भूकम्पले जिशिकासहित ४९ वटा विद्यालयमा क्षति

वीरेन्द्रनगर, ६ जेठ । गत वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पले जिल्ला शिक्षा कार्यालयसहित सुर्खेतका ४९ वटा विद्यालयमा क्षति पुराएको छ ।

भूकम्पले केही विद्यालयका कक्षाकोठा पूर्णरुपमा क्षति पुराएको छ भने केही विद्यालय चर्किएका छन् ।

जिशिका कार्यालयको तेस्रो तलाका सबै भित्ता चर्किएका छन् । यस्तै केही विद्यालयमा अध्ययनअध्यापन नै अवरोेध हुनेगरी क्षति पुगेको थियो ।

जिल्ला शिक्षा कार्यालयले दिएको तथ्याङ्कअनुसार सबै ४९ वटा विद्यालयका १५४ वटा कक्षाकोठा पूर्णरुपमा चर्किका छन् भने १०५ वटा कक्षाकोठा आशिक रुपमा चर्किएका छन् ।

चर्किएका सबै विद्यालयमध्ये सूर्यज्योति प्रावि दहचौरको विजेश्वरी उमावि हरिहरपुर र उच्चमावि भैरवस्थानका कक्षाकोठा पूर्णरुपमा क्षति भएका छन् । क्षति भएका विद्यालयको विवरण आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी दीपा हमालले दिएको जानकारीअनुसार ४९ वटा विद्यालयका सञ्चालनमा आएका ३८८ वटा कक्षा कोठामध्ये १७४ वटा कक्षा कोठामा पूर्ण तथा आशिक रुपमा क्षति हुन पुगेको छ ।

गत वैशाख १२ र २७ गते गएको विनाशकारी भूकम्पले सुर्खेतका धेरैजसो विद्यालयमा आशिक रुपमा क्षति पुराएको उनले जनाए ।

प्रतिक्रिया