काठमाडौं, ३० बैशाख । न्यायाधीश सिफारिसको सम्बन्धमा देखिएको विवाद समाधान गर्न संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषद्सँगै छलफल गर्ने भएको छ । विवादास्पद छविका ब्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि परिषद्ले सिफारिस गरेको भन्दै विरोध भएपछि समितिले परिषदसँग छलफल गर्ने तयारी गरेको हो ।
समितिको कार्यालय सिंहदरबारमा मंगलबार भएको न्यायाधीशहरूको संसदीय सुनुवाईको क्रममा अधिकांश सदस्यले छलफलको लागि न्यायपरिषद्का सदस्यहरूलाई झिकाउन आग्रह गरेका थिए । समितिका सदस्य एवं एमाओवादीका नेता अग्नी सापकोटा, टोपबहादुर रायमाझी र प्रभु शाहले कुनै हालतमा विवादास्पद छविका न्यायाधीशहरूलाई सर्वोच्चमा पुर्याउन नहुने तर्क गरे ।
‘कुनै हालतमा यस्ता न्यायाधीशहरू स्वीकार्न सकिँदैन,’ सापकोटाले भने, ‘परिषद्ले नै किन सिफारिस गर्यो, छलफल गरौं उसैसँग ।’ यस्तै एमाले नेता रविन्द्र अधिकारीले पनि न्याय परिषद्का सदस्यसँग छलफल गर्नुपर्ने बताए । ‘परिषदसँगै छलफल गरौँ,’ अधिकारीले भने, ‘बाहिर भनेअनुसार गलत काम गरेका रहेछन् भने अस्वीकार गर्नुपर्यो, रहेनछन् भने ठीकै छ ।’
परिषद्ले गत ९ बैशाखमा सर्वोच्चका लागि न्यायाधीशहरू वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेललाई सिफारिस गरेको थियो । न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र ओमप्रकास मिश्रबाहेक अन्य सबै न्यायाधीशबारे विवाद देखिएको छ । संसदीय सुनुवाई समितिमा पनि उनीबारे नेताहरूको फरक मत छ ।
संसदीय सुनुवाई समितिले न्यायपरिषद्का सदस्यहरूलाई आगामी ४ जेठमा विहान ८ बजे छलफलका लागि बोलाउने निर्णय गरेको छ । त्यसपछि तालिका बनाएर प्रस्तावित न्यायाधीशहरूलाई समेत बोलाउने निर्णय सो समितिले गरेको छ ।
प्रतिक्रिया