भीमदत्तनगर, २७ फागुन । कांग्रेसका नेता शेरबहादुर देउवाले आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् ।
प्रेस युनियन कञ्चनपुरले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले दलहरुबीच जेठ १५ गते नयाँ संविधान जारी हुने सहमति बन्ने बताए ।
‘केही दिनयता राजनीतिक दलबीच सहमतिको वातावरण बनिरहेकाले जेठ १५ मै नयाँ संविधान जारी हुने सम्भावना छ’, नेता देउवाले भने, ‘सत्तापक्ष र विपक्ष दलबीच सकारात्मक छलफल हुँदै आएको छ ।’
उनले भने, ‘दलहरुबीच सहमति हुन सके गणतन्त्र दिवसको दिन संविधान जारी गर्न सकिन्छ ।’
उनले वार्ता र सहमतिका नाममा धेरै समय खेर फाल्न नहुने भन्दै सहमतिमा विपक्षीहरु नआए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्ने बताए ।
सङ्घीयताकै कारण संविधान निर्माण प्रक्रिया रोकिएको बताउँदै देउवाले दलहरु पिच्छेका धारणाले सङ्घीयतामा समस्या भइरहेको उल्लेख गरे । ‘केहीका धारणा पूरै तराईलाई मधेसमा गाभ्ने छ’, उनले भने, ‘उत्तर–दक्षिणको सीमाङ्कनमा हाम्रो जोड हो ।’
कैलाली, कञ्चनपुरलार्ई पनि केही पार्टीले टुक्राउन खोज्दा सुदूरपश्चिमका सवालमा पनि समस्या सिर्जना भएको उनको भनाइ थियो । सङ्घीयताका विषयमा सहमति भए संविधान जारी गर्न कुनै समय नलाग्ने नेता देउवाको भनाइ छ ।
प्रतिक्रिया