काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लमाथि छानबिनका लागि समिति गठन भएको छ । यससँगै दुई चिरा परेको अखिलमा विवाद मत्थर भएजस्तो देखिएको छ ।
अनेरास्ववियुको स्थायी कमिटी बैठकले केही दिनअघि विदेश पठाउने बहानामा विभिन्न व्यक्तिबाट रकम लिएको आरोप लागेका मल्लमाथि छानबिन गर्न समिति बनाएको हो ।
नयाँ विद्यार्थी इन्चार्जको स्वागत गर्न बसेको बैठकले उनीमाथि छानबिन गर्ने निर्णय गरेको उपाध्यक्ष थोमस बाँस्तोलाले जानकारी गराए । बैठकमा निवर्तमान इन्चार्ज भानुभक्त ढकालले छानबिनको प्रस्ताव राखेका थिए ।
‘नयाँ इन्चार्जको स्वागत कार्यक्रममा अध्यक्षमाथि विदेश पठाउने भन्दै रकम असुलेको आरोपको कुरा उठ्यो,’ उनले भने, ‘अनि निवर्तमान इन्चार्जले छानबिनको प्रस्ताव राख्नुभयो । यसमा सबैले सहमति जनाउनुभयो ।’
एमालेको नयाँ विद्यार्थी इन्चार्ज रवीन्द्र अधिकारी संयोजक रहेको छानबिन समितिमा अखिलका उपाध्यक्ष बाँस्तोला, ऐन महर, दीपक गौतम र महासचिव नविना लामा सदस्य छन् ।
अखिलका पदाधिकारीले दुई महिनाअघि अध्यक्षले रकम असुलेको आरोपमा पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका थिए । मल्लले आफूले गल्ती नगरेको दाबी गर्दै छानबिनका लागि तयार रहेको बताएका थिए ।
छानबिन हुने भएपछि अब अखिलका पदाधिकारीले मल्ल सहभागी कार्यक्रम बहिष्कार नगर्ने भएका छन् । ‘उहाँमाथि त्यस्तो आरोप आएपछि कार्यक्रम हामीले बहिष्कार गर्दै आएका थियौँ,’ बाँस्तोलाले भने, ‘अब छानबिन हुने भएपछि हामीसँगै मिलेर काम गर्छौं ।’
इन्चार्ज अधिकारीले भने यस विषयमा बोल्न अस्वीकार गरे । उनले भने, ‘यस विषयमा अहिले म बोल्दिनँ ।’
प्रतिक्रिया