काठमाडौं, ५ जेठ । उच्चमाध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरले भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाका लागि नयाँ तालिका सोमबार सार्वजनिक गरेको छ ।
परिषद्ले भूकम्प अति प्रभावित ७ निर्वाचन क्षेत्र छाडेर अन्यका लागि नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक जयन्ती सत्यालले भूकम्प अति प्रभावित ७ जिल्लामा पछि परीक्षा हुने गरी अहिले अन्य जिल्लाका लागि परीक्षा तालिका सार्वजनिक गरिएको बताइन् । भूकम्पका कारण पहिले तोकिएको भन्दा एक महिना ढिलो परीक्षा सञ्चालन हुन लागेको हो ।
उनले कक्षा १२ को २० जेठबाट र कक्षा ११ को १ असारदेखि परीक्षा हुने बताइन् । उनका अनुसार भूकम्प अति प्रभावित सिन्धुपाञ्चोक, काभ्रे, गोर्खा, दोलखा, नुवाकोट, धादिङ र रामेछाप छाडेर ६८ जिल्लाका लागि नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।
सोमबार बसेको परीक्षा समन्वय समितिको बैठकले ७ जिल्लाबाहेक अन्यको स्थिति सामान्य भएकाले परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । परिषद्ले भूकम्प प्रभावित अन्य जिल्लाको पनि परीक्षा गर्न सकिने भनेपछि तालिका सार्वजनिक गरेको हो । ‘भूकम्प प्रभावित ७ जिल्लाबाहेक अन्यको पनि परीक्षा गर्न सकिन्छ भन्ने हामीलाई रिपोर्ट आयो’, उनले भनिन्, ‘त्यही भएर ती ७ जिल्लामा पछि गर्ने गरी अहिले नयाँ कार्यतालिका सार्वजनिक गरेका हौँ ।’
उपनियन्त्रक सत्यालले भूकम्प प्रभाति केही जिल्लामा नयाँ परीक्षा केन्द्र तोकिने जानकारी दिइएन् । ‘पहिले तोकिएका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सकिन्छ कि सकिँदैन हेर्छौं’, उनले भनिन्, ‘यदि भत्किएको भए नयाँ परीक्षा केन्द्र निर्धारण गर्ने छौँ ।’
यसअघि २० वैशाख र १ जेठबाट परिषद्ले परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । १२ वैशाखको भूकम्पले १४ जिल्लाको जनजीवन तहसनहस पारेपछि परिषद्ले सम्पूर्ण तयारी पूरा भए पनि परीक्षा रोकेको हो । परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ७ लाख २० हजार ३ सय ४९ विद्यार्थी सहभागी हुने छन् ।
प्रतिक्रिया