काठमाडौं, १ चैत । एमाओवादी र नेकपा–माओवादीले पार्टी एकताका लागि उच्चस्तरीय वार्ता समिति गठन गरेका छन् ।
वार्ता समितिमा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीका साथै माओवादीबाट अध्यक्ष मोहन वैद्य, नेताहरू सीपी गजुरेल, रामबहादुर थापा र देव गुरुङ चयन छन् । लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष दाहालको निवासमा भएको भेटका क्रममा वार्ता समिति गठन गरिएको हो ।
केही वर्षअघि एमाओवादीबाट विभाजित भई वैद्यको नेतृत्वमा माओवादी पार्टी गठन भएको थियो । वैद्य माओवादीबाट नेत्रविक्रम चन्द पक्ष अलग भइसकेको छ । चन्द पक्षले नेकपा माओवादी पार्टी गठन गरेको छ ।
लाजिम्पाट बैठकले मुलुकमा प्रतिगमन बढ्दै गएको निष्कर्ष निकाल्दै यसविरुद्ध संयुक्त आन्दोलन उठाउन जोड दिने टुंगोसमेत लगाएको छ । ‘सत्यनिरुपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विषयलगायत शान्ति प्रक्रियासँग जोडिएका विषयहरूमा राज्यपक्षबाट भइरहेको प्रतिगमनकारी कदमहरूविरुद्ध संयुक्त आन्दोलनका कार्यक्रम दिने निश्चित गरिएको छ,’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया