली चलचित्रले काठमाडौं सहरको दृश्य देखाउँदा पहिले धरहराबाट सुरुवात हुनेमै यसको महत्व खुम्चियो ।
तर, वैशाख १२ गतेको महाभूकम्पपश्चात् काठमाडौंमा सबैभन्दा पहिले भएको क्षतिमा धरहराको नाम र तस्बिर आयो । यसलाई नेपाल मात्र होइन संसारकै सञ्चारमाध्यमले पहिलो प्राथमिकतामा पारी समाचार सम्प्रेषण गरे । मैले सुनेको भूकम्पपश्चात्को पहिलो ठूलो र दुःखद् क्षति पनि त्यहीँ थियो । यो भन्दैमा अन्य सम्पदा र जनजीवनको महत्व कम छ भन्न खोजिएको छैन भन्न खोजिएको होइन, तर धरहराको महत्व र आकर्षण कस्तो रहेछ भन्ने प्रस्ट बुझिएको छ ।
नेपाली पर्यटन व्यवसायीले धरहराको महत्वलाई कम आँकलन गर्दा पनि तर विश्वकै चर्चित पर्यटन गाइड बुक लनली प्लानेटले धरहरालाई उच्च पर्यटकीय गन्तव्य स्थानमा राखेको देख्दा हामी सम्पूर्ण जनता तथा पर्यटन व्यवसायीलाई यसबारे सोच्न बाध्य बनाएको छ ।
धरहरा बनाउने कि नबनाउने ?
वैशाख १२ गतेको महाभूकम्पले ढालेको धरहरा बनाउने विषयमा अहिले विभिन्न बहस सुरु भएका छन्् । कसैले धरहरा पुनर्निर्माण गर्नुपर्छ भन्ने धारणा राखेका छन् भने कसैले धरहरा टिकट काटेर मर्नुपर्ने ठाउँको रूपमा आप्नो धारणा सार्वजनिक गरेका छन् ।
तर, धरहरा भत्किएपश्चात् आम नेपाली तथा विदेशीले पनि धरहराको बचेको ठुटोलाई चर्चाको विषय बनाउँदा पक्कै पनि धरहराको आकर्षण अरू सम्पदाभन्दा धेरै छ र यसलाई पुनर्निर्माण गर्न अत्यन्तै जरुरी छ भन्ने अवस्था सिर्जना भएको छ ।
त्यसैगरी धरहराको प्रतिमा निर्माण गरी विभिन्नपटक दीप प्रज्वलन गर्दा धरहरा फेरि निर्माण गरिनुपर्दछ र यसको आवश्यकता छ भन्ने बुभ्न सकिन्छ ।
पछिल्ला दिनहरूमा धराहराको तस्बिरलाई लिएर सामाजिक सञ्जाललगायत विभिन्न सन्देशमूलक सामग्रीहरूमा धरहराको तस्बिर राखी ‘वि विल राइज अगेन’, ‘स्टे स्ट्रगं’ नेपाल जस्ता अभिव्यक्ति तथा भावना देख्दा धरहरा पुनर्निर्माणको विकल्प छैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको देखिन्छ ।
यसर्थ, धरहरा बनाइनैपर्दछ, क्षतविक्षत नेपाली मनलाई धरहराको गर्विलो उचाइले सहानुभूति दिएर आगामी दिनमा बलियो छाती बनाए अगाडि बढ्न हौसला तथा प्रेरणा थपिरहनेछ ।
कस्तो बन्नुपर्छ धरहरा ?
भिमसेन थापाले धरहरा बनाउँदा रानी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गरे । तत्कालीन अवस्थामा स्थानीय सामग्रीको सम्मिश्रणमा १२ तले धरहरा निर्माण गरे । १९९० सालको महाभूकम्पले उक्त १२ तले धरहरालाई ९ तलामा सीमित गरायो ।
तत्कालीन अवस्थामा सुर्की, चुन, मास, इँटा र चाकुबाट निर्मित धरहरा उच्चतम, सुरक्षित र बलियो आधारमा निर्माण गरिएको थियो ।
अब, धरहरा निर्माण गर्दा पुरानो शैली र आवरण जस्ताको तस्तै निर्माण गरिनुपर्दछ । तर, यो भन्दै गर्दा यसमा अत्यधुनिक प्रविधिको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक क्षमताको बनाइनुपर्नेमा विकल्प छैन ।
त्यसैगरी धरहरावरपर रहेको अतिक्रमित जग्गालाई सरकारले आफ्नो स्वामित्वमा लिएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण, बढी बढीभन्दा बढी समय व्यतित गर्न मिल्ने वातावरण सिर्जना गरिनुपर्दछ । साथसाथै पर्यटकहरूलाई थप आकषर्त बनाउन वरपर रहेका सम्पदा, सुन्धारा, महादेवको मन्दिर र गुठीलाई पुनर्निर्माण गरी आकर्षित बनाइनु जरुरी छ ।
थप मनोरञ्जनका लागि इतिहासमा लेखिएअनुसार जंगबहादुरले धरहराको टुप्पोबाट हाम फाली जुन बहादुरी र साहसिक कामको विश्वभर चर्चा भयो, त्यस्तै किसिमका साहसिक खेल आयोजना गरी धरहराको आकर्षण र गरिमालाई थप बढाउन सकिनेछ ।
कहिले र कसले बनाउने धरहरा ?
