एसएलसीमा अमर्यादित कार्य गरे जरिवाना

S.L.C-Todayभक्तपुर, २ चैत । परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको चैत्र ५ देखि सुरु हुने एसएलसी परीक्षामा दृष्टिविहीन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत व्यक्तिलाई सहयोगीका रूपमा राख्न पाउने व्यवस्था गरेको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले गतवर्षसम्म दृष्टिविहीन परीक्षार्थीले कक्षा ८ अध्ययनरत विद्यार्थीलाई सहयोगी राखेर परीक्षा दिने व्यवस्था गरेकोमा यसवर्ष त्यो व्यवस्थालाई परिमार्जन गरेको बताए ।

यसवर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीको विस्तृत विवरणसहितको कन्ट्रोल लिष्ट कार्यालयको वेभसाइट डब्लुडब्लुडब्लु डट एसओसिइ डट जिओभी डट एनपी (www.soce.gov.np) बाट सार्वजनिक गर्ने भएको छ ।

कुन विद्यालयबाट कसले कुन विषयमा परीक्षा दिएको भन्ने विवरणसहित विद्यालयको नाम, परीक्षार्थीको नाम, जन्ममिति, रजिस्ट्रेसनमा भरेको विषय, परीक्षा दिएको विषयसहितको सम्पूर्ण विवरण राख्ने जनाइएको छ ।

परीक्षा नियन्त्रक द्वारेले भने, ‘विगतका वर्षमा यस्तो व्यवस्था नहुँदा रजिस्ट्रेसन फाराम भर्दा र परीक्षा दिँदा फरक विषय भएमा अनुत्तीर्ण हुने, मिसिङ हुने समस्या आउने गरेकोमा यसवर्ष परीक्षार्थीको सबै विवरण वेभसाइटमा राखिदिएपछि परीक्षार्थीले कुनै पनि गल्ति भएमा तत्काल सच्याउनका लागि नतिजा सार्वजनिक गर्नु अघि नै कार्यालयलाई जानकारी गराउन सक्नेछन् ।’

यो व्यवस्थाले मिसिङ न्यूनीकरण हुने, परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने र विद्यार्थीले दुःख पाउनुनपर्ने उनको भनाइ छ । कार्यालयले परीक्षा सकिएको एक साताभित्र विद्यार्थीको विवरण वेभसाइटमा राख्ने भएको छ ।

त्यसैगरी एसिड छर्किएर घाइते भई अस्पतालमा उपचार भइरहेका दुई छात्रालाई नजिकको केन्द्रबाट प्रश्नपत्रसहितको टोली खटाइ अस्पतालबाटै परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले लेख्न नसक्नेका हकमा सहयोगी राख्न पाउने व्यवस्था गरिएको बताइएको छ ।

कार्यालयले परीक्षार्थीले प्रश्नपत्रमा उत्तर लेखेर प्रश्नपत्र साट्ने जस्ता गलत कार्य रोक्न प्रश्नपत्रको सिरानीमा सिम्बोल नम्बर लेख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी शिक्षा ऐन, २०२८ को दफा १७ बमोजिम परीक्षाको मर्यादाविपरीत अमर्यादित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए ।

होम सेन्टर भएका विद्यालयमा सोही विद्यालयमा कार्यरत व्यक्तिलाई परीक्षामा खटाउन नपाइने र परीक्षार्थीका हकमा परीक्षार्थीले कुनै पनि किसिमको अनियमित एवम् अनुशासनहीन काम गरेमा, अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गर्ने भएको छ ।

यस वर्षको परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी हुने, जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कुल चार लाख २६ हजार २१४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् । प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रा तर्फ एक हजार २५१ जना गरी कुल तीन हजार २८८ जना परीक्षामा सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना रहेका छन् भने यसवर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ ।

यसवर्षका परीक्षाका लागि देशभर कूल एक हजार ८६२ वटा परीक्षा केन्द्र कायम गरेको उनले जानकारी दिए । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक˗एक वटा केन्द्र कायम गरिएको छ ।

परीक्षाका लागि २७ हजार ९३० जना सुरक्षाकर्मी, एक हजार ८६२ जना केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षक र सात हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने भएको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए ।

कार्यालयले यसवर्ष परीक्षामा खटिने सबै व्यक्तिको दैनिक भत्तासमेत वृद्धि गरेको छ । जसअनुसार केन्द्राध्यक्षको दैनिक पाँच सयबाट आठ सय, सहायक केन्द्राध्यक्षको ३५० बाट पाँच सय, निरीक्षकको दुई सयबाट ३५०, सुरक्षाकर्मीको ५० बाट १५०, कार्यालय सहयोगीको १ सयबाट २०० पुराइएको परीक्षा नियन्त्रक द्वारेले बताए ।

त्यस्तै, परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकलाई एउटा उत्तरपुस्तिकाको १५ दिँदै आएकामा यसवर्षदेखि २० पुराइएको र सम्परीक्षण गर्नेलाई ४ बाट ५ दिनेगरी वृद्धि गरिएको छ ।

प्रतिक्रिया