निजगढ विमानस्थल र द्रुतमार्ग निर्माणमा चासो

काठमाडौं, १ चैत । व्यवस्थापिका–संसद्को विकास समितिले काठमाडौं तराई–मधेस (निजगढ) द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति बढाई समयमै आयोजना सम्पन्न गर्न चासो दिएको छ ।

समितिको आइतबारको बैठकमा ती आयोजनाका सम्बन्धमा सरोकारवाला निकायका पदाधिकारी र विज्ञसँगको छलफलपछि सभापति रवीन्द्र अधिकारीले योजना कार्यान्वयनका लागि राष्ट्रिय निर्णय र संकल्प गरेर जानुपर्ने उल्लेख गरे । अलमल गर्दा दसौँ वर्ष पनि आयोजना सञ्चालन हुन नसक्ने स्पष्ट पार्दै उनले यी दुई आयोजना समितिको पनि प्राथमिकतामा रहेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको सन्दर्भमा सो विमानस्थल निर्माण भए देशको पर्यटन र आर्थिक समृद्धिमा सघाउ पुग्ने धारणा राखे ।

सन् १९९७ मा प्रारम्भिक लागत अनुमान गरिएको सो विमानस्थल ८० वर्ग किलोमिटरमा फैलिनेछ भने यसमा पहिलो १० वर्षमा १ करोड यात्रुको ओहोरदोहोर हुने अनुमान गरिएको छ । विमानस्थल पूर्णरुपमा बन्न १ दशमलव २ बिलियन लागत लाग्ने अनुमान गरिएको छ ।

द्रुतमार्गका सम्बन्धमा एसियाली विकास बैंकले सन् २००८ मा गरेको सम्भाव्यता अध्ययन र सम्झौता मूल्यांंक समितिको गठन भए पनि विस्तृत परियोजना प्रतिवेदन तयार नभएकाले कामलाई गति दिन असहजता भएको पाइएको छ । यसमा ८ खर्ब ६८ अर्ब लागत अनुमान गरिएकामा सरकारको दायित्व कति भन्ने स्पष्ट हुन सकेको छैन । भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव रवीन्द्र श्रेष्ठले यसका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए । हाल नेपाली सेनाले यसका लागि ट्र्याक खोलिसकेको छ । काठमाडौँ निजगढका लागि करिब दुई घन्टा यातायात दूरी अर्थात् ७६ किलोमिटरको दूरीमा पर्दछ । यो निर्माण–सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बन्नेछ ।

लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले दुवै आयोजनामा सार्वजनिक निजी साझेदारीको अवधारणामा समान दायित्व लिनुपर्ने र द्रुत मार्गको निर्माणबाट मुलुकलाई हुन सक्ने आर्थिक सामाजिक सकारात्मक प्रभावलाई ध्यानमा राख्नुपर्ने बताए ।

विश्व बैंकका विज्ञ डा चन्द्रबहादुर श्रेष्ठले द्रुतमार्गका लागि एडिबीले गरेको अध्ययन र सेनाले खोलेको ट्र्यकका बीचमा समानता नभएको, पर्याप्त गृहकार्य नभएको भन्दै निजगढबाट एक घन्टामा काठमाडौँ यातायात दूरी हुने गरी मार्ग नबनाइए निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको औचित्यमा पनि प्रश्न उठ्ने बताए ।

प्रतिक्रिया