भूकम्पपश्चात् उद्धार, राहत र पुनर्निर्माणको सवाल उठ्दै गर्दा पुनर्निर्माणमा सबैभन्दा अगाडि धरहरा पुनर्निर्माणको कुरा महत्वका साथ बहसमा आएको छ । धरहरा चाँडोभन्दा चाँडो पुनर्निर्माण गरिनुपर्दछ । थोरै भए पनि भूकम्पका कारण क्षतविक्षत नेपाली मन र मस्तिष्कलाई धरहराको पुनर्निर्माणले सहानुभूति र भत्किएको मनलाई पुनः ताजगी दिने र उत्साह, उमंग थप्ने प्रस्ट छ । तसर्थ, धरहराको पुनर्निर्माणले नेपाली जनताको भावनात्मक रूपमा ऊर्जा र मनोबल बढाउने देखिन्छ ।
धरहराको पुनर्निर्माणका लागि देशभित्र रहेका विभिन्न व्यावसायिक घराना, नेपाली जनता, संघसंगठन, विदेशी दातृ निकाय र धरहराको शुभचिन्तकहरू र राष्ट्रहरूले तदारूपकताका साथ धरहरा पुनर्निर्माणमा चासो देखाइरहेका छन् ।
अब मेरो धारणामा धरहरा नेपाली सरकारको नेतृत्वमा विभिन्न संघसंगठन, संस्था, नेपाली जनता, व्यवसायीहरू तथा पर्यटन क्षेत्रका व्यक्ति र विज्ञको महत्वपूर्ण भूमिका राखी धरहरा पुनर्निर्माण समिति गठन गरी यसलाई तुरुन्त पुनर्निर्माणमा जुट्न आवश्यक छ ।
यसो भएको खण्डमा सम्पूर्ण नेपाली जनता र माथि किटान गरिएका संघसंस्था तथा व्यक्तित्वहरूले धरहरा आफ्नो स्वामित्वमा आएको महसुस गर्नेछन् र धरहराको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा आफैँ तदारूपकताका साथ जुट्नेछन् ।
अन्त्यमा,
कुनै पनि बस्तुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा स्थानीय जनता नै तयार हुनुपर्दछ । साथै बस्तु तयार भइसकेपछि यसलाई ब्रान्डिङ गर्न अत्यन्त जरुरी हुन्छ । धरहराको मानेमा यो छ कि धरहरा ढल्नुभन्दा अगाडि र धरहरा ढलिसकेपछि जुन किसिमले राष्ट्रिय र अन्तर्राष्ट्रिय माध्यमले महत्वका साथ समाचार सम्प्रेषण गरे, धरहरा बन्नुभन्दा अगाडि नै यसले आप्mनो लागि ब्रान्डिङ स्थापित गरिसकेको छ ।
तसर्थ, अब बन्ने धरहरा पर्यटकीय महत्व बोक्ने, सुरक्षित र थप आकर्षणको स्तम्भ बन्नेछ । यसो बन्दै गर्दा सरकार र पुनर्निर्माण गर्ने व्यक्ति, संस्था र निकायले धरहरा विश्व सहिष्णुणताको प्रतिक र नेपाली कला कौशलको उत्कृष्ट नमुनाको रूपमा स्थापना गरिनेछ भन्नेमा दुईमत छैन ।
अबको धरहरा तेस्रोपटक थाहा नदिई ढल्ने छैन र टिकट काटेर मृत्यु वरण गर्ने स्थान हुने छैन ।
(लेखक राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष तथा एड्भान्स मोनिटर म्याग्जिनका सम्पादक हुन् ।)
प्रतिक्रिया