“भाषण गर्नुभन्दा जनताबीच काम गर्दा आनन्द आउदो रहेछ”

Nepali-Sexy-Ladyसधैँ शिक्षाका मुद्दामा लड्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष ऐन महर एक टोलिसहित बिहान उठ्नेबित्तिकै खाजा खाएर भूकम्पले भत्किएका घर बनाउन गाउँतिर लाग्छन् भने सचिवालय सदस्य कमला बोहराले टोलीलाई खाना पकाउन थाल्दछिन् । उनीहरूको अहिलेको दैनिकी यस्तै भएको छ । भूकम्पले क्षति पुर्‍याएका विद्यालय बनाउन भूकम्प प्रभावित ठाउँमा गएपछि अहिले विद्यार्थी नेताहरूका दैनिकी फेरिएका छन् । महरसहितको टोलीको बसाइँ अहिले पहाडको खोल्सामा चारवटा टेन्टमा छ ।

यस्तै युवा संघका महासचिव राजीव पहाडी सिन्धुपाल्चोकको इन्द्रावतीको डिलमा क्याम्प बनाएर विद्यालय बनाउने अभियानमा जुटेका छन् । करिब ७० जना युवाको कमान्ड गर्दै पहाडी भूकम्पले अति प्रभावित मेलम्ची, सिखरापुरलगायतका ठाउँमा भत्किएका विद्यालय निर्माण गरिरहेका छन् । उनको दैनिकी पहिलेभन्दा फेरिएको छ । उनको टोली बिहान पाँच बजे उठेर आधा घन्टा शारीरिक व्यायाम गर्दछ । त्यसपछि लामबद्ध लाइन लागेर राष्ट्रिय गीत र माय संगठन नेकपा (एमाले) को अभियान गीत गाउँछन् । अनि सात बजे कालो चिया र बिस्कुट खाएर भत्किएका विद्यालय निर्माण गर्न टोली लिएर पहारी हिँड्ने गरेका छन् । दिउँसो १२ बजे खाना खान उनको टोली फर्कन्छ । त्यसपछि फेरि केही चिउरा दालमोठ लिएर उनको टोली विद्यालय बनाउन माथि गाउँतिर लाग्दछ । पोखराको सम्पन्न ठाउँमा जन्मिएका पहारीको दैनिकी पनि इन्द्रावती नदीमा रहेको क्याम्पमा बित्ने गरेको छ । यस्तै, युवा संघका महासचिव पहारीले अहिले सिन्धुपाल्चोकका चार विद्यालयका २४ अस्थायी कक्षा कोठा निर्माण गरेका छन् ।
पहारीले सीतादेवी मावि सिखरापुरको ६ कोठे, कालिका मावि बाँसबारीको चार कोठे, जलपादेवी उच्चमावि बाहुनपाटीको चार कोठे र सिद्धेश्वर उच्चमावि मेलम्चीको १० कोठे अस्थायी कक्षा कोठा निर्माण गरेका छन् । कक्षा कोठा निर्माण गरेपछि विद्यालयहरू सञ्चालनमा आइसकेका छन् ।
विद्यार्थीको हकहितका लागि आवाज उठाउने विद्यार्थी संगठन र राजनीति गर्ने युवा संगठनहरू अहिले भूकम्प प्रभावित जिल्लाहरूमा यस्तै भत्किएका घर र विद्यालय बनाउने काममा खटिएका देखिन्छन् । अखिल नेपाल युवा संघ, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी अहिले विद्यालय बनाउने अभियानमा जुटेका छन् । अनेरास्ववियुले भूकम्पबाट भत्किएका विद्यालयका कक्षाकोठा बनाउन सबै प्रभावित क्षेत्रमा टोली खटाएको छ ।
