काठमाडौं, २० वैशाख । एक साताअघि आएको विनासकारी भूकम्पको कारण एक हजार बढी युरोपेली पर्यटक सम्पर्क बाहिर रहेका छन् । विनाशकारी भूकम्पमा परी १२ जना युरोपेली संघमा आवद्ध देशका नागरिकको मृत्यु भएको समाचार सार्वजनिक भइसकेका छन् ।
नेपालका लागि युरोपेली संघका राजदूत रेन्जी टिरिङकले अहिलेसम्म युरोपली संघका एक हजार नागरिकबारे कुनै जानकारी नरहेको बताएका छन् । अधिकारीका अनुसार सम्पर्कविहीन हुनेमा अधिकांंश सर्वोच्च शिखर सगरमाथासहितका हिमाली क्षेत्रको ट्रेकिङमा गएका थिए ।
भूकम्पपछि त्यहाँका कयौँ क्षेत्र सम्पर्कविहीन भएका र हराइरहेका आफ्ना नागरिक त्यहाँ फसेका हुन सक्ने संघले आशंका गरेको छ । युरोपेली संघका देशका नागरिकले नेपाल आएपछि आफ्नो दूतावासमा जानकारी गराउँदैनन् । यसले खोजीमा समस्या भइरहेको पनि संघको भनाइ छ ।
सूचना समन्वय केन्द्र स्थापना मुलुकभर रहेका विदेशी पर्यटकको अवस्थाका
बारेमा सूचना संकलन गर्न ‘पर्यटक सूचना समन्वय केन्द्र’ स्थापना गरिएको छ । विनासकारी महाभूकम्पका कारण मुलुकका विभिन्न स्थानमा पर्यटक अलपत्र परेको सूचना आइरहेको छ ।
पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको संयोजकत्वमा १२ सदस्यीय पर्यटक सूचना समन्वय केन्द्र स्थापना गरिएको हो । केन्द्रमा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थालाई सहभागी गराइएको छ ।
अध्यागमन विभाग, पर्यटन सम्बद्ध निकायहरू नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल, नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्स, नेपाल होटल संघ, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी इकाइलगायतका प्रतिनिधिको केन्द्रमा सहभागिता रहेका छन् ।
भूकम्पले पर्यटकीय क्षेत्रमा पुर्याएको प्रभावको बारेमा सूचना व्यवस्थित गरी सहयोग पु¥याउन केन्द्र स्थापना गरिएको हो । केन्द्रले मुलुकभरी रहेका विदेशी पर्यटकको सूचना संकलन गरी पर्यटकको अवस्थाको बारेमा सूचना प्रवाह गर्ने र आवश्यकता अनुसार सम्बन्धित निकायमा उद्धारका लागि अनुरोध गर्ने जनाएको छ ।
प्रतिक्रिया