काठमाडौं ८ चैत । कांग्रेसका तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाले थालेको शान्ति र संविधानको अभियान साकार पार्न समयमै संविधान जारी हुनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
स्व कोइरालाको पाचौँ स्मृति दिवसको अवसरमा जिपी कोइराला अध्ययन केन्द्रले आज काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा नेताहरुले कोइरालाको नेतृत्वमा सफल भएको आन्दोलनका महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्न संविधान जारी हुनुपर्ने बताए ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिका नाममा विपक्षी मोर्चाले समय बिताएर दोस्रो संविधानसभालाई पनि असफल बनाउन लागेकाले सबै पक्षले होसियार हुनुपर्ने बताए ।
पहिलो संविधानसभामा आफूहरुले संविधानका विवादित चारै विषयमा एकीकृत माओवादीका एजेण्डालाई स्वीकार गरी संविधान बनाउन बाटो खुला गरेपनि एमाओवादीले संविधान नबनाएको आरोप लगाउँदै उपसभापति पौडेलले भने, ‘अहिले पनि विपक्षी मोर्चा सहमतिमा आउँछन् भनेर अनन्तकालसम्म संविधानसभालाई अनिर्णयको बन्दी बन्न दिनुहुँदैन ।’
उपसभापति पौडेलले शान्ति र क्रान्ति दुवैका नायक बन्नुभएका स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न कोइरालाले सुरु गरेको शान्ति र संविधानको अभियान पूरा गर्न समयमै संविधान जारी गर्नुपर्ने बताए ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले तत्कालीन अवस्थामा हत्या, हिंसा, अराजक र निरङ्कुशताबाट आक्रान्त मुलुकलाई डो-याएर गिरिजाबाबुले नै शान्तिको बाटोमा ल्याइपु-याएको स्मरण गर्दै त्यस अभिभारालाई साकार पार्ने जिम्मेवारी अहिले प्रमुख दलका प्रमुख नेताको काँधमा आएको बताए ।
लोकतन्त्रका सम्बन्धमा गिरिजाबाबुले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउँदै उनले कहिल्यै अनिर्णयको बन्दी नबनेका कोइरालाबाट प्रमुख नेताहरुले पाठ सिक्नुपर्नेमा बताए ।
एमालेका नेता तथा सभासद् राजेन्द्र पाण्डेले सहमति पनि गर्न नसक्ने र प्रक्रियामा पनि जान नसक्ने कांग्रेस र एमाले वर्तमान अवस्थाबाट लचकताका साथ अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस काठमाडांका सभापति तथा सभासद् भीमसेनदास प्रधान, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, नेपाल विद्यार्थी सङ्घका नेताहरु रामप्रसाद अधिकारी र कुन्दन काफ्लेले स्व कोइरालाको योगदानको चर्चा गर्दै समयमै संविधान जारी हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया