काठमाडौ, २८ बैशाख । संविधान निर्माणको काम छोडेर संविधानसभाका सदस्यहरू र शीर्ष नेता विदेश भ्रमणमा जान थालेपछि सभामुख सुवासचन्द्र नेम्वाङले नेपालस्थित विभिन्न देशका राजदुतहरूसँग छलफल गर्ने भएका छन् । संविधानसभा सचिवालय स्रोतका अनुसार सभामुख नेम्वाङले बुधबार संविधानसभा भवनमा विभिन्न देशका कुटनितिज्ञहरूसँग छलफल गर्ने तयारी गरेका छन् । संविधानसभा सचिवालयका महासचिव मनहोरप्रसाद भट्टराईले संवधानसभा भवन नयाँ बानेश्वरमा बुधबार अपरान्ह ४ बजे उपस्थित हुन् नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूलाई पत्रचार गरिसकेका छन् ।
संविधानसभामा रहेका विभिन्न दलका शीर्ष नेतादेखि सभासद्हरूलेसम्म संविधान निर्माणको कामलाई भन्दा विदेश भ्रमणलाई प्राथमिकता राखेपछि सभामुख नेम्वाङ असन्तुष्ट रहँदै आएका छन् । सभामुख नेम्वाङले शीर्ष नेता र सभासदहरूलाई संविधान निर्माणको काम छोडेर विदेश भ्रमणमा नजान पटक पटक आग्रह गरेका थिए ।
सभामुखले संविधान निर्माणमा केन्द्रित रहन भन्दै आगामी ८ माघसम्म विदेश भ्रमण नगर्ने घोषणा गरेका थिए । उनले आफू पनि विदेश भ्रमण नगर्ने भन्दै सभासद्हरूलाई पनि विदेश भ्रमण नगर्न आग्रह गरेका थिए ।
सभामुखको आग्रहलाई लत्याएर सभासद् र शीर्ष नेताहरू एकपछि अर्को गर्दै विदेश भ्रमणमा जान थालेपछि सभामुखले राजदूतहरूलाई भेटेर नै विदेश भ्रमणको निम्तो नदिन आग्रह गर्न लागेका हुन् ।
संविधानसभा अध्यक्ष नेम्वाङले नेपालस्थित विदेशी मुलकका राजदूतहरूलाई संविधान निर्माण र यसको कार्यतालिकाबारे जानकारी दिन छलफलको आयोजना गरिएको बताए । राजदूतहरूसँग भेटमा नेम्वाङले संविधानसभाको गतिविधि र कार्यतालिकाबारे समेत जानकारी गराउने कार्यक्रम रहेको छ ।
आयोग गठनको विधेयक अनुमोदन
यसैबीच, वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक अनुमोदन भएको छ । राष्ट्रपति डाक्टर रामवरण यादवले सो विधेयक आइतबार अनुमोदन गरी संसद सचिवालय पठाएका छन् ।
राष्ट्रपतिले विधेयकमा आफ्नो चासोबारे कानुनमन्त्री नरहरि आचार्य र कानुन सचिवसँग छलफल गरेर प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयले उक्त विधेयक आइतबारै संसद् सचिवालयमा पठाएको छ । सचिवालयले विधेयकलाई कानुन मन्त्रालयमा पठाउँछ । मन्त्रालयले उक्त विधेयक राजपत्रमा प्रकाशित गरेपछि दुवै आयोग गठनको बाटो खुल्नेछ ।
प्रतिक्रिया