काम टेन्टमा, सामान मनमोहन प्रतिष्ठानमा

UML Nepaliकाठमाडौं, २० वैशाख । दोस्रो ठूलो सत्तारुढ दल एमालेको बल्खुस्थित पार्टी मुख्यालय भत्किएपछि आफ्ना सामानहरू ललितपुमा रहेको मनमोहन प्रतिष्ठानमा सारेको छ ।

गतशनिबार गएको महाभूकम्पले पार्टी मुख्यालयको सबै भाग भत्किएर बस्ने अवस्था नभएपछि सामानहरू सुरक्षित रुपमा प्रतिष्ठानमा सारिएको हो । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भवन भत्किएकाले महत्वपूर्ण सामानहरू प्रतिष्ठानमा सारिएको जानकारी गराए ।

उनका अनुसार शनिबारदेखि भग्नावशेष पार्टी कार्यालयबाट सामान सुरक्षित रुपमा सार्ने काम भइरहेको छ । उनले अहिलेसम्म संगठन, लेखा, सम्पर्क, सचिवालय, आर्थिक विभागका सामान निकालिएको जानकारी गराए ।

‘अहिलेसम्म हामीले महत्वपूर्ण कागजातहरू निकाल्ने काम गरिरहेका छौं’, उनले भने, ‘अरू पनि निकाल्न थालेका छौं । भवन भत्किएकोले निकाल्ने नै गार्‍हो भएको छ ।’

भवन भत्किएपछि एमालेले पार्टी संचालन पार्टी कार्यालय अगाडि टेन्टमा गरिरहेको छ । प्रचार विभाग उपप्रमुख सूर्य थापाले केही महत्वपूर्ण सामान सारिए पनि पार्टी संचालन भने बल्खुबाट नै गरिने जानकारी गराए ।

‘केही महत्वपूर्ण सामान जोगाउनका लागि सारिएका हुन्’ उनले भने, ‘नयाँ कार्यालयका लागि विकल्प त खोज्नै पर्‍यो । तर अहिले प्रतिष्ठानमा सर्दैनौ ।’ उनले पार्टी कार्यालय अगाडि नै टेन्ट गाडेर नियमित कार्य गरिने बताए ।

प्रतिक्रिया