काठमाडौं, ३० बैशाख । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या भएको करिब १६ वर्षपछि हत्याका एक अभियुक्त पक्राउ परेका छन् । तत्तकालीन माओवादीका छापामार पुष्कर गौतमलाई करिब १६ वर्षपछि प्रहरीले राजधानीको बागवजारबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । ओखलढुंगा जिल्ला अदालतले उनीसँगै एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई दुईवर्ष अघि श्रेष्ठको हत्या आरोपमा जन्मकैद सजाय सुनाएको थियो ।
२०५५ असार १० गते ओखलढुंगामा श्रेष्ठको हत्या गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले २०६७ भदौ ३१ गते सर्वस्वसहित जन्मकैदको फैसला सदर गरेका ढुंगेल भने अहिले पनि खुलेआम हिडिरहेका छन् । स्रोतका अनुसार उनलाई पक्राउ गर्न अदालतले अहिलेसम्म पक्राउ आदेश जारी गरेको छैन । एमाओवादीकै तर्फबाट पहिलो संविधानसभा निर्वाचनमा ओखलढुंगा–२ बाट प्रत्यक्षतर्फबाट निर्वाचन जितेका ढुंगेललाई एमाओवादीले दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद्का लागि बन्दसूचीमा निर्वाचन आयोगमा नाम पठाएको थियो । उनका विरुद्धमा उजुरपरेपछि आयोगले सूचीबाट ढुंगेलको नाम हटाएको थियो ।
मुख्य अभियुक्त भनिएका ढुंगेललाई यसअघि नै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरिसकेको छ । तर, अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । २०५५ मा भएको उक्त हत्याकाण्डमा नौ जना मुछिएका थिए । तत्कालीन समयमा माओवादीका जिल्ला सदस्य भनिएका गौतमले टर्च देखाउने र ढुंगेलले गोली हानेको आरोप अदालतले लगाएको छ । श्रेष्ठल ाई ओखलढुंगासँगै सिमाना जोडिएको रामेछापको धोबीबजार जाने क्रममा विहान करिब ४ बजेको समयमा लिखु खोलाको नजिकै हत्या गरिएको आरोप लागेको छ । बागबजारबाट पक्राउ परेका गौतमलाई केन्द्रीय कारागार सुनधारा चलान गरिएको छ । पक्राउ परेलगत्तै उनलाई काठमाडौं जिल्ला अदालत लगिएको थियो । जिल्ला अदालतले गौतमलाई जन्मकैदको सजाय भोग्न पुर्जीसहित केन्द्रीय कारागार सुनधारा चलान गर्न आदेश दिएलगत्तै गौतमक कारागार लगिएको हो ।
२०५५ सालमा हत्या गरिएका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दिएको आदेश हालसम्म लागू भएको थिएन । हत्यामा संलग्न भएको भन्दै अदालतले नौ जनामाथि सजाय सुनाएको थियो । श्रेष्ठको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै उनीकी दिदी सावित्री श्रेष्ठले पटक–पटक आन्दोलन गर्दै आएकी थिइन् ।
वामवुद्धिजीवी श्याम श्रेष्ठको नेतृत्वमा रहेको प्रगतिशील रूपान्तरण आन्दोलनमा आवद्ध रहेका गौतम ०५५ सालतिरै माओवादी छाडिसकेका व्यक्ति हुन् । बागबजारस्थित पद्मकन्या क्याम्पस छेउमा रहेको पुस्तकालयमा एक अन्तरक्रियामा सहभागी भइरहेका बेला उनलाई सादा पोशाकमा आएका प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को परिचयपत्र देखाउँदै पक्राउ गरेको थियो । गौतमलाई पक्राउ पुर्जीबिना नै पक्रेर लगेको भन्दै उनको परिवारले विरोध गरेको छ । उनका दाजु नारायण गौतमले पुष्करलाई जुत्ताससमेत राम्रोसँग लगाउन नदिई पक्राउ गरेको आरोप लगाए ।
को हुन पुष्कर ?
पुष्कर गौतम ०२९ सालमा ओखलढुंगाको पोकली २, लेतीमा जन्मिएका हुन् । उनी कुनै समय एमाओवादीमा भूमिगत कार्यकर्ता थिए । पुष्कर सुरुमा जनमोर्चा नेपालमा आवद्ध थिए । उनले ०५५ सालतिरै माओवादी छाडेका थिए । अहिले उनी द्वन्द्व विज्ञानमा विद्यावारिधी गर्ने तयारीमा थिए ।
प्रतिक्रिया