वर्षभरि दाङमा दुर्घटनामा परेर ३९ जनाको मृत्यु

Accidentदाङ, २७ फागुन । दाङमा यस आर्थिक वर्षको हालसम्ममा विभिन्न स्थानमा भएका ९१ वटा सवारी दुर्घटनामा परेर ३९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १ सय २७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सवारी दुर्घटनामा कमी आएको बताउनुहुन्छ ।

गत आवको हालसम्मको अवधिमा जिल्लामा १२१ दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको ट्राफिक कार्यालय दाङको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच जिल्लामा प्रहरीले मदिरा सेवन गरेर गाडी चलाउने चालक विरुद्ध सार्वजनिक मुद्दा चलाउन सुरु गरेको जनाएको छ ।

केही दिनदेखि सुरु गरेको सो अभियानमा हालसम्ममा १० जना मादकपदार्थ सेवन गरेर यात्रु बोकेर गाडी चलाउने चालक विरुद्ध मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख खिनुप्रसाद आचार्यले बताउनुभयो ।

मुद्दा चलाइएका चालकलाई जिल्ला प्रशासन कार्यालयले जनही १० हजार जरिवाना गरेको जनाएको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकको सङ्ख्या बढ्दै गएपछि चालक अनुमतिपत्रमा प्वाल पर्ने अभियानसमेत प्रहरीले सुरु गरेको छ ।

गत पुसदेखि सुरु गरिएको उक्त अभियानमा हालसम्म १०० जना चालकको लाइसेन्समा प्वाल पारिसकेको ट्राफिक प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया