वैशाख १२ र २९ गते नेपाललाई हल्लाउने गरी आएका महाभूकम्पमा जो बाँचे उनीहरूले मूल मर्म एउटै भए पनि त्यसको त्रासदी र पीडाको अनुभव फरक ढंगले गरे । तर, उनीहरूको के, जो देख्न–हेर्न सक्दैनन् र केवल अनुभूत मात्र गर्न सक्छन् । बेग्लै किसिमले सक्षम मानिसहरू जसलाई दृष्टिले साथ दिएन, उनै दृष्टिविहीनहरूले भूकम्प आउँदा के कस्तो अनुभव गरे ? भूकम्प आउँदा उनीहरू के गर्दै थिए ? कहाँ थिए ? थाहा भएपछि कसरी भागे ? कसले भन्यो भूकम्प नै गएको कुरा ? र, अहिले उनीहरू के गर्दै छन् ? यी र यस्तै विषयमा केन्द्रित रहेर काभ्रेमा रहेका दृष्टीविहिनहरूसँग गरिएको कुराकानीमा आधारित एक रिपोर्ट:
सभासद्को लामो अग्लो घरमा हल्लिएका पार्टीका झन्डा छन् । गाडीका आवाज र मान्छेका हल्लाले उनीहरू आफूलाई पनि ठूलै सहरमा बसेको ठान्छन् । त्यही छेउमा टुसुक्क लस्करै बसेका छन् ।
नीहरूले भूकम्प गएको २६ औँ दिनमा जिल्ला प्रशासनमा गएर एउटा पाल ल्याएका थिए । त्यस अघिसम्म खुला आकाशमुनिको बस्दै आएका उनीहरू बिरामी नै पर्न थालेका छन् ।
बाटोमा भेटिएका सुवर्ण मानन्धर बनेपामै २०२६ सालमा जन्मिएका थिए । उनी जन्मैदेखि आँखा देख्दैनन् । उनका एक छोरी सन्तान छन् । आफ्नो बुबालाई बाटोमा डोर्याँउदै हिँडिरहेकी सञ्जु मानन्धरले यो ठाउँमा यस्तो भएको भनेर जानकारी दिँदै हिँडिरहेको भेटिन्थिन् । यसरी दिनभर राहत पाउने आशमा कसैले गरेको कार्यक्रममा जान खोज्दै हिँडेका रहेछन् । उनी भर्खरै आएको भूकम्पका कारण अझै अचम्ममा परेको र आफूलाई मात्र यस्तो भएको सुनाउँछनु तर उनी त्यस दिन सबै कराएकाले आफूलाई मात्र हल्लाएको भने पक्कै होइन भनेर अड्कल काटिरहेका छन् ।
उनले ब्रेललिपीबाटै प्लस टु पास गरिसकेका छन् । उनकी छोरी सुस्त मनस्थितिकै भएकाले उनले पढ्न नपठाएको सुनाउँछन् । आफूलाई सबै चिनाउने एक्लो सारथी छोरी नै रहेको भन्दै उनले दिनभर छोरीलाई सँगै लिएर निस्कने गरेको सुनाए ।
सौर्य संवाददाताको ‘तपार्इं सरकारलाई के माग्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘हमीलाई बाँच्ने मौका दिनुपर्यो । बास, गाँस र कपासको व्यवस्था मिलाइदिए हामी बाँच्ने थियौँ ।’ दृष्टिविहीनहरू बसेको अर्को एक ठाउँमा पुग्दा त्यहाँ २०१३ सालमा काभ्रेको बिर्तादेउराली–३ मा जन्मिएका कृष्णमान लामा भेटिए । उनले जन्मेको ६ वर्षमै आँखा देख्न छाडेका थिए । अहिले छोरा र नातिसहितको चारजनाको परिवार महाभूकम्पपछि काठमाडौंमा मजदुरी गर्ने छोरा पनि सँगै छन् । उनी भूकम्प जाँदा सरकारले बस्न दिएको लाइकुको एउटा पाटीमा थिए । उनकै भनाइमा, मसानघाटको कालो घर रे ।
कृष्णमान सुनाउँछन्, ‘भूइँचालो जाँदा मलाई मात्र हल्लाए जस्तो लाग्यो । पछि सबै रोएको सुन्दा सबैलाई भएको जस्तो लाग्दै छ । बुटुटुटुटु गरेर आएको आवाजले बाहिर बस्दा पनि झस्का दिइरहन्छ ।’ उनकै भाषामा, उनले आफूलाई पूर्वजुनीको पापको फल भोग्दै गरेको सुनाउँछन् । सँगै छेउमा टुसुक्क बसिरहेका धादिङ कल्लेरी–८ मा २०३७ सालमा जन्मेका नारायण सिक्देलकी आफ्नै बहिनी देवकी सिक्देल पनि जन्मिदै आँखा नदेख्ने भएको बताउँछन् । धादिङमा रहेको घरमा दाजु–भाउजू बस्दै आएका थिए ।
‘मेलापातमा गएको समय भएर बच्न सक्नुभएको’ कुरा जिकिर गर्दै उनी भूकम्प आउँदाको अनुभव यसरी सुनाउँछन्, ‘म चर्चमा गएको थिएँ । त्यस दिन म पटक–पटक मेचमा बस्न खोजेँ तर सकिनँ । लडेँ । यसरी सदाझैँ भएको होला भन्ने अनुमान लगाउँदै मैले फेरि मेच समाएँ तर, त्यसबेलाको आवाज मैले कहिल्यै नसुनेको आयो । सबै रोएका थिए । मैले कसैलाई सोधिनँ । मैले त्यस बेलासम्म पनि हावाहुरी आएको अनुमान गरेको थिएँ तर यसरी पटक–पटक आउँदा भने म आफैँ पनि मर्छु कि जस्तो भान भएको थियो । मलाई कहाली लागेको थियो चर्चवाट बाहिर आउँदा । कसैले भनेको सुनेँ, भूकम्प गएको रे ।’
उनले जिज्ञासा राख्दै भने, ‘सबै ठाउँमा पो जाने रै’छ । कस्तो अचम्म ! यस्तो पनि हुन्छ र ?’ २०५८ सालमा ब्रेललिपीमा एसएलसी पास गरेका उनीसँगै रहेका उनका साथीले थपे, ‘संसारमा हामीले नदेखे पनि कसैले सुनाएकै भरमा भूइँचालो भन्ने यस्तो हुने रै’छ भन्ने थाहा पायौँ ।’
उनीहरूलाई एउटै चाहना रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले बाँच्ने व्यवस्था मिलाएर एउटा छाप्रो र खाने कुरा दिए हुन्थ्यो ! यति भएमा अरू भनेको आफँ धूप र मैन बेचेर खर्च निकाल्ले थियौँ ।’
संसार देख्न नसके पनि महाभूकम्पको अनुभव सँगालेकी देवकी सिक्देल भन्छिन्, ‘सन्सारमा दुई आँखा मात्र होइन, अर्काे आँखा पनि हुन्छ । तपार्इंका दुई आँखाले देखेको हामीलाई सुनाउँदा अचम्म लागेको छ । संसारमा तीन आँखा छन् । हामी भित्री आँखाले मात्र देख्न सक्छौँ । बाहिर के भयो, त्यो हाम्रा लागि कथा जस्तो लाग्छ ।’
देवकी आफ्ना जिज्ञासालाई प्रतिप्रश्नमा राख्छिन्, ‘हामीले बोलेको पनि तपाईंलाई कथै जस्तो लाग्छ होला, होइन ? के भूइँचालो सबैलाई आएको छ ? ती भाषण गर्ने नेतालाई पनि आएको होला ?’ उनको यो सोधाइमा पंक्तिकारले भूकम्पले कसैलाई नछोडेको र छोड्दैन पनि भन्ने जानकारी गरायो । कैयौँ घर भत्किएको, हजारौँ मरिसकेको र कैयाँ बिमारी परेको सूचना दिँदा उनले अचम्म माने जस्तो गरिन् ।
भूकम्पले घर लगेपछि एक्लो बनेका ७० वर्षीय कृष्णदेव प्रजापति र भकुन्डे काभ्रे गाविस–३ घर भई हाल त्यहीँ एउटै त्रिपालमुनि उनीहरू सँगै बसेका छन् । घर र समाजले खेदेको भन्दै उनीहरू उनीहरूकै सारथी बनेर एउटै त्रिपालमुनिको बासमा समय बिताइरहेका छन् । सरकार निरिह छ, किनकि सभासद्कै घरअगाडि रहेका यिनीहरूको यो अवस्था हेर्दा लाग्छ, सरकारले पहुँचवाला र बोल्न सक्नेलाई मात्र राहत वितरण गरिरहेको छ । पार्टीको आडमा दिनदिनै ठूलो स्वरमा झगडा गरेका आवाज पनि सुन्छन् नजिकै रहेका उनीहरू ।
उनीहरू भन्छन्, ‘हामीले त्रिपालका लागि झगडा गर्नुपर्यो । अनि मात्र गएर २६ औँ दिनमा एउटा त्रिपाल पाइयो । त्यो पनि सामुहिक बस्दा नपुगेर कोचाकोच गर्दै बसिरहेका छौँ । हावा आउँदा त्रिपाल नै उडाएको थियो । बल्ल–बल्ल समातेर फेरि यहाँ राख्न सकिएको थियो ।’
‘हामी बिरामी पनि परेका छौँ । कसले देला औषधि ? सरकारले दिएको अपांग भत्ताबापत्को मासिक तीन सय रुपैयाँले के पो गर्ने हो ?’ उनीहरूको दैनिकी यस्तै गरी चलिरहेको छ । आश नै नभएको स्वरमा उनीहरू भन्छन्, ‘अब भोकै मर्ने दिन पनि आए ! हेरौँ, कसले हेर्ला हामीलाई बाँचुञ्जेल ?’
– सुकदेव थपलिया
प्रतिक्रिया