महेन्द्रनगर, १८ चैत । दार्चुलाको अति दुर्गम क्षेत्र लाली क्षेत्र महाकाली नदीमा ट्युब पल्टिँदा दुईजनाको मृत्यु भएको छ ।
भारतको पिथौरागढबाट महाकाली नदीमा ट्युवबाट दार्चुलाको लाली गाविसतर्फ आउँदै गरेका पाँचजनामध्ये दुई जनाको मृत्यु भएको हो ।
नदीमा एक महिला बेपत्ता भएकी छिन् भने दुई जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार मङ्गलबार दिउँसो ट्युब पल्टिएको हो । ट्युबमा सवारी बैतडी पाटनका कमला भट्टको मृत्यु भएको छ ।
त्यसैगरी बैतडीकै दशरथचन्द नगरपालिका–६ का पुनम जोशी महाकालीमा बेपत्ता छिन् । उनका तीन वर्षीय छोरा उमङ्ग जोशी महाकाली किनारमा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
त्यसैगरी उपचारका लागि पिथौरागड लैजाने क्रममा मृत्यु भएका कमलाका श्रीमान् हरिष भट्ट र देवर रवी भट्ट सकुशल रहेका छन् ।
पाँच यात्रु र चालकसहित ट्युबमा छजना सवार थिए । उनीहरू पिथौरागडको सुनखोलीबाट लालीतर्फ आउँदै थिए । सो क्षेत्रमा महाकाली नदीमा पुल नहुँदा सर्वसाधारणले यसरी अकालमै ज्यान गुमाउनुपरेको छ ।
प्रतिक्रिया