‘महामारी’ प्रधानमन्त्रीले बल्ल थाहा पाए

Jajarkot-Ka-Biramiकाठमाडौं, ३ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्रालयलाई जाजरकोटमा फैलिएको स्वाइन फ्लुको रोकथाम र उपचार युद्धस्तरमा गर्न निर्देशन दिएका छन् ।

कोइरालाले स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र उप्रेती र स्वास्थ्य मन्त्रालयको इमिमोडोलोजी महाशाखा प्रमुख डा.बाबुराम मरासिनीसहितको टोलीलाई बालुवाटार बोलाएर उपचारमा ध्यान दिन निर्देशन दिएका हुन् ।

‘महामारी रोक्न रोक्नका लागि राजधानीबाट पनि विशेषज्ञहरूको टीम पठाउनुस्’, प्रधानमन्त्री कोइरालाले भने, ‘थप क्षति हुन नपाओस ।’

प्रधानमन्त्री कोइरालाले स्वास्थ्यकर्मीहरू खटाइएको स्थानमा नजाने प्रबृत्तिले दुर्गम स्थानका नेपालीहरूले सामान्य उपचारयोग्य रोगबाटै असामयिक रुपमा जीवन गुमाउनु परेको उल्लेख गरेका छन् । उनले स्वास्थ्य मन्त्रीसहितको टोलीलाई स्वास्थ्य जनशक्तिलाई खटाएको स्थानमा कार्यरत राख्ने उपयुक्त प्रबन्ध गर्न पनि निर्देशन दिएका छन् ।

जाजरकोटको रोग फैलिएको क्षेत्रमा स्थलगत भ्रमण गरी बिरामीहरूको परीक्षण र खकार, रगत, दिशा, पिशावको नमूना लिइ फर्केको टोलीको समेत नेतृत्व गरेका स्वाथ्यमन्त्री अधिकारीले त्यस क्षेत्रमा फैलिएको रोग र नियन्त्रणका प्रयासहरूको बारेमा जानकारी दिएका थिए ।

विभागका महानिर्देशक डा. उप्रेतीले प्रभावित क्षेत्रमा फैलिएको रोग स्वाइन फ्लू भएको प्रमाणित भएपछि काठमाडौंबाट विशेषज्ञको दुई टोली पठाइसकिएको बताए । उनका अनुसार अहिले क्षेत्रीय जनस्वास्थ्य निर्देशकको नेतृत्वमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ ।

नेपाली सेना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक÷ एक स्वास्थ्य टोली खटिइसकेको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका ४ जना एमबीबीएस डाक्टरहरू पनि खटिएका छन् ।

आजै चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक टोली पनि जाजरकोट पुगेको छ ।

स्वाइन फ्लूको रोकथामको लागि विश्व स्वास्थ्य संगठनको एक टोली पनि जाजरकोटमा खटिएको छ ।

स्वाइन फ्लूको रोकथाम र नियन्त्रणको लागि उपयोग हुने १ लाख ट्वाबलेट आजै आइपुग्ने जानकारी पनि विभागले दिएको छ ।

जाजरकोटमा हालसम्म १७ जनाले ज्यान गुमाइ सकेका छन् । त्यसै गरी सयौं सर्वसाधारणहरू बिरामी परेका छन् ।

प्रतिक्रिया