अनेरास्ववियुकी महासचिव नविना लामाको नेतृत्वले काभ्रेमा ११ वटा विद्यालय निर्माण गरिसकेको छ । लामा नेतृत्वको टोलीले श्रीकृष्ण निमावि मेचिनकोट, मंगलटार उच्चमावि मंगलटार, प्रकाश उच्चमािव झुन्डीटार, सुनकोशी निमावि सन्दुकखर्क र पञ्चकन्या निमावि सन्दुकखर्क निर्माण गरेको हो । लामाले विद्यार्थी संगठनको कर्तव्य शैक्षिक मुद्दा मात्र नभएर विपत्तिका बेला विद्यालय निर्माण गर्नु पनि भएको बताइन् । उनी आफूले भत्किएका विद्यालय बनाउँदा वर्गीय रूपमा काम गरेको महसुस भएको बताउँछिन् । ‘नितान्त वर्गीय भावनामा काम गर्दा राम्रो लाग्यो,’ उनी भन्छिन्, ‘काम गर्दा अप्ठेरो आए पनि उत्साही भएर काम ग¥यो ।’ भत्किएका विद्यालय बनाउँदा दुःख झेल्नु परे पनि उत्साही भएर काम गरेको उनी बताउँछिन् ।
महासचिव पहारी पीडितहरूका घर र विद्यालय बनाउँदा आत्मसन्तुष्टि मिलेको बताउँछन् । भन्छन्, ‘भौतिक रूपमा विद्यालय बनाउने काम कठीन भए पनि हामीलाई आत्मसन्तुष्टि मिलेको महसुस भएको छ । हामी भोलिको देशका कर्णाधार बनाउने कारखाना बनाउँदैछौँ,’ उनी भन्छन्, ‘स्वच्छ र शुद्ध भावनाले विद्यार्थी पढ्ने भवन बनाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’ पहारी बसेको ठाउँमा न बिजुलीबत्ती छ न त राम्रो खानेपानी । सर्पको डर पनि उत्तिकै छ । ‘हामी आफ्नो जिउज्यानभन्दा भूकम्पपीडितहरूका लागि सहयोग गर्न भनेर खटिएकाले सबैभन्दा पहिले उनीहरूको घर र विद्यालय बनाउँदैछाँ,’ उनी भन्छन्, ‘घरपरिवार छाडेर काम गर्दा आनन्द आउँदो रहेछ ।’ पहारीले ७० जनाको टोलीको नेतृत्व गरिरहेका छन् ।
अखिल उपाध्यक्ष महर असिनपसिन हँदै नाङ्लेभारेमा विद्यालय बनाइरहेका भेटिए । उपाध्यक्ष महरको टोलीले काठमाडौं क्षेत्र नं. २ स्थित नाङ्लेभारेस्थित नविनग्राम माविको ६ कोठे अस्थायी विद्यालय बनाउँदै छ भने १२ वटा स्थानीयका घर बनाइसकेको छ । कार्यस्थलमा भेटिएका महरले राजनीति गर्न र फिल्डमा गएर पुनर्निर्माण गर्ने कुरा फरक रहेको बताए । उनी भन्छन्, ‘राजनीति र यस्तो भौतिक–शारीरिक कामको पाटो नै फरक हो । फिल्डमा गएर जनताका लागि काम गर्दा आनन्द आउँदो रहेछ ।’ महरको टोलीमा ५० जनाको टिमले उक्त ठाउँका भत्किएका भवन र विद्यालय बनाइरहेको छ । उनलाई अहिले टेन्टमा बसेर भूकम्पपीडितको काम गर्दा वास्तविक जीवन अनुभव भएको छ । ‘भाषण गर्नु र काम गर्नुमा फरक हुदोरहेछ,’ उनी भन्छन्, ‘भाषण गर्नुभन्दा जनताबीच काम गर्दा आनन्द आउँदो रहेछ ।’
महरको नेतृत्वले विद्यालयको ६ कोठे भवन पाँच वर्षसम्म थेग्ने हिसाबले बनाइदिएको छ । करिब एक हप्तादेखि अखिलको टोली नाङ्लेभारेमा रहेर विद्यालय बनाउँदै छ । उपाध्यक्ष महरले अझै चारवटा विद्यालय बनाउने योजना भएको सुनाए । सचिवालय सदस्य कमला बोहोराले फिल्डमा काम गर्दा वास्तविक कम्युनिस्ट भएको अनुभूति भएको बताइन् । उनी नाङ्लेभारेको क्याम्पमा ५० जनाको टोलीलाई बिहानबेलुका खाना पकाउने गर्दछिन् । ‘जनताकहाँ गएर प्रत्यक्ष काम गर्दा बल्ल कम्युनिस्ट भएको अनुभव भएको छ,’ उनले भनिन्, ‘भाषण र काम फरक कुरा रहेछन् ।’
