‘साल्टर’का कारण विद्यार्थीको भविष्य बिग्रदै

Khusbu_oli5काठमाडौं, २ चैत । विद्यालय शुल्क तिर्न नसकेका कारण दुई विद्यार्थी यही चैत ५ गतेदेखि हुने परीक्षा दिनबाट बञ्चित हुने भएका छन् ।

राजधानीस्थित अल्कापुरी बोर्डिङ स्कुल चन्डोल, विशालनगरमा कक्षा ९ मा अध्ययनरत सुवास पौडेल र कक्षा ६ मा अध्ययनरत सुवर्ण पौडेल विद्यालय शुल्क तिर्न नसकेपछि परीक्षा दिनबाट बञ्चित भएका हुन् ।

दुवै विद्यार्थी गरिब भए पनि पढाइमा जेहेन्दार भएकाले गैरसरकारी संस्थाको सहयोगमा पढदै आएका थिए । तर अहिले संस्थाले सहयोगको हाल झिकेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

शुक्रबारसम्म विद्यालय आएका दुई बालक आइतबारदेखि विद्यालयसमेत आएका छैनन् । विद्यालय शुल्क तिर्न नसकेपछि उनीहरुलाई विद्यालयले निःशुल्क पढाउन नसक्ने भएकाले उनीहरु विद्यालय जान नपाएका हुन् ।

यी बालक खुस्बु ओलीद्वारा सञ्चालित ‘साल्टर’ नामक संस्थामा बस्ने र अर्पणराज कोइराला अध्यक्ष रहेको ‘मानव कल्याण समूह’ नामक संस्थाको आर्थिक सहयोगमा पढाइ हुँदै आएको थियो ।

खुस्बु ओली र अर्पण कोइरालाको आपसमा मनमुटाव भएपछि ती बालबालिकाको पढाइमा हुँदै आएको सहयोग बन्द भएको विद्यालयको बुझाइ छ । साल्टर नामक संस्थामा खासगरी सडक बालबालिका राख्ने भए पनि आर्थिक अवस्था कमजोर हुँदा यी बालक त्यहीँ बस्न बाध्य छन् ।

विद्यालयका लेखापाल रिवाज सिंहका अनुसार डेढ वर्षदेखि दुवै विद्यार्थीको शुल्क बुझाउन कोही पनि नआएको र विद्यालयले आधाभन्दा बढी छुट दिएर पढाउँदा पनि अभिभावक र सरोकारवालापक्ष कोही नआएपछि विद्यालयले बिदा दिनुपरेको हो ।

‘दुवै विद्यार्थी पढाइमा राम्रा छन, दोस्रो, तेस्रो हुन्छन्, कोही सम्पर्कमा छैनन्, कपी किताब हुँदैन, कति पटक शिक्षकले नै कपी किनिदिएका छौँ’, उनले भने, ‘५०/६० हजार तिर्न बाँकी रहेको र विद्यालय पनि आर्थिक रूपमा कमजोर भएका कारण उनीहरुलाई थप पढाउन सकिएको छैन् ।’

संस्थाले ल्याएर राखेको हुनाले गरिब विद्यार्थीलाई छुट दिएर पढाएको र बाबु, आमाका बारेमा कुनै जानकारी नभएको स्कुलको भनाइ छ । सुवास र सुवर्णका काका राजन पौडेलको आग्रहमा विद्यालयले डेढ वर्षदेखि सहयोग आउने आशामा निःशुल्क पढाउँदै आएको थियो । त्यसअघि पनि विद्यालयले दुई हजार शुल्क लाग्ने ठाउँमा जम्मा ८०० मा पढाउँदै आएको थियो ।

साल्टरमा बस्दै मानव कल्याण समूहको सहयोगमा २०६७ सालदेखि उनीहरु अल्कापुरी स्कुलमा पढ्दै आएका थिए । त्यसअघि उनीहरु सीताराम उप्रेती अध्यक्ष रहेको ‘भीकी एजुकेशनल एण्ड डेभेलपमेन्ट फाउन्डेसन नेपाल’ को सहयोगमा पढ्दै आएका थिए ।

गोरखाको आँपपिपल–५ रातडाँडा कटहरे निवासी बाबु बाबुराम पौडेल र आमा सुशीला पौडेलका सन्तानका रूपमा रहेका १७ वर्षीय सुवास र ११ वर्षीय सुवर्ण जन्मिएका हुन् । सुवास र सुवर्णकी बहिनी १३ वर्षीया सुष्मा पौडेल चाँही खुस्बु ओलीकै घरमा बसेर अध्ययन गरिरहेकी छिन् । ‘सुष्मालाई पनि खुस्बुका बुबाले छोरी लैजानुस् भन्नुभएको छ, त्यो छोरीलाई पनि ल्याएर कसरी पढाउने ?’, प्रश्नको शैलीमा ती बालबालिकाका काकाले भने ।

यी तीन सन्तानका बाबुले २०५० सालदेखि मानसिक सन्तुलन गुमाइ श्रीमती, छोराछोरीलाई बारम्बार कुटपिट गर्ने भएकाले तीन सन्तानकी आमा माइत गएर बसिन् । लालनपालन र पढाउनका लागि पैसा नभएपछि उनले बच्चालाई पनि घरमै छोडेर गएपछि यी बालबालिका अभिभावकबिहीन भए । अभिभावकको सहयोग र माया नपाए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा अध्ययन गर्दै अगाडि बढ्दै थिए ।

उज्ज्वल भविष्य भएका यी बालबालिका गरिबीका कारण अध्ययनबाट बाहिरिनु पर्दा पीडामा परेका छन् । तैपनि उनीहरु कहीँबाट आर्थिक सहयोग पाएर पढ्न पाइन्छ कि भन्ने आशामा बसेका छन् ।

प्रतिक्रिया