बाल मन्दिरका नानीहरू ‘गोदाम’मा

Nepal 2

काठमाडौं, २७ वैशाख । सरकारी स्वामित्वको बाल मन्दिरको पुरानो भवन भूकम्पका कारण भत्किएपछि त्यहाँ रहेका १ सय १ जना बालबालिकाहरूको विचल्ली भएको छ ।

काठमाडौंको नक्सालस्थित आफ्नो भवन भत्किएपछि कर्मचारीले बालबालिकाहरूलाई सुरक्षित राख्न अन्यत्र लगेका छन् । भवन बस्नै नमिल्ने गरी क्षति भएको एक कर्मचारीले जानकारी दिए ।

‘भूकम्पले हाम्रो मात्रै होइन मुलुकभरि क्षति पुर्‍याएको छ’, ती कर्मचारीले नाम लेख्ने सर्तमा भनिन्, ‘खै कसलाई भन्ने । यी साना नानीहरूलाई रोगव्याधिबाट जोगाउनै मुस्किल भइसक्यो ।’ सरकारका तर्फबाट पनि खासै ध्यान नदिइएको उनको भनाइ छ ।

बाल मन्दिरको भवनमा बस्न नमिलेपछि बालबालिकाहरू अहिले ‘शिक्षाका लागि खाद्य कार्यक्रम’को मालीगाउँस्थित गोदाम घरमा बस्दै आएका छन् । गोदाम पनि पुरानो भएकाले बालबालिकाहरू सुरक्षित छैनन् ।

भूकम्पको धक्का पटक पटक आइरहने भएकाले कर्मचारीहरू त्रसित छन् । ‘बालबालिकालाई कसरी जोगाउने हो । कहाँ लगेर राख्ने हो’, ती महिला कर्मचारीले भनिन्, ‘हाम्रो त होस् नै हराएको छ ।’

बाल मन्दिरमा आमाबाबु र घरबाहरबिहीन बालबालिकाहरू रहँदै आएका छन् । भूकम्पका कारण उनीहरूलाई नियमित खानपनीलगायतमा समस्या भएको छ ।
तस्बिरः सिन्ह्वाको फेसबुक पेज

Nepal Baby

Nepal 1Nepal 3 Nepal 4 Nepal 5

प्रतिक्रिया