यस्तै रसुवाको घोर्से गाविसमा खटिएका अनेरास्ववियु सचिव अब्दुल हुसेन खाँ र सचिवालय सदस्य आरती लामाको नेतृत्वमा रसुवामा चार विद्यालयका १२ अस्थायी कक्षा कोठा बनाएका छन् । उनीहरूले गोसाइँकुण्ड मावि घोर्ले–२ को चारकोठे अस्थायी कक्षा, दुच्चेश्वरी निमावि घोर्ले–४ को दुईकोठे अस्थायी कक्षा, वेताङ प्रावि घोर्ले–२ को दुईकोठे र जिवजिवे मावि भैगुन–९ कोमा चारकोठे अस्थायी भवन (टहरा) निर्माण गरिएको जानकारी गराए । अझै पाँचवटा विद्यालय निर्माण गरिदिने योजना उनीहरूको छ ।
अनेरास्ववियुका १५ जनाको टोलीले एक सातामा उक्त विद्यालयका अस्थायी कक्षा कोठा निर्माण गरेको हो ।
अनेरास्ववियुका लेखा अयोगका अध्यक्ष निलकण्ठ आचार्य र सचिवालय सदस्य सुरेश पराजुलीले नेतृत्व गरेको टोलीले नुवाकोटका पाँच विद्यालयका २९ कक्षा कोठा निर्माण गरी हस्तान्तरण गरेको छ । नौजनाको टोलीले १४ दिन लगाएर विद्यालयका अस्थायी कक्षा कोठा बनाएको सचिवालय सदस्य पराजुलीले बताए । उनीहरूले ऐँसेलुभूमि उच्चमावि काउलेको ६ कोठा, जाल्पा युवा निमावि गणेशथानको चार कोठा, विज्ञान उच्चमावि नर्जामन्डलको ६ कोठा, जागृत निमावि नर्जामन्डलको सात कोठा र प्रस्तावित गशेण मावि गणेशथानको ६ कोठा अस्थायी कक्षा कोठा निर्माण गरी विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । पराजुली पनि भत्किएका विद्यालय बनाउँदा छुट्टै आनन्द आउने गरेको बताउँछन् । ‘हामी भाषण गर्ने विद्यार्थी अहिले विद्याल बनाइरहेका छौँ,’ उनी भन्छन्, ‘अहिले विद्यार्थी पढ्ने भवन बनाउन पाउनु आफूलाई भाग्यमानी भएको महसुस गरेका छौँ ।’ लेखा आयोग अध्यक्ष आचार्यले अझै तीनवटा विद्यालयका अस्थायी कक्षा कोठा बनाउने जानकारी दिए ।
यस्तै, ओखलढुंगामा लेखा आयोगका संयोजक जीवन राईको नेतृत्वमा चार विद्यालयका १७ अस्थायी कक्षा कोठा निर्माण गरिएका छन् । राईको नेतृत्वमा रहेको टोलीले रागदीप मावि रागदीपमा पाँच कोठा, कालिका उच्चमावि श्रीचौरमा तीन कोठा, श्रीङगदेवी निमावि तेप्चेको पाँच कोठा र जंग निमावि श्रीचौरको चार कोठा निर्माण गरेका छन् । नौजनाको टोलीले १० दिन लगाएर उक्त कक्षा कोठा निर्माण गरेका हुन् । अखिलको एक महिना भूकम्पप्रभावित जिल्लाको भत्किएका विद्यालय बनाउने अभियानअन्तर्गत कक्षाकोठा बनाइएको हो ।
यस्तै युवा संघका नेपाल सचिव अशोक चन्दको नेतृत्वमा दोलखाको जिरीमा तीन विद्यालयका २६ अस्थायी कक्षाकोठा निर्माण भएका छन् । चन्दको नेतृत्वमा जिरी नगरपालिकामा रहेका कालिका माविका १२, कुशेश्वर निमाविका आठ र कामेश्वर निमाविका ६ अस्थायी कक्षाकोठा निर्माण गरिएका छन् ।

प्रतिक्रिया