नुवाकोट, २३ वैशाख । यही वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट घरवारविहीन काठमाडौंको उत्तर–पश्चिम दिशामा अवस्थित नुवाकोट जिल्लाको कुमरी गाविसका पीडितले राहत सामग्रीमा विभेद भएको गुनासो गरेका छन् ।
काठमाडौंबाट करिब २८ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सरकारले भूकम्पपीडितका लागि चाँडै पुर्याउनुपर्ने राहतमा ढिलाइ भएको गुनासो स्थानीयको छ । विभिन्न राजनीतिक पार्टीका नाममा स्थापना भएको संयन्त्रले आ–आफ्ना मतदातालाई राहत वितरणको प्रयास गरेकाले गाउँका बासिन्दाले चिन्ता गरेका छन् ।
गाविसमा पछिल्लो निर्वाचनको क्रममा एक हजार ७५८ घरधुरी रहेको भएपनि अहिले दुई हजार २०० घरधुरी रहेको स्थानीयवासी बताउँछन् । भूकम्पका कारण १२ जनाले ज्यान गुमाएका थिए । त्यहाँका अधिंकाश घर पूर्णरूपमा ध्वस्त भएका छन् । नुवाकोट अर्थमन्त्री डा.रामशरण महतको गृह जिल्ला पनि हो ।
केही रहेका घर पनि चर्केका तथा आंशिक भत्केका छन् । भूकम्पकै कारण घरलाई क्षति पुगेपछि मानिस घरमा जानसक्ने र भएका खाद्य सामग्री तथा अन्य सरसामान झिक्न सक्ने अवस्था छैन ।
विभिन्न सङ्घ संस्थामार्फत आएका राहतका सामग्री स्थानीय राजनीतिक संयन्त्रलाई विश्वास नगरी बाँड्न समस्या छ । स्थानीयवासी भीमप्रसाद न्यौपानेले हुनेखाने तथा टाठाबाठाले राहत तथा सहयोग पाउने गरेको तर वास्तविक गरिब तथा पीडितले पाउन नसकेको बिलौना गरे ।
उनले आफ्नो घर भत्किएर ८२ वर्षीय आमालाई खुला आकाशमुनि राख्नु परेकोमा दुःख पोख्दै पहुँचवाला तथा स्थानीय नेता र नजिकका मानिसले ठाउँ ठाउँमा वितरण गरिएको राहत लिने गरेकोमा दुःख व्यक्त गरे ।
इँटा र माटोबाट बनाइएका पुराना घर चर्किएका, घर बाहिरबाट हेर्दा सामान्य जस्तै देखिए पनि आवश्यक मर्मत नगरी त्यहाँ प्रवेश गर्न कसैले आँट गर्दैनन् ।
आफ्ना घर र वासस्थान गुमाएकाहरू अझै सामूहिक त्रिपालमुनि आश्रित छन् । बेला–बेलामा गइरहेका भूकम्पका सानाठूला धक्काले जीवन सुरक्षाको चिन्ता र त्रास उनीहरुमा पाइन्छ ।
स्थानीयवासी देवकी तिमल्सिनाले भनिन्, ‘उक्त स्थानमा राम्रो कृषि उत्पादन हुने हुँदा आर्थिक रुपमा हरेक सम्भावना छ, गाउँलेले कसैसित दुई/चार किलो चामल माग्नुपर्ने ठाउँ होइन । अहिले परिस्थितिले भएको खाद्य सामग्री माटोमा पुरिएर समस्या आइलागेको हो ।’
भूकम्प पीडितलाई आएको राहत सामग्री वास्तविकले नभई अर्कैले लगेकोमा चिन्ता गर्दै उनले खानभन्दा पनि पालको आवश्यकता रहेकाले छिटोभन्दा छिटो यसको व्यवस्था गरिदिन माग गरे ।
विशेषगरी अधिकांश क्षेत्री, ब्राह्मण तथा तामाङका साथै दलित समुदायको मिश्रित् बसोवास रहेको यो गाविस नुवाकोट सदरमुकामबाट टाढा र पिछडिएको छ । पहाडी क्षेत्रको बीचमा यत्रतत्र छरिएको समथर बेसी र टारलगायतको भौगोलिक विशेषता पाइन्छ ।
कांग्रेसका नेता एवम् सभासद् अर्जुन नरसिंह केसीले पीडितका लागि आएको राहत अपर्याप्त भएको बताए । उनले राहत बाँडफाँड पद्धतिको पनि विकास नभएकाले समस्या आएको बताए ।
प्रहरीचौकी कुमरीका अनुसार सरकारले पठाएको राहतस्वरुप स्थानीय बासिन्दा ७९९ ले प्रतिपरिवार दुई हजार लगिसकेका छन् । तर पनि स्थानीय ठाकुर ढुङ्गानाले सो रकम तथा कुनै पनि संस्थाले पठाएको राहत प्राप्त गर्न नसकेको बताए ।
प्रतिक्रिया