आफन्त गुमाएकालाई सहयोग

काठमाडौ, २२ बैशाख । गत ५ वैशाखमा हिमपहिरोमा परी मृत्यु भएका आरोहीका परिवारको सहयोग र बालबालिकाको शिक्षाका लागि दिगो समाजका लागि सातौं आरोहण कार्यक्रम (सेभेन समिट एक्सन फर सस्टेनेबल सोसाइटी)ले सोमबार एक लाख डलर सहयोग गरेको छ ।
सहयोग पत्रमा हस्ताक्षर गर्दै आरोहण कार्यक्रमका अध्यक्ष केन नोगुचीले शेर्पाको सहयोगबिना कुनै पनि विदेशी आरोहीले हिमाल आरोहण गर्न नसक्ने भएकाले तिनको सम्मान गर्नुपर्ने र उनीहरूलाई परेको अप्ठयारोमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे । अध्यक्ष नोगुचीले हिमाल आरोहणका क्रममा मृत्यु भएका परिवारको सहयोग र बालबालिकाको शिक्षाका लागि संस्थाले सन् २००२ देखि विभिन्न सहयोग गर्दै आएको जानकारी गराउँदै दुर्घटनाको खबर सुनेर हिमाल आरोही शेर्पालाई माया गर्ने जापानीले आरोही शेर्पा परिवारको लालनपालन र शिक्षाका लागि उक्त सहयोग गरेको जानकारी दिए ।
नेपाल पर्वतारोहण संघद्वारा आयोजित कार्यक्रममा अध्यक्ष आङछिरिङ शेर्पाले पीडितको परिवारको सहयोगका लागि सरकारसँगको सहकार्यमा संघले ‘बास्केट फन्ड’को निर्माण गर्न लागेकाले पीडितलाई केही राहत हुने बताए । उनले सहयोग रकम कोषमा जम्मा हुने र पीडित परिवारलाई आवश्यकताअनुसार सहयोग गरिने पनि जानकारी दिए ।
मृत्यु भएका आरोहीका परिवारको सहयोगका लागि कोष स्थापना कार्यक्रममा पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले नेपाली पर्यटनको प्रमुख आधार हिमाल अरोहण भएकाले राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् । उनले नेपालको हिमाल आरोहण विश्वमै सुरक्षित छ भन्ने अभियानलाई अगाडि बढाउन सबैले भूमिका खेल्नु पर्ने तर्क गरिन् ।
हालैको हिमपहिरोमा परी यस वर्षको वसन्त ऋतुको आरोहणका लागि तयारी गर्न गएका शेर्पा पथ प्रदर्शक, उच्च हिमाली कामदार र सहयोगी व्यक्तिमध्ये १३ को निधन भएको थियो । अन्य तीन बेपत्ता भएका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीले सरकारले सगरमाथा आरोहण कार्यमा खटिने कामदारको बिमालगायत सुविधा रकममा वृद्धि गरेको जानकारी गराउँदै सगरमाथा आरोहण सुरक्षित रहेको तर्क गरे ।

प्रतिक्रिया