जन्डिसले विराटनगरका सबै स्कुल बन्द

बिराटनगर, २९ बैशाख । पहेंले रोग अर्थात् जन्डिस नियन्त्रणबाहिर गएपछि बिराटनगरका सबै विद्यालय बन्द गरिएका छन् । सो रोग ब्यापक रुपमा फैलिदै गएपछि विराटनगरका विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएका हुन् ।
मंगलबारबाट विद्यालय बन्द हुने बताइएको छ । अभिभावकको आग्रहमा निजी विद्यालय सञ्चालकहरुले बैठक गरेर विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । हेपटाइटिसको प्रकोपले अध्ययनरत विद्यार्थी पनि प्रभावित हुने खतरा देखिएपछि मोरङ प्याब्सनले सूचना निकालेर विद्यालय बन्दको निर्णय सार्वजनिक गरेको हो । सूचनामा तत्काललाई पाँच दिनका लागि विद्यालय बन्द गरिएको उल्लेख छ ।
जन्डिसका कारण विराटनगरमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । सोमबार स्वास्थ्यमन्त्री खगराज अधिकारीसहितको टोली निरीक्षणका लागि बिराटनगर पुगेको छ । अस्पतालको निरीक्षणका क्रममा स्वास्थ्यमन्त्री अधिकारीले जन्डिसको प्रकोप नियन्त्रणका लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सहरुलाई विदा नबस्न निर्देशन दिएका छन् ।
जन्डिस रोगको लक्षण राजधानी काठमाडौं र आसपासका क्षेत्रमा पनि देखिएको बताइएको छ । त्यसैले खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया