काठमाडौं, ५ जेठ । विनाशकारी भूकम्पपछि लगातार विद्यालय बन्द हुँदा अलमलमा परेका र भूकम्पको त्रासमा रहेका बाल बालिकाका लागि सञ्चालित थिएटर थेरापीमा बालबालिकाको आकर्षण बढ्दै गएको छ । काठमाडौंको गौरीघाटस्थित मोक्षदा स्कुलले गुह्येश्वरी, खरिबोट क्षेत्रमा बालबालिकाका लागि सञ्चालन गरेको थिएटर थेरापी नामको खुला कक्षामा हरेक दिन विद्यार्थीको संख्या बढ्दै गइरहेको हो ।
सो थिएटर थेरापीमा बालबालिकालाई नाटकमा अभिनयको नियमित प्रशिक्षण दिनुका साथमा मेडिटेसन, कविता, गजल लेखन तथा वाचनको अभ्यास गराइने सो अभियानका संयोजक तथा मोक्षदा स्कुलका नाटक निर्देशक सुरेश चन्दले जानकारी दिए । ‘बालबालिकालाई नाटक तथा कविता र गजलको प्रशिक्षणका अतिरिक्त हामीले सिविनका मनोविज्ञहरूबाट बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिँदै छौँ,’ चन्दले भने, ‘उनीहरूलाई चित्रकला, वादविवाद, वक्तृता र हाजिरी जवाफमा सहभागी गराउने हाम्रो लक्ष्य छ ।’
मोक्षदा स्कुलका निर्देशक हरिशरण खनालले भूकम्पपछि बालबालिका अत्यन्त डराइरहेका हुनाले उनीहरूको मनमा जमेर बसेको डर भगाउने उद्देश्यसाथ यो कार्यक्रम आयोजना गरेको बताए । ‘हामीले बालबालिकाको मनमा रहेको डर मेटेर उनीहरूलाई मानसिक रूपमा सबल बनाउने उद्देश्यले थिएटर थेरापी आयोजना गरेका हौँ,’ निर्देशक खनालले भने, हाम्रो प्रयासले समुदायका बालबालिकामा सकारात्मक परिवर्तन आउने र उनीहरू स्कुल खुलेपछि ढुक्क भई स्कुल जानसक्ने अपेक्षा गरेका छौँ । बालबालिकाहरूका लागि मात्र नभई सो थिएटर थेरापीमा अभिभावकहरूलाई मेडिटेसनको कक्षा सञ्चालन गर्नुका साथै मनोपरामर्शसमेत दिइने पनि खनालले जानकारी दिए । कार्यक्रममा स्थानीय समाजसेवी किरण श्रेष्ठले यस्तो कार्यक्रमबाट बालबालिकालाई मानसिक रूपमा सुदृढ बनाउन र आमअभिभावकलाई समेत बालमैत्री बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
मोक्षदा स्कुल र स्पेसको आयोजना रहेको यस कार्यक्रममा विनायक नगर सम्पर्क समाज र विनायक नगर साथी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्य रहेको छ । २ जेठ शनिबारदेखि सुरु भएको सो कार्यक्रम यही १४ जेठसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सो क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत एक सयभन्दा बढी बालबालिकाको नियमित सहभागिता छ ।
प्रतिक्रिया