सन्तानब्बे वर्ष पूरानो चिकित्सालय सङ्कटमा

aaurbedकाठमाडौं, २९ फागुन । आधुनिक चिकित्सा पद्धतिको विकाससँगै पूरानो चिकित्सा पद्धति ओझेलमा पर्न थालेको छ ।

सन्तानब्बे वर्ष पहिले विक्रम संवत १९७४ सालमा स्थापना भएको देशको पूरानो केन्द्रीय चिकित्सालयको रुपमा रहेको नरदेवी आयुर्वेद चिकित्सालय संकटमा पर्न थालेको हो ।

देशभरिबाट दैनिकजसो ५ सयको हाराहारीमा आउने बिरामी अहिले २ सयदेखि ३ सयको संख्यामा आउने गरेको निर्देशक डा रामदेव यादवले बताए ।

उनले भने, ‘यो चिकित्सालय काठमाडौंको भित्रि भागमा रहेकाले प्रचारप्रसार कम साथै आधुनिक अस्पताल धेरै खुलेका कारण बिरामी संख्या घटेको हो ।’

विश्वको सबैभन्दा पूरानो चिकित्सा पद्धति समय सापेक्ष अगाडि बढ्न नसक्नुमा राज्यको कमजोरी भएको कर्मचारी इश्वरी ढकालले बताए ।

नरदेवीमा ११८ शैयाको क्षमता भएको उक्त चिकित्सालयमा १५ जना आयुर्वेद डाक्टर र ९५ जना कर्मचारी छन् । दाङको विजोरीमा क्षेत्रीय चिकित्सालय रहेको छ । चिकित्सालय ३० शैया क्षमताको छ ।

देशका ७५ वटै जिल्ला र जिल्लाका मातहतमा गरी २ सय १४ वटा आयुर्वेद औषधालय रहेको ढकालले बताए ।

आयुर्वेद औषधालयमा ग्याष्ट्राइटिस, अल्सर, हेपटाइटिस, बाथ, पिनास, नसासम्बन्धी रोग, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटीको रोग, पाइल्स, फिस्टुला, मधुमेह, रक्तचाप पथ्थरी लगायत रोगहरूको उपचार हुँदै आएको चिकित्सालयले जनाएको छ ।

पछिल्लो समयमा पञ्चकर्म चिकित्सा विधिबाट उपचार गराउँदै आएको औषधालयले जनाएको छ ।

आयुर्वेद स्नाकोत्तर तहको अध्ययन पढ्नका लागि पहिले भारतका विभिन्न कलेजमा जानुपर्ने बाध्यता भएतापनि अहिले सरकारी क्षेत्रमा आयुर्वेद क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहलाई चार सिट र स्नातक तहलाई १५ सिट क्षमताको क्याम्पस खुलेको यादवले बताए ।

निजी क्षेत्रमा भने नेशनल आयुर्वेद कलेज वीरगंज र मिथिला आयुर्वेद कलेज जनकपुरले स्नातक तह आयुर्वेद पढाई सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया