काठमाडौं, १५ बैशाख । एकीकृत नेकपा माओवादीका केन्द्रीय नेताहरुसमेत महाधिवेशन प्रतिनिधि बन्नबाट चुकेका छन् । एमाओवादीको दोस्रो काठमाडौं जिल्ला सम्मेलनमा अधिकांश चर्चित नेताहरु नै प्रतिनिधि बन्ने अवसरबाट बन्चित भए ।
काठमाडौंमा आइतबार भएको सम्मेलनमा एमाओवादी पोलिटब्युरो सदस्य स्वनाम साथी, केन्द्रीय नेताहरु खिमलाल देवकोटा, सविना अर्याल, गंगा बेल्वासे र सरीता महर्जन महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । त्यस्तै विद्यार्थी नेताहरु जागृत रायमाझी र अनिल शर्मा पनि प्रतिनिधी हुनबाट वञ्चित भए । रायमाझि अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष हुन् । शर्मा माओवादी नेता जनार्दन शर्माका भाइ तथा अखिल क्रान्तिकारी सचिव हुन् ।
सबैभन्दा बढी कार्यकर्ता भएको काठमाडौंमा ११ वटा क्षेत्र तोकिएको थियो । प्रत्येक निर्वाचन क्षेत्रलाई राष्ट्रिय सम्मेलनमा जाने प्रतिनिधिको कोटा बाँडिएको थियो । निर्वाचन क्षेत्रबाट प्रतिनिधि चुनिएर आउने कार्यविधी भए पनि केन्द्रीय नेताहरुको नाममा कार्यकर्ताले असहमति जनाएपछि प्रतिनिधि हुनबाट उनीहरु वञ्चित भएका हुन् ।
प्रतिनिधि हुनबाट वञ्चित हुने अधिकांश नेताहरु उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर र नारायणकाजी श्रेष्ठ पक्षधर छन् । प्रतिनिधि बन्न नपाउनेमा करिब दर्जनभन्दा बढी केन्द्रीय सल्लाहकारसमेत छन् ।
सल्लाहकार परिषद्का अध्यक्ष एनके प्रसाईं, सभासद जेबी टुहुरे, खेमराज भट्ट मायालु, डा. चन्द्रकान्त पौडेल, कलाधर देवकोटा, सुनिलकुमार पौडेल, राजभाइ जकमी, पदम खड्का, जयवहादुर कार्की, गोपाल शिवाकोटी, हरिगोविन्द लुइटेल, दिपेन्द्रबहादुर क्षेत्री, रामथान मैनाली, कृष्ण आचार्य, माधव मरहट्ठालगायत पनि प्रतिनिधि बन्न असफल रहे । यसैगरी प्रतिनिधि हुनबाट वञ्चित हुनेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पूर्वस्वकीय सचिव समिर दाहालसमेत छन् । सभासद रुपा महर्जन पनि प्रतिनिधि हुनबाट वञ्चित भइन् । जिल्ला सदस्यमा भने मर्हजन निर्वाचित भएकी छन् ।
एमाओवादीको काठमाडौं जिल्लामा २१ पूर्वकेन्द्रीय सदस्य र १९ केन्द्रीय सल्लाहकार थिए । काठमाडौंको कपनमा भएको सम्मेलनले जिल्ला कमिटी सदस्य र केन्द्रीय प्रतिनिधि दुवै निर्वाचित गरेको हो । काठमाडौंबाट ५६ केन्द्रीय प्रतिनिधि र ५७ जिल्ला कमिटीका सदस्य चयन गरेको छ ।
केन्द्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनेहरुमा पोलिटब्युरो सदस्य लिलामणी पौडेल, देवेन्द्र पौडेल, हिसिला यमी, शशी श्रेष्ठ, प्रचण्ड पुत्री रेणु दाहाल, मजदुर नेता शालिकराम जमरकट्टेल, अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, पूर्वपर्यटन राज्यमन्त्री दिलिप महर्जन रहेका छन् । प्रतिनिधी चयन हुनेहरुमा केन्द्रीय सदस्य अञ्जना विशंखे, लक्की शेर्पा, बलावती शर्मा, विद्यार्थी नेता रमेश मल्ल, सर्वोत्तम डंगोल, वाइसियलका पूर्वउपत्यका संयोजक चन्द्रबहादुर थापा, शिव कोइराला, डिबी तामाङ, जगत सिंखडा, गणेश रेग्मी, मुक्ति प्रधान, रमण श्रेष्ठ, प्रकाश जिएम, गोविन्द बटाला, महेन्द्र श्रेष्ठलगायत छन् ।
यसैगरी ईश्वर रिजाल, सविता भण्डारी, धर्मदत्त देवकोटा, हरिशरण आचार्य, सीता दाहाल, रवि गौतम, मनु हुमागाई, विष्ण्ुा माझी, चारु गजुरेल, कृष्ण शर्मा, कृष्ण केसी, घनश्याम ठकुरी, हरिमाया अधिकारी, कुलबहादुर तामाङ, उषा देवकोटा, धनवहादुर विक, टेकम बाठा मगर, कुलानन्द गिरी र सुनिता रोकाया पनि राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
एमाओवादीको केन्द्रीय सम्मेलन मे दिवसको अवसर पारेर आगामी १८ बैशाखमा विराटनगरमा हँुदैछ ।
दिपशिखाले बहिस्कार गरे
वाईसिएल नेवा राज्य समिति संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) ले पार्टीको जिल्ला सम्मेलन नै बहिस्कार गरेका छन् । दुई दिनसम्म चलेको काठमाडौं जिल्लाको सम्मेलनको संयोजकसमेत रहेका सापकोटाल कार्यक्रम बहिष्कार गरी काठमाडौं बाहिर गएका थिए ।
सम्मेलनमा उनको नाम राखिए पनि उक्त समयमा उनी राजधानी बाहिर गएका थिए । अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने सापकोटा पछिल्लो समय पार्टीका गतिविधिप्रति असन्तुष्ट रहँदै आएका छन् । काठमाडौंको सम्मेलन सकिएलगत्तै पनि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । यसरी बन्दैन हो कमरेड भन्दै सापकोटाले लेखेका छन्, ‘तिम्रो बुद्धिको बिर्को खुलोस् ।’ संयोजक सापकोटा पछिल्ला दिनहरुमा पार्टीका गतिविधिप्रति असन्तुष्टी जनाउँदै कृषि तथा पशुपालन गरेर बसेका छन् ।
प्रतिक्रिया