बारा, ३१ बैशाख । प्रदुषण नियन्त्रण गर्ने प्रतिबद्धता गरेको जगदम्बा स्टील्स पुन: पुरानै शैलीमा उत्रिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । सिमरा गाविसमा रहेको जगदम्बा स्टिल्स उद्योगबाट नियमित हुने प्रदुषणले स्थानीय बासिन्दा हैरान भएका छन् । पटक–पटक भएको वार्तापछि पनि सो स्टील्स कम्पनीले प्रदुषण नियन्त्रणमा कुनै पनि भूमिका निर्वाह गरेन ।
सो कम्पनीले प्रदुषण नियन्त्रण गर्न कुनै पनि भूमिका नखेलेको भन्दै स्थानीय बासिन्दाले गत फागुनमा सो कम्पनी बन्द गराएका थिए । कम्पनी व्यवस्थापन र स्थानीय बासिन्दाबीच वार्ता भएपछि प्रदुषण नियन्त्रण गर्ने शर्तमा कम्पनी पुन: सञ्चालन भएको थियो । तर, सो प्रतिवद्धतालाई जगदम्बा स्टील्सले पूरा गर्न नसकेपछि अहिले सो क्षेत्रका बासिन्दा फेरि आक्रोशित बनेका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार केही महिनायता त सो कम्पनीले आफ्ना सबै भट्टि एकै पटक सञ्चालनमा ल्याएको छ । बढी उत्पादन गर्ने लोभमा कम्पनीले स्थानीय बासिन्दाको स्वास्थ्यमा खेलबाड गरेको उनीहरूको आरोप छ । दिनमा जनताले देख्ने र थाहा पाउने भएका कारण अहिले कम्पनीले रातभरि सबै भट्टि सञ्चालन गरेर उत्पादन गर्ने गरेको छ । जसको असर स्थानीय आकाशमा दिनमा र रातमा प्रष्ट देख्न सकिन्छ । दिनभरि र रातभरि नै सिमराको आकाशमा धुँवाको कालो मुस्लो भरिएको हुन्छ ।
गतमहिना पनि जगदम्बा स्टील्सको प्रदुषणविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका थिए । उनीहरूले गत २६ बैशाखमा प्रदुषण नियन्त्रण समिति पनि बनाएर कम्पनीमा अनुगमनसमेत गरेका थिए । कम्पनीले जनस्तरबाट ब्यापक विरोध आउन थालेपछि आफ्नो उत्पादन दिनमा नभई रातमा निकाल्न थालेको छ ।
यसअघि गत फागुनमा भएको सहमतिअनुसार सो कम्पनीका सबै भट्टि एकै पटक सञ्चालन नगर्ने सहमति भएको थियो । तर त्यो सहमतिलाई कम्पनीले अटेर गरेको स्थानीयको आरोप छ । सहमति भएको पहिलो हप्ता कम्पनी केही लचिलो देखिए पनि पछिल्ला दिनहरूमा कम्पनी थप अटेरी बन्दै गएको छ । स्थानीय बासिन्दाले कम्पनी अटेरी हुनुमा स्थानीय प्रशासन पनि जिम्मेवार भएको आरोप लगाएका छन् । स्थानीय प्रशासनले जनताको पक्षमा भूमिका नखेलेको आरोप उनीहरूको छ ।
प्रदुषण नियन्त्रण समितिका अध्यक्ष किशोर त्रिपाठीले पनि जगदम्बा स्टील्सको हेपाहा प्रवृत्ति जारी रहेको गुनासो गरे । उनले भने ‘राती जनता सुत्ने र अध्यारोमा कसैले धुँवाको मुस्लो नदेख्ने हुँदा कम्पनीले रातमा ठूला भट्टिमा कम गुणस्तरको कच्चा पदार्थ हालेर आफ्नो उत्पादन सुरु गरेको छ ।’
जगदम्बा स्टील्सको अटेरी पनले स्थानीय जनताको स्वास्थ्यमा गम्भीर समस्या देखिन सुरु गरेको छ । सो कम्पनीले कम गुणस्तरका कच्चा पदार्थ पनि प्रयोग गर्ने गरेको गुनासो त्यहाँ कार्यरत मजदुरहरूको छ । उनीहरूका अनुसार केही मजदुरको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । स्थानीय बासिन्दाहरूले जगदम्बाको हेपाहा प्रवृत्ति जारी रहे आफूहरू कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् । उनीहरूले कम्पनीले आफ्नो रवैया जारी राखे तालाबन्दी नै गराइदिने पनि बताएका छन् ।
प्रतिक्रिया