काठमाडौं, १ चैत । न्युजिल्यान्डको नापियरमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले यूएईलाई ६ विकेटले पराजित गर्दै क्वाटरफाइनल यात्रा लगभग निश्चित बनाएको छ । विश्वकप क्रिकेटअन्तर्गत ३ जित र ३ हार भोगेको वेस्ट इन्डिज यूएईविरुद्धको जितसँगै ६ अंकका साथ समूह ‘बी’को तेस्रो स्थानमा उक्लेको छ ।
अहिले जारी आयरल्यान्ड र पाकिस्तानबीचको बराबरीमा टुंगिए मात्र वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिनेछ । पाकिस्तान र आयरल्यान्डको पनि समान ६÷६ अंक छ । यी दुई टोलीबीच जित दर्ता गर्ने टिम सहजै क्वाटरफाइनल पुग्नेछ ।
आइतबारको खेलमा यूएईले खडा गरेको १७६ रनको लक्ष्य वेस्ट इन्डिजले ३०.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । वेस्ट इन्डिजले सुरुवाती २ विकेट सस्तैमा गुमाएको थियो । ५३ रन जोड्दा २ विकेट गुमाएको वेस्ट इन्डिजका जोनसन चाल्र्स र जोनथन कार्टरले ५६ रनको साझेदारी गरे । चाल्र्स ५५ र आन्द्रे रुसेल ७ रनमै आउट भए ।
वेस्ट इन्डिजका लागि कार्टरले दिनेश रामदिनसँग अविजित ५८ रनको साझेदारी गर्दै वेस्टइन्डिजको जित सुनिश्चत गरे । कार्टर ५० र रामदिन ३३ रनमा अविजित रहे । बलिङतर्फ यूएईका लागि अम्जाद जाबेद र मन्जुला गुरुगले समान २–२ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको यूएईले खराब सुरुवात गरेको थियो । यूएईले ४६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । यूएईलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले ४ विकेट लिए ।
यूएईका लागि सातौं विकेटमा अहमजाद जाभेद र नासिर अजिजले १०७ रनको साझेदारी गर्दै यूएईको स्कोर १५३ बनाएका थिए । जाभेद र अजिजको साझेदारी टुटेपछि यूएईको पारी धरमराएको थियो । २२ रन जोड्दा यूएई ४७.४ ओभरमा १७५ रन बनाएर अलआउट भए । अजिजले ६० र जाभेदले ५६ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले ४ र जेरोम टेलरले ३ विकेट लिएका थिए ।
प्रतिक्रिया