काठमाडौं, ४ वैशाख । निजी विद्यालयले बढाएको शुल्क खारेज माग गर्दै आन्दोलित विद्यार्थी संगठन आन्दोलन सशक्त बनाउने तयारीमा पुगेका छन् ।
विभिन्न जिल्लामा विद्यार्थी संगठनका नेता कार्यकर्तामाथि प्रहरीले दमन गरेपछि आन्दोलन थप सशक्त बनाउने निर्णयमा उनीहरू पुगेका हुन् ।
बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनले शान्तिपूर्ण आन्दोलन गरिरहेका कार्यकर्तालाई प्रहरीले दमन गरेकाले सशक्त बनाउन लागिएको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताए ।
उनका अनुसार, शुल्क वृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका नवलपरासी, बाँकेलगायतका जिल्लामा सरकारले प्रहरी लगाएर दमन गरेको छ ।
मल्लले नवलपरासीमा शिक्षा अधिकारीसँग भेटेर फर्किन लागेका विद्यार्थीमाथि अन्धधुन्ध प्रहरी हस्तक्षेप गरी अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक हरि सिग्देल, जिल्ला सदस्य कमल भट्टराई र अनिल यादव, अनेरास्ववियु जिल्ला अध्यक्ष मदन गिरी, अखिल(क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष विनोद पौडेल र सचिव अमित खडका, नेपाल विद्यार्थी संघका जिल्ला सदस्य लेखनाथ दवाडी घाइते भएका बताए ।
संयुक्त विद्यार्थी संगठनको बैठकले आन्दोलनविरुद्ध सरकारी दमन र ज्यादतीको घोर निन्दा एवं भत्र्सना गरेको छ ।
यसैगरी, शुक्रबार सार्वजनिक बिदा परेकाले ६ वैशाखमा जिल्लास्थित शिक्षा कार्यालयमा धर्ना गरिने बाताए ।
प्रतिक्रिया