धनकुमारीलाई बच्चा दिएर वेदनाथ फरार

Mahila Babu Sangaकाँकडभिट्टा, ३० फागुन । एक हप्ताअघि बच्चा जन्माएर अलपत्र परेकी एक अविवाहित महिलालाई बच्चासहित भद्रपुरको ‘साना हातहरू’ नामक संस्थाले उद्धार गरेको छ ।

भद्रपुर–१२ नहरटोलकी ३१ वर्षीया अविवाहित धनकुमारी राईले फागुन २२ गते घरमै बच्चा जन्माएकी थिइन् । साल नझरेपछि धनकुमारीलाई भद्रपुरको ओमसाइँ पाथीभरा हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो ।

बहिनीको घरमा बस्दै आएकी धनकुमारी बच्चाको जन्मेपछि सहाराविहीन भएकी थिइन् । साना हात नेपालले प्रहरीको रोहवरमा हस्पिटलबाट उनलाई उद्धार गरी भद्रपुरस्थित संरक्षणगृहमा राखेको संस्थाका भद्रपुर शाखाप्रमुख जगत वाग्लेले जानकारी दिए ।

धनकुमारी र उनको नवजात छोरोको स्वास्थ्य अवस्था सामान्य छ । धनकुमारीलाई उनकै छिमेकी वेदनाथ अधिकारीले हस्पिटलमा पुर्‍याएका थिए ।

हस्पिटलमा भर्ना गर्दा ५१ वर्षीय वेदनाथले धनकुमारी आफ्नो पत्नी भएको नाता खुलाएका थिए ।

तर हस्पिटलमा धनकुमारी भर्ना भएको भोलिपल्टै वेदनाथ हस्पिटलबाट फरार भएको पीडित पक्षको भनाइ छ । धनकुमारीले वेदनाथ नवजात शिशुको बाबु भएको दाबी गरेकी छन् ।

खोटाङ घर भएकी धनकुमारी आफ्नी बहिनीको घरमा बस्दै आएकी थिइन् । बहिनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएपछि बहिनीकै नानीहरू स्याहारेर बस्दै आएको धनकुमारीले बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालयले पीडित पक्षबाट निवेदन आएको हुँदा घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया