बैशाख ३१ काठमाडौं । विराटनगरमा सम्पन्न एमाओवादीको राष्ट्रिय सम्मेलनबाट टाढिन पुगेका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराईबीच बुधबार भेटवार्ता भएको छ ।
राष्ट्रिय सम्मेलनमा दाहालसँग असन्तुष्टि जनाउँदै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका भट्टराई पक्षधर नेताहरूलाई यस अघि अध्यक्ष दाहालले भेटघाट गरेका थिए ।
यसअघि नेता टोप बहादुर रायमाझी, देवेन्द्र पौडेलसँग भेट गरेका अध्यक्ष दाहालले बुधबार भट्टराईसँग वार्ता गरे । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको भेटमा दाहालले शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा आउन र केन्द्रीय समितिमा बस्न आग्रह गरेका थिए । जवाफमा भट्टराईले भने सांगठनिक रूपान्तरणको भरपर्दो आधार नभएसम्म केन्द्रीय समितिमा नफर्कने बताएको स्रोतले जनाएको छ ।
अध्यक्ष दाहाल ‘स्टालिन शैलीमा’ अघि बढेको भट्टराईको ठम्याई छ भने भट्टराईले भने पार्टी कब्जा गर्न खोजेको दाहाल पक्षधरको दाबी छ । मुख्यतया: एमाओवादीमा कार्यदिशाको लडाईभन्दा पनि नेतृत्वको विषयमा विवाद छ ।
विराटनगरमा सम्पन्न सम्मेलनमा भट्टराई पक्षीय झण्डै दुई दर्जन केन्द्रीय समितिले आफ्नो नाम फिर्ता लिए पनि दाहाल पक्षधरले भने उनीहरू बिना नै दाहाललाई नै पुन: अध्यक्ष बनाउँदै केन्द्रीय समिति घोषणा गरेका थिए ।
त्यसपछि दाहाल र भट्टराईबीच भएको यो पहिलो भेटवार्ता हो । बुधबारको भेटमा राजनीतिक र वैचारिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई नेताबीच सांगठनिक विषयमा पुन: बिहीबार छलफल हुने बताइएको छ ।
शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा भट्टराईलाई समेत कसरी समेटेर लैजाने भन्नेमा दाहाल लागेका छन् । यता आफू पक्षधर नेताहरू कसरी बढीभन्दा बढी केन्द्रीय समितिमा पार्न सकिन्छ भन्नेमा भट्टराईको ध्यान रहेको स्रोतको दाबी छ ।
प्रतिक्रिया